ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला उद्यमीका उत्पादन प्रदर्शन र विक्री गर्न राष्ट्रियस्तरमा क्राफ्ट भिलेज बनाऔं

२०७९ बैशाख, ६  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

घर तथा अफिसमा इन्टेरियर डिजाइन गर्ने प्रचलन नेपालमा पनि बढ्दै गएको छ । अन्तरराष्ट्रिय अभ्यास, परिवर्तित जीवनशैली, मानवीय शौख र रुचिले पनि इन्टेरियर डिजाइनको महत्त्व चुलिएको हो । यो पेशामा सम्भावना र अवसरकै कारण महिलाको उपस्थिति समेत बढ्दै गएको छ । निरु रायमाझी खत्री यसैको प्रतिनिधि उदाहरण हुन् । कुशल इन्टेरियर डिजाइनरको रूपमा परिचित उनले यो व्यवसायसहित नेपाल महिला उद्यमी महासंघको नेतृत्व सम्हालिरहेकी छिन् । प्रस्तुत छ, इन्टेरियर डिजाइनिङमा उनको अनुभव, नेपालमा यो व्यवसायको अवस्था, महिला उद्यमी महासंघका गतिविधि लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :

आफूलाई कसरी चिनाउनु हुन्छ ?
म आजभन्दा झन्डै ३० वर्षअघिको कुरा गर्न चाहन्छु । हाईस्कुल पास गर्नेबित्तिकै इन्टेरियर डिजाइनतर्फ जान मन लागेकाले त्यससम्बन्धी खोज/अनुसन्धान गरेँ । त्यति बेला अहिलेको जस्तो सहज थिएन । ज्ञान र अवसर सीमित थिए । नेपालमा इन्टेरियर डिजाइनिङको अध्ययन हुँदैनथ्यो, बाहिरै गएर पढ्नुपर्ने अवस्था थियो । त्यसपछि मैले जेजे स्कुल अफ आर्ट्समा जाने विचार गरेँ । त्यसका लागि बुवाआमालाई बुझाउनुपर्‍यो । किनभने म परिवारको पहिलो सन्तान भएकाले त्यति सजिलो थिएन । त्यतिबेला छोरीलाई बाहिर पठाउने कुरा पनि हुँदैनथ्यो ।

पहिले इन्टेरियर डिजाइनलाई खास ठाउँमा खास किसिमका मान्छेले मात्र प्रयोग गर्थे भने अहिले ग्राहकको दायरा धेरै बढेको छ । 

म हुर्के–बढेको त काठमाडौंमै हो । तर हाम्रो पुर्ख्यौली घर चाहिँ पाल्पा हो । सेन्ट मेरिज स्कूलमा पढेको हुँ ।

स्कूलबाट सिनियर केम्ब्रिज गरेपछि इन्टेरियर डिजाइनिङ पढ्न गएको हुँ । कोर्स त्यस्तै खालको थियो, स्कुल सकेपछि सीधै जानुपथ्र्यो । त्यस क्रममा बम्बईमा झण्डै ४ वर्ष बसेर इन्टेरियर डिजाइनिङ एण्ड फर्निसिङ विषयमा डिप्लोमा गरेँ ।

हामीले पढाइको क्रममा प्रयोगात्मक गर्दा भारतमा इन्टेरियर डिजाइनिङ हुन्छ थाहा थियो । तर मलाई नेपालमा यो काम नयाँ हुन्छ, यस्तो काम शुरू गर्नुपर्छ भन्ने लाग्योे । एक/दुई जना इन्टेरियर डिजाइनर त हुनुहुन्थ्यो, तर अहिलेको जस्तो धेरै होइन । मलाई नेपालमै आउने रहर थियो ।

