वैशाख १०, महोत्तरी । उमेरले ७० नाघेका बर्दिबास–७ मनहरीपुरका विन्देश्वर यादव दिनहुँ तरकारी खेतीमै खटिएका भेटिन्छन् ।
पछिल्लो समय नगद आर्जनका लागि सहयोगी बनेको उनको तरकारी खेतीले बेलाबेला मौसमी उल्झन बेहोरिरहन्छ । कहिले बाढीले बगाएर लैजान्छ । कहिले असिनापानीले सोत्तर पार्छ । यादवलाई सहनुको विकल्प हुँदैन ।
पछिल्लो समय उनको तरकारी बालीले किराको प्रकोप खेप्नु परेको छ ।
किराबाट जोगाउन तरकारी बालीमा विषादी छर्कन्छन् । तर, विषादीले पनि काम गर्न छाडेको उनको अनुभव छ । ‘उ त्यो भण्टाको बोट हेर्नुु्स् त्यस्तो अवस्थ छ’ उनले खेतमा लगाएका विभिन्न तरकारीमध्ये आइलाएको भण्टाको बोट देखाउँदै भने, ‘धेरै थरि विषादी छरिसके । तर किरा हटाउनै सकेको छैन । विषादीले पनि किरा चिन्न छाडेको जस्तो लाग्न थाल्यो ।’
यादवसँग ७ बीघा जमीन छ । ३ बीघामा तरकारी खेती गर्दै आएका छन् । अहिले उनको ३ बीघा जमीनमा भण्टा, खुर्सानी र लहरे फर्सी, लौका, घिरौँला, करेला, बोडी लगायतका तरकारी बाली लगाएका छन् ।
यसअघि उको ७ बीघा जमीनमै मूख्य खाद्यान्न बाली फल्दै आएको थियो । खाद्यान्नका लागि मौसम अनुकल नभएको नगद समेत जुटाउने उद्देश्यले करीब एक दशक अघि ३ बीघामा नगदेबाली सुर्ती र उखुको खेती पनि गरे । तर, सोचेजस्तो प्रतिफल नगदेबालीबाट पनि नपाएको उनी बताउँछन् । ‘धान गहुँ, मकै लगायतका अन्नबाली हुँदै नगदेबाली सुर्ति उखु खेती पनि भोगिसकेर अहिले तरकारी बालीमा हात हालेको छु’ उनले भने ।
तर, अहिले तरकारी बालीमा किराको अत्यधि प्रकोप देखिएपनि दिक्क लागेको उनको भनाइ छ । ‘किरा निर्मूल पार्ने भनेर धेरै किसिमको औषधि हालिसके । ‘पूर्णरुपमा किरा हटाउनै सकिएको छैन’ उनले भने, ‘मलाई सल्लाह दिने पनि कोही भएनन् । जेटी, जेटिए (कृषि प्राविधिक) पनि भेटिँदैनन् ।’
सोही ठाउँका स्थानीय उनी विगत १५/२० वर्षयता तरकारी बाली लगायतका कृषिबालीमा व्यापक दुख भोग्नु परेको बताउँछन् । विगतमा अहिलेको जस्तो रोग नलाग्ने र बाढी तथा असिनापानीले पनि त्यति धेरै प्रभाव नपार्ने उनको भनाइ छ ।
उनको जस्तै अनुभव छ भङ्गाहा नगरपालिका–४ का ६० वर्षीय सत्यनारायण यादवको पनि ।
मौसमले साथ नदिँदा वर्षेनी खेती बदल्नुपरेको उनी बताउँछन् । उनले पनि मूख्य खाद्यान्न बाली, नगदेबाली हुँदै पनिछल्लो समय तरकारी खेतीमा चित्त बुझाउनु परेको छ । तर तरकारी बालीमा किराको अत्यधिक प्रकोपले सोचेजस्तो प्रतिफल नपाइएको उनको भनाइ छ ।
किसानले भोगिरहेका यस्त समस्या विश्वव्यापी समस्या भएको जानकारहरू बताउँछन् ।
महीना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी पछिल्लो समय मिल्न छाडेको वातावरण क्षेत्रका जानकार एवंम सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव बताउँछन् । ‘विश्वव्यापी जलवायु परिवर्तनका कारणले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप लगायतका परिवर्तन देखिन्छ’ उनी भन्छन् , ‘तरकारी किसानले मौसममा परेको प्रभावअनुसार आफूलाई ढाल्दै जानुको तत्काल विकल्प छैन ।’
जलवायु परिवर्तनको विश्वव्यापी असरले गरिब बस्ती साधन, स्रोतको अभावमा बढी प्रभावित बनेका उनको भनाइ छ ।
राज्यले समय र मौसम अनुसार किसानका लागि सेवा सुविधा बढाएर अनुकूलन खेतीतर्फ लैजा प्रोत्सहन गर्नुपर्ने उनको सुझाव छ । रासस