ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज–पथलैया व्यापारिक मार्ग : विस्तार नगर्न सांसदकै दबाब 

२०७८ चैत, २८  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज–पथलैया व्यापारिक मार्गअन्तर्गतको केही ठाउँमा विस्तारको काम अघि नबढाउन सांसदहरूले नै दबाब दिन थालेका छन् । आफ्नो राजनीतिक स्वार्थका लागि उनीहरूले सडक विस्तारको काम अघि नबढाउन आयोजनालाई दबाब दिएका हुन् । 

उक्त व्यापारिक मार्गको सुक्खा बन्दरगाह–एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्र, परवानीपुर बजार र जितपुरमा सडक विस्तारको कामले गति लिन सकेको छैन । बाटोमा पर्ने संरचना र स्थानीयको अवरोधले काम अघि बढ्न नसकेको आयोजनाले बताएको छ । 

आयोजनाले हालै त्यस क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने सबै संरचना भत्काइदिएको छ । परवानीपुरका स्थानीयले सडक विस्तारको काम तत्काललाई रोक्न स्थानीय राजनीतिकर्मी गुहारेको र सांसदहरूले सोही अनुसार आयोजनालाई दबाब दिएका हुन् । 

प्रतिनिधिसभा सदस्य प्रदीप यादव र मधेश प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र सोनलमार्फत यस्तो दबाब आएको आयोजनासम्बद्ध स्रोतले बताएको छ । उनीहरूले परवानीपुर बजार क्षेत्रको सडक तत्काल नबनाउन आयोजनालाई भनेका हुन् । 

‘भर्खरै घर भत्काइएकाले स्थानीय पीडित भएको भन्दै केही समयपछि मात्रै सडक निर्माण गर्न माननीयहरूको आग्रह आएको छ,’ कार्यालयका एक अधिकारीले भने । 

स्थानीय अवरोध, दबाब, ठेकेदारको ढिलासुस्ती लगायत कारण सडक विस्तारको काम पछिल्लोपटक थपिएको समयभित्र पनि नसकिने भएको छ । 
कोरोना महामारीलाई कारण देखाएर सरकारले सबै आयोजनाको समय ६ महीना थपेपछि यो मार्ग विस्तार र स्तरोन्नतिको जिम्मा लिएका निर्माण व्यवसायीले चैतसम्म समय पाएका थिए । 

एक महीनाअघि बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूले डाकेको सर्वपक्षीय बैठकमा चैतभित्र काम सक्ने प्रतिबद्धता व्यक्त गरेका निर्माण व्यवसायी अहिले फेरि ठेक्काको समय थपिनुपर्ने माग गर्न थालेका छन् । 

व्यवसायीहरू पुन: समय थप्नुपर्ने माग गर्दै कार्यालय धाउन थालेको वीरगञ्ज–पथलैया व्यापारिक मार्गका आयोजना प्रमुख मनीषकुमार साहले बताए । ‘४ जना निर्माण व्यवसायी फेरि म्याद थपिदिनुपर्‍यो भनेर आउनुभएको छ । तर, म्याद थपिँदैन । पेनाल्टी तिराएर भए पनि काम लगाउँछौं,’ प्रमुख साहले भने । 
निर्माण व्यवसायीले तोकिएको समयमा काम पूरा नगरे ठेक्का रकमको शून्य दशमलव शून्य ५ प्रतिशत प्रतिदिनका दरले जरीवाना तिर्नुपर्छ । व्यापारिक मार्ग विस्तार आयोजनाले पनि चैतभित्रै विस्तारको काम सक्ने बताएको थियो । 

प्रगति ८२ प्रतिशत
बेग्लाबेग्लै ७ खण्डमा बाँडेर २०७३ साल असारमा लगाइएको ठेक्का २ वर्षमा सक्नुपर्ने थियो । ६ वर्ष बितिसक्न लाग्दा आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत छ । 

यसबीचमा आयोजनाले पुल र कल्भर्टको ठेक्का थपेको थियो । कुल १३ ओटा ठेक्काको गत फागुनसम्मको प्रगति जोड्दा करीब ८४ प्रतिशत पुग्छ । 

व्यापारिक मार्ग विस्तारमा भइरहेको ढिलाइले मुख्य नाकाबाट हुने पारवहन, उद्योग, व्यापार र समग्र आवागमन समस्याग्रस्त बनेको छ । 

यो मार्गमा वीरगञ्ज नाकाबाट दैनिक भित्रिने १ हजार ढुवानीका साधन र त्यत्ति नै संख्यामा सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन हुन्छ । 

व्यापारिक मार्गको केही खण्ड कालोपत्र भएको छ । ठाउँठाउँमा मुख्य लेन निर्माण गरिएको छ । सर्भिस लेन, ग्रिन बेल्ट र रङरोगनको काम भएको छैन । 

यस्तो बन्दै छ सडक 
यसअघिको २ लेनको त्रिभुवन राजपथ र आईसीपीदेखि परवानीपुरसम्मको ४ लेन सडकलाई ५० मीटर (६ लेन) मा स्तरोन्नति भइरहेको छ । 

व्यापारिक मार्गको बीचबाट ११/११ मीटर दायाँबाँया सडक निर्माणको काम भइरहेको छ । साढे ३ मीटरको दुईतर्फी ग्रीन बेल्ट र साढे ५ मीटरमा दुवैतर्फ सर्भिस लेन बनाइने साहले बताए । सर्भिस लेनसँगै दुवै किनारमा साढे ३ मीटरमा नाली र फुटपाथ बन्नेछ । 

परवानीपुरदेखि गण्डकसम्मको सडकलाई भने ४ लेनमा विस्तार गर्न लागिएको छ । गण्डकदेखि मितेरी पुलसम्मको ८ किलोमीटर सडक चौडाइसम्बन्धी विवाद ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेकाले काम अघि बढ्न नसकेको आयोजनाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)