उताबाट आउनेबित्तिकै बालाजु काष्ठ कार्यालय नामक फर्निचर फ्याक्ट्रीमा काम गरेँ । त्यतिबेला यसको नाम खुबै चलेको थियो । त्यहाँ विदेश (धेरैजसो जर्मनी)बाट इन्टेरियर डिजाइनर र फर्निचर डिजाइनर आउनुहुन्थ्यो । त्यहाँ अप्रेन्टिसशिप (अहिलेको इन्टर्नशिपको जस्तो) काम गरेँ । त्यो काम गर्दागर्दै ८–९ महीनापछि आर्किटेक्चर डिजाइन एशोसिएट्स (एडीए) भन्ने कम्पनीमा आवश्यकताको विज्ञापन देखेँ । त्यसपछि झन्डै ५ वर्षसम्म त्यहाँ इन्टेरियर डिजाइनरको रूपमा काम गरेँ ।

जागीरे काम गर्दागर्दै मेरो बिहे भयो, बच्चा पनि भयो । त्यसपछि ९–५ को जागीर गर्दा आफूलाई अनुकूल भएन । केटाकेटी पनि हेर्ने, घर पनि हेर्नुपर्ने भएकाले केही समयका लागि घरमै बसेर ‘फ्रील्यान्सर’ भएर पनि काम गरेँ । त्यसको केही समयपछि अर्थात् आजभन्दा १५ वर्षअघि आफ्नै कम्पनी खोलेँ– इन्टेरियर डिजाइन सर्भिस (आईडीएस) । आफू स्वतन्त्र हुनेभन्दा पनि काम गर्ने समयको लचकताका लागि आफ्नै व्यवसाय शुरू गरेको हुँ । त्यो व्यवसाय गर्दागर्दै मलाई त्यसबेलाको नेपाल महिला उद्यमी संघ ललितपुरमा (त्यतिबेला महासंघ भएको थिएन) आबद्ध हुन निम्ता आयो । त्यो महिलाहरूको प्लाटफर्म भएकाले सिकाइ, ज्ञान–अनुभव आदानप्रदान हुने अवसर देखेर म त्यहाँ गएँ । त्यहाँ पहिलेदेखि नै संलग्न सदस्यहरूको अनुभव, काम गर्ने तरीका देखेर म प्रभावित भएँ । मैले उहाँहरूलाई आदर्श व्यक्ति देखेँ । त्यहाँ गएपछि मलाई के लाग्यो भने ‘म पो बाहिर गएर पढेँ, अनुभव भयो, अभिभावकले पनि स्तरीय वातावरणमा हुर्काउनुभयो, पढाउनुभयो । त्यही भएर मैले मौका पाएँ, तर कति ठाउँमा कति अवस्थामा महिलाले मौका पाएकै छैनन् । यो प्लाटफर्मले त्यस्ता महिलाहरूलाई सिकाउने, उत्प्रेरणा दिने मौका दिएको छ ।’ त्यसो हुँदा मलाई त्यसप्रति एकदमै लगाव भयो ।

अहिलेसम्म कतिओटा कम्पनीलाई इन्टेरियर डिजाइनिङ सेवा दिनुभयो होला ?
कम्पनीभन्दा पनि यो काम परियोजना अनुसार हुन्छ । गन्ने हो भने १०० ओटा भयो होला । परियोजना विभिन्न प्रकारका हुन्छन्– आवासीय, कार्यालयीय, व्यावसायिक, होटल/रेस्टुराँ सम्बन्धी आदि । यहाँका कतिपय पाँचतारे होटेलमा पनि काम गर्ने मौका पाएँ । हायात होटल भर्खर बन्दै थियो । त्यसमा पनि मैले इन्टेरियर डिजाइनर भएर काम गरेँ ।

अहिले चाहिँ काम गर्ने शैली पनि फरक भएको छ । किनभने अब डिजाइनिङमा प्रविधिले धेरै परिवर्तन ल्याएको छ । पहिलेको जस्तो टेबलमा बसेर कागजमा डिजाइन कोर्नुपर्दैन । रङहरूको संयोजनदेखि प्रस्तुतिसम्मका काम डिजिटल माध्यमबाट हुन्छ । म पनि धेरैजसो काम डिजिटल माध्यमबाटै गर्छु । मलाई यो सजिलो पनि लागिरहेको छ ।

