महोत्तरी । पछिल्लो समय महोत्तरीका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । खेती गर्ने समयमा जहिल्यै रासायनिक मलको अभाव हुन थालेपछि यहाँका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् ।
यहाँ किसानले खेती लाउने समयमा जहिल्यै मल, बीउ र कीरा नियन्त्रण गर्ने विषादीको अभाव झेल्ने गरेका छन् ।
खेती लाउने समयमै अभाव हुँदा दिक्क भएका महोत्तरी बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित देखिएका हुन् । ‘मैले दुई/तीन वर्षदेखि धान, गहुँजस्ता मूख्य अन्नबाली पनि रासायनिक मलबिना नै परम्परागत तरिकाले गर्दै आएको छु । चिस्यानको राम्रो ख्याल गर्नपर्ने यो तरिकाले राम्रै उत्पादन हुने गरेको छ’ भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान हरिदेव साहले भने ।
साहको देखासिकीबाट सो बस्तीका अधिकांश किसान परम्परागत प्राङ्गारिक खेती प्रणाली रोज्न थालेका छन् ।
पछिल्लो पाँच वर्षयता रासायनिक मल, कीरा नियन्त्रण गर्ने विषादी र भारतीय बीउ प्रयोग गर्न छोडेको उनीहरूको भनाइ छ । ‘मल, बीउ र कीरा नियन्त्रणको औषधि आफै तयार गर्छु’, उनले भने, ‘आफैँले उत्पादन गरेको फसलमा पौष्टिकतत्त्व र प्राकृतिक स्वाद हुन्छ ।’
प्राङ्गारिक खेती थालेपछि आफ्नो उत्पादन उपभोक्ताको पहिलो रोजाइँमा पर्ने गरेको किसान साहको भनाइ छ ।
तरकारी, तेलहन र उखुलगायत नगदेबाली लगाइने जिल्लाको उत्तरी क्षेत्रका गाउँ/नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन हुन थालेको छ । रासस