ट्रेड एक्स्पो २०२२ आयोजक समितिका संयोजक विकास वेगवानी विशाल मैदा मिल्स प्रालिका सञ्चालक पनि हुन् । नेपालकै जेठो व्यावसायिक संगठन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा उद्यमी वेगवानीसँग एक्स्पोको सेरोफेरोमा रहेर आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश :
ट्रेड एक्स्पो किन र केका लागि आयोजना गरिएको हो ?
एक्स्पोले उपभोक्ता र उत्पादकबीच सिधा संवादको वातावरण बनाउँछ । सबै किसिमको उत्पादन एकै थलोमा पाउने, उत्पादकले आफ्नो उत्पादनका विषयमा उपभोक्तासमक्ष कुरा राख्न पाउने र उपभोक्ताले पनि उत्पादनको गुणस्तरबारे अथवा थप सुझाव सोझै दिन पाउने भएकाले एक्स्पो आयोजना गरिएको हो ।
संघले लामो अन्तरालमा एक्स्पो गर्यो । के कारण थियो ?
सन् २०१८ मा ट्रेड एक्स्पो गरिएको थियो । सन् २०१९ मा तयारी गर्दागर्दै कोरोना महामारी शुरू भएर रोक्नुपर्यो । त्यसैले ३ वर्षपछि आयोजना गरेका हौं । संघले लामो समयदेखि प्रत्येक वर्ष ट्रेड एक्स्पो गर्दै आएको थियो । यसपटक नवीन रिजालको नेतृत्वमा संघमा नयाँ कार्यसमिति आयो, कोरोना संक्रमण दर पनि कम भएर सर्वसाधारण हिँडडुल गर्न सक्ने स्थिति बनेपछि एक्स्पो आयोजना गर्न सकियो ।
यो एक्स्पोमा विगतको भन्दा केही छ कि ?
सबैभन्दा पहिलो, नेपालमा अस्थायी डोमभित्र एसी जडान गरेर एक्स्पो सञ्चालन गरेका छौं । एसी डोमभित्र ८० ओटा स्टल छन् । विराटनगरमा गर्मी शुरू भइसकेकाले अवलोकनकर्तालाई सहज होस् भनेर एउटा डोमभित्र एसी राखेका छौं । अर्को डोममा कुलर छ र अन्य स्टल सामान्य छन् । मूलद्वारमा ‘लन्डन ब्रिज’ राखेका छौं । सेल्फी जोनमा बुर्ज खलिफा, ‘बुर्ज अल अरब’ र रसियाको ‘सेन्ट बेसिल’ राखेका छौं । ता कि सर्वसाधारणले विदेश नभए पनि ती स्थानमा पुगेर फोटो खिचेको अनुभव गर्न सकून् । त्यस्तै, पहिलोपटक एक्स्पोमा बन्जी, स्काई साइकल र जिपलाइन राखेका छौं । त्यसका अलावा घरेलुदेखि ठूला उद्योगसम्मको स्टल छन् ।
यो एक्स्पोले स्थिर रहेको बजारलाई चलायमान बनाउला ?
बजारमा नगद प्रवाह कम भएको बेला उपभोक्ताले यहाँ आएर किनमेल गर्दा हुने रोटेसनले स्थिर बजारलाई पक्कै चलायमान बनाउँछ । एक्स्पोमा ४० करोडको कारोबार हुने अनुमान छ । एक्स्पोबाहिर पनि स–साना व्यापारीले कारोबार गरिरहेका छन् । यातायात, होटल र विराटनगर बजारमा पनि यसले चहलपहल बढाउँछ । एउटा धनकुटाबाट आउने उपभोक्ताको ध्येय मेला पनि अवलोकन गर्ने र बजारमा अरू सामान पनि किन्ने हुन्छ । ऊ आएर बस्ने होटल, चढ्ने सिटी रिक्साले पनि आम्दानी गर्छन् । धनकुटाकै पनि स्टलहरू छन् । उनीहरूले पनि आम्दानी गरेर जिल्ला लैजान्छन् । विराटनगरमा एक्स्पो आयोजना भए पनि यसले समग्र प्रदेश १ कै बजारलाई चलायमान बनाउँछ ।
एक्स्पोले प्रदेश १ लाई के फाइदा हुन्छ ?
प्रदेश १ लाई समग्रमा एक्स्पोले समेटेको छ । दुर्गमदेखि सुगमसम्मका उत्पादनलाई एक्स्पोले समान अवसर दिएको छ । जिल्लाबाट मेला घुम्न र स्टलमा व्यापार गर्न आउने दुवैले लाभ लिन्छन् । खरीदविक्रीसँगै मनोरञ्जन पनि मेलामा छ । सांस्कृतिक कार्यक्रम र प्रत्येक साँझ नेपालका चर्चित कलाकारको प्रस्तुति छ ।
एक्स्पोमा छूट पनि पाइन्छ ?
एक्स्पोमा १० देखि ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ । एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको ३ लाखले उक्त छूटबाट लाभ लिन सक्छन् ।