इन्टेरियर डिजाइनको काममा प्रायः पुरुषभन्दा महिला नै आकर्षित भएको पाइन्छ, के कारण होला ?
यसमा मेरो बुझाइ के हो भने महिलाहरू स्वभावतः अलिक सृजनशील हुन्छन् । घरमा पनि सजावट गर्न मन पराउने महिला नै हुन्छन् । साना साना कुराहरू विस्तृतमा हेर्ने, हरेक कोणबाट ठीक छ/छैन हेर्ने शीप महिलामा पाइन्छ । तर त्यसो भन्दाभन्दै इन्टेरियर डिजाइन महिलाको मात्र क्षेत्र हो भन्न खोजेको होइन । धेरै पुरुषले पनि एकदमै राम्रो गर्नुभएको छ ।

सिभिल इन्जिनीयर, अर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूबीच एउटा स्वस्थ द्वन्द्व हुन्छ । 

घर अथवा कार्यालयमा इन्टेरियर डिजाइन छनोटको सन्दर्भमा के कस्तो परिवर्तन भएको छ ?
धेरै नै परिवर्तन भएका छन् । पहिलेको ग्राहकभन्दा अहिलेका ग्राहक अलि सुसूचित पनि हुनुहुन्छ । यस विषयमा आफै पनि धेरै जान्नुहुन्छ । किनभने अहिले यसमा इन्टरनेटले सहज बनाइदिएको छ । गुगल/युट्युबमा हेरेर उहाँहरू ‘यो कलर, यस्तो कलर कम्बिनेशन, यस्तो सोफा/फर्निचर, यो स्टाइल चाहिन्छ’ भन्नुहुन्छ । पहिले त्यस्तो हुँदैनथ्यो ।

पहिले क्याटलगहरू, १०–१२ ओटा डिजाइन कन्सेप्ट, थ्रीडी डिजाइन आदि देखाउनुपथ्र्यो । अहिले त्यस्तो छैन । उहाँहरूले नै आफ्नो रुचि र आवश्यकता अनुसारको माग गर्नुहुन्छ, जसले गर्दा हामीहरूलाई पनि काम गर्न, उहाँहरूलाई बुझाउन एकदम सजिलो भएको छ ।

वास्तुशास्त्रले इन्टेरियर डिजाइनमा सकारात्मक, नकारात्मक केही प्रभाव पारेको छ ?
वास्तुशास्त्रप्रति मेरो त्यति रुचि छैन । डिजाइन गर्दा विशुद्ध डिजाइनकै दृष्टिबाट हेर्छु । डिजाइन गर्दा त्यसमा प्रयोग हुने सामग्रीको सन्तुलन हेर्नपर्छ, ‘आउटकम’ कस्तो हुन्छ भन्ने हेर्नुपर्छ । त्यसमा प्रकाशदेखि हावाको आवतजावत समेतको पाटो हेर्नुपर्छ । अनि वास्तुशास्त्रीहरूले हेर्ने पनि त्यही सन्तुलन हो, उहाँहरूले पनि रङ संयोजनकै कुरा गर्ने हो । फर्निचरहरूको अवस्थिति मिलाउने हो । त्यसमा आआफ्नै धारणा हुन्छन् ।

तर नतीजाको हिसाबले एउटा खास सन्तुलन त सबैले खोज्छन् । त्यो ठाउँमा बसेपछि एकदमै आनन्द आउने आउटकम चाहिन्छ । यस हिसाबले केही न केही लिंक त पक्कै हुन्छ ।

भनाइको मतलब राम्रोसँग इन्टेरियर डिजाइन भएको छ, अनुभव भएको मान्छेले डिजाइन गरेको छ भने त्यो वास्तुअनुसार आफै मिल्ने भयो, होइन त ?
अवश्य पनि हो । किनभने सन्तुलित ढंगले रङको संयोजन भयो, फर्निचर पनि कोठालाई ठीक्क सुहाउने, कोठाको आकार अनुसार सुहाउँदो भयो भने समग्रमा आकर्षक देखिन्छ । अनि आकर्षक वस्तुले मनलाई आनन्द पनि दिने नै भयो ।

