चैत २०, वीरगञ्ज । वीरगञ्ज - पथलैया व्यापारिक मार्ग आयोजना सो मार्गको निर्माणस्थलमा भएको अतिक्रमण हटाउने कार्यलाई तीव्र पारेको छ ।
यसैअन्तर्गत परवानीपुर र जीतपुरमा भएका घर र संरचनाहरु हटाइएको आयोजना प्रमुख मनीषकुमार साहले बताए । परवानीपुरका १९ ओटा घर भत्काइएको छ । सडकको क्षेत्रमा पर्ने जीतपुर बजार क्षेत्रका १७ ओटा घर संरचना भत्काइएको पनि साहले जानकारी दिए ।
आयोजनाले यही चैत १६ गतेदेखि सडक अतिक्रमण हटाउन थालेको हो । सडकमा अतिक्रमण हुँदा व्यापारिक मार्ग विस्तारमा ढिलाई भइरहेको थियो । आयोजनाले सूचना निकालेर संरचना हटाउने भने पनि स्थानीयले अटेर गरेपछि प्रहरी प्रशासनको सहयोग लिएर डोजर लगाएर हटाइएको हो ।
अब वीरगञ्ज सुक्खा बन्दरगाह क्षेत्रका संरचना हटाउन बाँकी रहेको र आइतवारदेखि ती संरचना पनि भत्काइने साहले जानकारी दिए ।