रौतहट (अस) । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा लिफ्ट सिँचाइ आयोजना बन्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३८ लाख रुपैयाँ लगानीमा गाउँमा लिफ्ट सिँचाइ योजना बन्ने भए पनि स्थानीयमा खुशी छाएको हो । सरकारले कृषि उत्पादनमा बढाउने उद्देश्यले लिफ्ट सिँचाइ योजना बनाउन शुरू गरेसँगै वडा नं १ डाँडाटोलका बासिन्दा उत्साहित भएको स्थानीय गौतम खड्काले बताए । उनका अनुसार डाँडाटोलका ७० भन्दा बढी परिवार उक्त सिँचाइ योजनाबाट लाभान्वित हुनेछन् ।
यसअघि हिउँदमा सिँचाइको सुविधा नहुँदा स्थानीयलाई खेती गर्न असहज भइरहेको छ । सिँचाइ अभावले हिउँदमा करीब ४० बिघा जमीन बाँझै रहने गरेको स्थानीय खड्काको भनाइ छ ।
डाँडाटोल कृषि उत्पादनका लागि उर्वर भए पनि हिउँदमा सिँचाइ सुविधा नहुँदा उत्पादनमा असर पर्न थालेको छ । आयोजना निर्माणका लागि शिलान्यास भइसकेकाले छिट्टै बन्ने आशा अर्का स्थानीय लक्ष्मण न्यौपानेले राखेका छन् । ‘आयोजना बन्नेपछि यहाँ कृषि उत्पादनमा बढेर आयस्रोत उकासिने आशा छ,’ न्यौपानेले भने, ‘आयोजनाको शिलान्यास भइसकेकाले छिट्टै बन्ने आशा छ ।’
सो क्षेत्रमा उत्पादित कृषि उपजका लागि बजारको पहुँच सहज भएकाले उत्पादन बढाउन पानी सिँचाइ आयोजनाले भूमिका निर्वाह गर्ने उनको भनाइ छ । कृषि उत्पादन वृद्धिका लागि चन्द्रपुर नगरपालिकाले बीउबिजन, परामर्श तथा अन्य सहयोग गर्दै आएको नगर प्रमुख रामचन्द्र चौधरीले बताए । नगरलाई नै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सके स्थानीयको आयस्तरमा सुधार आउने उनको भनाइ छ ।