तपाईंसँग यस्तो कुनै अनुभव पनि छ ? जसमा तपाईंले गरेको काममा वास्तु नमिलेका कारण परिवर्तन गरौं भनिएको होस् ?
त्यस्तो पनि धेरै भएको छ । ग्राहकलाई पहिलेको डिजाइन मन परेर काम सम्पन्न भइसके पनि २/४ वर्षछि उहाँहरूले वास्तुशास्त्रको कारण त्यसमा परिवर्तन गराउनुभएको छ । अहिले वास्तु हेर्ने चलन एकदमै छ । त्यसले गर्दा पर्खाल नै हटाउने जस्ता सघन परिवर्तन पनि गरेका छौं ।

अनि तपाईंलाई यसले समस्या परेका केही घटना छन् ?
त्यस्तो घटना त छैन, राम्रो नै भएको छ । कतिपय ग्राहक हामीलाई यो वास्तुअनुसार एकदमै मिलेको छ भनेर खुशी पनि हुनुभएको छ । तर खासमा त्यो मैले वास्तुअनुसार गरेको भने होइन ।

इन्टेरियर डिजाइनको लागत अलि महँगो भयो कि भन्ने बुझाइ केही हदसम्म साँचो नै हो ।

अहिले यो क्षेत्रमा पढेर धेरै युवाहरू आउनु भएको छ । ‘प्रोफेशनल’लाई देखाएर मात्रै आफ्नो घर तथा अफिस बनाउने चलन बढेको छ । यसरी यो इन्डस्ट्री र काम पनि बढेको छ । जनसंसाधन पनि बजारमा त्यत्तिकै आएका छन् । यस क्षेत्रका मानिस बजारमा धेरै भएकाले काममा सकारात्मक, नकारात्मक कस्तो असर परेको छ ?
एकदमै सकारात्मक प्रभाव परेको छ । किनभने पहिले इन्टेरियर डिजाइनलाई खास ठाउँमा खास किसिमका मानिसले मात्र अपनाउँथे । अहिले ग्राहकको दायरा धेरै बढेको छ । होटल/रेस्टुराँ धेरै थपिएका छन् । धेरै आउने क्रममा छन् । कसैले अफिस बनाउँछ भने त्यहाँ इन्टेरियर डिजाइनको काम आइहाल्छ । साधारण घर नै बनाउन पनि इन्टेरियर डिजाइनरको सहयोग लिनुहुन्छ । इन्टेरियर डिजाइनको सामानका विक्रेता, जस्तै– फर्निचर शोरूम जस्ता व्यवसायमा पनि डिजाइनरहरू काम गर्नुहुन्छ । त्यसमा हामीले भन्नेबित्तिकै, भनेका अनुसारका सामान तुरुन्त पाइन्छ । मेरो डिमान्ड यस्तो किसिमको छ, मैले यो प्रोजेक्टमा यसरी हेरिरहेको छु, यो कलर कम्बिनेशन, स्टाइल चाहियो भनेपछि त्यो तुरुन्त आउँछ ।

तपाईंकोे इन्टेरियर डिजाइन कम्पनीमा कतिजना काम गर्छन् ?
अहिले चार–पाँचजनाले पूर्णकालीन काम गर्छन् । तर अप्रत्यक्ष रूपमा धेरै छन् । यसमा टिम वर्क हुन्छ । प्लम्बिङ, इलेक्ट्रिसिटी, पेन्ट वर्क, फर्निचर लगायतको आआफ्नै सेक्सन हुन्छ । यसरी ५० जनाभन्दा बढीसँग हामी काम गर्छौं ।

यो त्यति धैरै कर्मचारी चाहिने खालको काम होइन रहेछ । व्यवसायको आकार चाहिँ कति ठूलो हुन्छ ?
धेरै ठूल्ठूला परियोजनाहरू, जस्तै– होटल, ठूला कर्पोरेटको कुरा गर्‍यौं भने त्यसमा इन्टेरियर डिजाइनका कामहरू धेरै ठूलो आकारको हुन्छ ।

