ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुख कटानको विवादले रेल मार्गको काम फेरि अवरुद्ध

२०७९ बैशाख, ३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३, रौतहट । रुख कटानको विवादले मेची–महाकाली विद्युतीय रेल मार्ग (ट्रयाक) को काम फेरि अवरुद्ध भएको छ । 

रूख कटान गर्ने बिषयमा वन उपभोक्ता समूह र रेल्वे कार्यालय बीच विवाद हुँदा राष्ट्रिय गौरवको आयोजनाको काम अवरुद्ध भएको हो । उपभोक्ता समूहले भने आफैंले रूख काट्न पाउनुपर्ने माग राखेको छ । रेल्वे कार्यालयले दुई साताअघि नेपाल वन निगम लिमिटेड (तत्कालीन टीसीएन कार्यालय) सँग रूख कटान र व्यवस्थापनका लागि सम्झौता गरेको छ ।

दुवैको विवादका कारण अहिले रुख कटानको काम हुन सकेको छैन। बाग्मती–चाँदी खण्डको योजना अन्तर्गत प्याकेज नम्बर ४ र ५ मा पर्ने दोभान सामुदायिक वनमा ५७५ ओटा तथा रामलाल वृन्दावन साझेदारी वनमा १ हजार ९७५ रूख ओटा काट्नु पर्नेछ ।
 

रुख काट्न वन समूहलाई दिने मौखिक सहमति भएपनि सो नभएकाले काम गर्न नदिएको दोभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिरबल बम्जनले बताए । उता रेल्वे कार्यालयका इञ्जिनीयर बोध भण्डारीले समूहले कटान गर्दा चाँडो र भरपर्दो काम नगर्ने भएकाले रूख कटान र व्यवस्थापनमा सहजताका लागि निगमसँग सम्झौता गरेको बताए ।

यसमा विवाद भएपनि चाँडै टुङ्गो लगाउने उनले बताए । उक्त प्याकेजको ठेक्का लामा गोल्डेन गुड बिरुवा जेभीले पाएको छ ।  धन्सार क्षेत्रमा पर्ने रेल्वे ट्रयाक निर्माणको काम पनि रुख कटानकै कारण रोकिएको छ । वन मन्त्रालयले ६९ ओटा रुख कटानको आदेश नदिएको कारण रोकिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए ।

त्यसक्षेत्रमा विभिन्न जातको २ हजार ६५२ ओटा रुख कटान गर्नुपर्नेछ । प्राविधिक कारण आदेश नभएकाले अहिले काम रोकिएको उनको भनाइ छ ।  झन्डै डेढ वर्षपछि वन मन्त्रालयले रेल्वे ट्रयाकमा पर्ने रूख कटान आदेश दिएको हो ।

तर, वन समूहको अवरोधका कारण फेरि आयोजना निर्माणमा समस्या आएको रेल्वे आयोजना कार्यालय लालबन्दीले बताएको छ । रेल्वे आयोजना अन्तर्गतका सबै प्याकेजको काम गत माघ १४ मै सक्नुपर्ने सम्झौतामा उल्लेख भएपनि विविध समस्याका कारण काम सम्पन्न हुन नसकेको आयोजनाले उल्लेख गरेको छ ।

बाग्मतीदेखि धन्सारसम्म २२ किलोमिटर ट्रयाक बनाउने योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)