सिभिल इन्जिनीयर, आर्किटेक्टहरू हुनुहुन्छ । उहाँहरूले घर, कोठाको डिजाइनको काम गर्नुहुन्छ । उहाँहरू र तपाईंहरूले गर्ने काममा कत्तिको द्वन्द्व हुन्छ ?
 हुन्छ नि, किन नहुनु ? तर स्वस्थ किसिमको द्वन्द्व हुन्छ । त्यसैले यस्तो काममा सम्झौता र टिम वर्क आवश्यक छ । इन्टेरियर डिजाइन भन्ने नामले नै बताउँछ नि घरको आन्तरिक सजावट गर्ने भनेर । सिभिल इन्जिनियर, आर्किटेक्टले काम गर्दा शुरूदेखि नै हामीसँग राम्रोसँग समन्वय गर्दा त्यसको नतीजा एकदमै राम्रो हुन्छ । धेरैजसो कस्तो हुन्छ भने पहिले घर बन्छ, अनि घरको सजावट गर्नुपर्‍यो भने इन्टेरियर डिजाइन खोज्ने गरिन्छ । त्यस्तोमा कामको तालमेल अलि मिल्दैन । उदाहरणका लागि, डिजाइनरले ‘सोफा यहाँ राख्दा झ्याल यहाँ भएको राम्रो हुन्थ्यो, यहाँबाट लाइट आउँथ्यो भन्ने’ देख्छ । तर त्यहाँ त पर्खाल नै बनाइएको हुन्छ । यसरी पछि गएर इन्टेरियर डिजाइनमा ‘यो भएन, यसरी मिलाउनुपर्‍यो’ भनेर काम गर्दा खर्च बढ्छ । तर घर/अफिस निर्माणमा शुरूदेखि नै इन्टेरियर डिजाइनिङ पनि गराउन सके खर्च कम हुन्छ ।

इन्टेरियर डिजाइनिङमा कच्चापदार्थहरू (जस्तै– काठ, बाँस, प्लास्टिक, स्टील)को हिसाबले चाहिँ यसको ट्रेन्ड कस्तो छ ? मानिसको रोजाइ कस्तो छ ?
संरचनाको इन्जिनियरिङ सम्बन्धी काममा हामी त्यति संलग्न हुँदैनौं । इन्टेरियर डिजाइनिङमा ग्राहकको रुचिअनुसार यस्ता सामग्रीको उल्लेख्य प्रयोग हुने गरेको छ । साथै अहिलेका ग्राहकहरू अन्य विदेशी सामान पनि रोज्ने गर्छन् । कस्ता सामग्रीको प्रयोग गर्ने भन्नेमा मौसमले पनि निर्धारण गर्छ । जस्तै– काठमाडौंमा बन्ने घर/अफिसको भुइँमा न्यानोपनका लागि काठ/कार्पेट प्राथमिकतामा पर्छ । तराईतिर अथवा गर्मी ठाउँमा हो भने काठहरूको सट्टा मार्बल प्रयोग गरौैं भन्ने हुन्छ । ठाउँ अनुसार पनि विकल्प प्रशस्त छन् ।

विकसित देशमा भएको जस्तो नेपालमा आएको छ कि छैन ? जुन सबै हिसाबले राम्रो होस् । यस्तो ल्याउनुपर्छ भन्ने केही छ ?
कपडा थोरै परिमाण मात्र आउँछ । कुनै चिजहरू राम्रो आउँछ । यसको माग पनि त्यत्तिकै भइरहेको हुन्छ । तर कतिपय वस्तु छान्दा पर्याप्त मौज्दात भइदिँदैन । त्यसले चाहिँ कहिलेकाहीँ अप्ठ्यारो पनि पार्छ । एउटा सामग्रीको नमूना लगेको हुन्छ, पास गरिएको पनि हुन्छ, आउँछ भनिएको हुन्छ, तर आउँदैन । त्यसले काममा अलि निराश बनाउँछ । फर्निचरहरू, फिनिसिङ मटेरियल, पत्थर, टायलहरूको काम गर्दा विविधता छ । बत्तीहरू पनि अलि सीमित मात्रामा आउँछन् । त्यसमा पनि विकल्प अझै भएको भए राम्रो हुन्थ्यो भन्ने हुन्छ ।

साना साना कुराहरू विस्तृतमा हेर्ने र हरेक कोणबाट ठीक छ/छैन हेर्ने शीप महिलामा पाइन्छ । 

धेरै मानिसहरुमा इन्टेरियर डिजाइनको लागत अलि महँगो भयो कि भन्ने बुझाइ छ, के यो सत्य हो ? 
केही हदसम्म सत्य नै हो । आर्किटेक्टले घरै बनाइदिन्छ जस्तो धारणा हुँदो रहेछ । सिभिल इन्जिनियरले बनावट, पिल्लरहरुको कुरा गर्नुहुन्छ, छडको कुरा गर्नुहुन्छ । इन्टेरीयर डिजाइन अन्तिम चरणमा आउँछ र यसमा रंगहरुको संयोजन मिलाउने, फर्निचर ल्याउने जस्तो किसिमको काम हुन्छ भन्ने बुझाई छ । यस्तो रंगहरुको संयोजन मिलाउने त मैले पनि त गर्नसक्छु नि भन्ने किसिमको सोच आउँदो रहेछ ।  त्यसो भएकाले इन्टेरीयर डिजाइनमा त्यस्तो धरै खर्च त नहोला भन्ने ग्राहकहरु मैले पनि पाएको हो ।

यहाँको विजनेशमा वार्षिक कारोबार कति हुन्छ ? केही त्यस्तो केही भन्न मिल्छ ?
सालाखाला ५ करोडको हाराहारीमा हुन्छ ।

अब अलिकति प्रसङ्ग बदलौं, महिला उद्यमी महासंघले अहिले के के गरिरहेको छ ?
महिला उद्यमी महासंघले उद्यमी महिलाहरुको उत्थान, विकास र संरक्षण गर्छ । हामिले १/ २ ओटा जिल्लाहरुबाट शुरु गरेका हौ । तर अहिले ५७ ओटा जिल्लामा पुगेको छ । हामीले जिल्लाहरुमा सँगठन् विस्तार गरेका छौं, ७ ओटै प्रदेशमा हाम्रो प्रतिनिधित्व छ । त्यहाका महिलाको क्षमता विकासको कुराहरु भयो, त्यहाँका महिलाको उत्पादनको मार्केटिङको कुराहरु भयो, उनीहरुलाई नेटवर्क गराउने, उनीहरुको गभर्नेन्सको कुराहरु भयो, त्यसमा विभिन्न कार्यक्रमहरु मार्फत हामीले काम गरिरहेका छौं । महिला उद्यमी महासंघलाई पनि दिगोे बनाउनु पर्नेे छ । कस्तो किसिमको कार्यक्रम भयो भने संस्था आत्मनिर्भर हुन्छ भन्नेमा पनि हाम्रो ध्यान छ ।  हामीले विजनेश डेभलपमेन्ट सेन्टरकोे अवधारणा ल्याएका छौं । त्यो भनेकोे सशुल्क सेवा दिएर आय आर्जन गर्ने हो । हाम्रा सदस्यहरु मात्र नभई कुनै पनि महिला उद्यमीलाई रजिष्ट्रेशनमा, नवीकरणमा, मार्केटिङ जानकारी, कच्चा पदार्थको जानकारी आदि सेवाहरु दिने गर्न थालेका छौं ।

अहिले गाउँका महिलाहरुले सानो सानो रुपमा गरेको उत्पादनको, जस्तो कि मिथिला आर्टको, मूल्य नपाउने, श्रमको सम्मान नहुने, त्यो क्षेत्र मरेर जाने भइरहेको छ । त्यसमा तपाईहरुले काम गर्न नसक्नु भएको हो ?
महासंघको पनि आफ्नै वाध्यता छ, सीमा छ । हामीले सोचिरहेको त छौं सबै महिलाहरुको विकास गरौं, तपाइले भनेजस्तो उहाँहरुको प्रोडक्टहरुलाई पनि हामिले संरक्षण गरौं, त्यसलाई अगाडी बढाऔं । तर हाम्रो पनि क्षमता त्यस्तो पर्याप्त छैन । तर त्यसो भन्दा भन्दै हामीले नगरेको चै होइन । हामीले इन्टरभेन्सन गर्छौ । यसका लागि एउटा वेब पोर्टल बनाएका छौं । उहाँहरुको सामानलाइ एकदमै उचित मूल्यमा हामीले अनलाइनमा राखिदिन्छौं र यसरी विश्वभरि त्यसको प्रचार गरिदिन्छौं । ठाडो टाइपले बनाएको ढकी होस्, मिथिला आर्ट होस्, पेन्टिङ वर्क ती सबै आउँछन् ।

तपाईं यति लामो समयदेखि महिला उद्यमशिलताको विकासको लागि काम गर्नुभएको छ । भर्खर उद्यमशिलतामा आउन चाहने महिला उद्यमीको लागि के सुझाब दिन चाहनुहुन्छ ?
हामीले व्यक्तिगत रुपमा एक्लै काम गर्दा त्यहाँ कति समस्या हुन्छन्, त्यो समस्या समाधन गर्नको लागि एकदमै गाह्रो हुँदो रहेछ । करको हुनसक्छ, निर्यातको कुरा हुन्छ सक्छ, नीति नियमको कुरा हुन्छ, बजारीकरणको कुरा हुनसक्छ । तिनमा गाह्रो हुन्छ । हाम्रो जस्तो संस्थामा जोडिनु भयो भने, संगठनात्मक रुपमा गयो भने समस्याहरु पनि समाधान हुन्छ ।

महिलाहरु जो उद्यमशीलतामा आउनुभएको छैन, उहाँहरुलाई तपाइको सुझाव के छ ?
उहाँहरुलाई सम्भाव्य उद्यमी भनौन । रुची भएको तर कसरी यो क्षेत्रमा आउने भन्ने कतिपयलाई हुन्छ । के गरौ, कसरी गरौ भन्ने किसिमको हुनुहुन्छ भने महीला उद्यमी महासंघले गर्ने कार्यक्रमहरु, तालीमहरु, वर्कशपहरुमा आउनुहोस् । न्यू विजनेश क्रिएशन भन्ने हाम्रो एउटा कार्यक्रम छ । त्यसमो कलेजको विद्यार्थी, गृहिणीहरु आउन सक्नुहुन्छ । त्यस्तो कार्यक्रम पहिला पनि हामिले धेरै गर्यौ, सफल पनि भएको छ । त्यसमा भाग लिनसाथ एक किसिमको प्रेरणा मिल्छ,  यस्तो गर्ने रहेछ भनेर एक किसिमको आत्मविश्वास, ज्ञान पनि हुन्छ । यस्तो किसिमको कार्यक्रम गरिसकेपछि उहाँहरुले विजनेश शुरु गरेर सफल पनि हुनुभएको छ ।

महिला उद्यमशिलताको विषयमा तपाईंलाई भन्न मन लागेको अरु केहि छ कि ?
मलाई के भन्न मन लागेको छ भने महिलाहरु कति हदसम्म पछाडी नै छन्, उहाँहरुलाई उद्यममा अगाडि बढाउनको लागि पहल गर्न मेरो नेपाल सरकारलाई निवेदन छ । हामिलाई मौका दिनुस् । बजारीकरण मै समस्या छ । साामानहरु बनेको छ तर कहाँ लौजानु? अहिले ठाउँ ठाउँमा कोशेली घरहरुको कन्सेप्ट पनि आएको छ । हामीले सरकारलाई बारम्बार के नि भनिरहेको छौ भने, राष्ट्रिय स्तरमा क्राफ्ट भिलेज जस्तो उद्योग व्यवसायी महिलाहरुले आफ्नो सामानहरु प्रदर्शन गर्ने, विक्री गर्ने खालको अवधारणामा काम गरौं । त्यस्तो ठाउँ उपलब्ध गराइदिएको खण्डमा महासंघले त्यस्लाई लिड गरेर ७ ओटै प्रदेशका महिलाहको सामान हामीले प्रदर्शन गर्न सक्थ्यौं । त्यो चाहीँ एकदमै ठूलो सहयोग हुन्थ्यो भन्ने कुरा हाम्रो पूरै टिमलाई लागेको छ ।

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepalमा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)