वैशाख १२, रौतहट । यसअघि बैंकमा खाता खोलेर बैंकिङ्ग कारोबार गर्दै आएका चन्द्रपुर नगरपालिका - ४ का युवा विकास सुवेदीलाई शेयरबजार सम्वन्धी खासै जानकारी थिएन ।
तर उनका साथीले भने शेयरबजारमा दिएको चासोले उनको पनि ध्यान यसैमा गयो । साथीहरु कै सल्लाहमा उनले बैंकमा गएर डिम्याट खाता र मेरो शेयरको फारम भरे । त्यसपछि बिस्तारै उनले शेयर कारोबार अर्थात् विभिन्न कम्पनीले निष्कासन गर्ने गरेको आईपीओ भर्न थाले ।
चन्द्रपुर नगरपालिकामा विकास जस्तै धेरै युवाहरुले पछिल्लो समयमा शेयर मार्केटका बारेमा चासो दिन थालेका छन् । आजभोलि कर्मचारी तथा गृहिणी मात्र होइन, विद्यालय तह उत्तिर्ण गरी कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि शेयर कारोबारमा ध्यान दिने गरेका छन् ।
यसक्षेत्रमा शेयरबजारमा स्थानीयको चासो बढ्दै गएको छ भने आईपीओ भर्नेको संख्या पनि लगातार बढ्दै गएको पाइएको छ । मुनलाईट एकेडेमी चन्द्रपुरका प्रिन्सिपल श्याम किशोर चौधरीले कक्षा ११ र १२ मा अध्ययनरत अधिंकाश विद्यार्थीले शेयर बजारमा चासो लिने र आईपीओ भर्ने गरेको बताए ।
‘कलेजमा पनि शेयरका बारेमा अध्ययन हुन्छ’, उनले भने, ‘बैंकका कर्मचारी आएर बेला बेलामा सिकाउने पनि गरेका छन् ।’
अध्ययनमा पनि यसले महत्व दिने भएकाले उनीहरुलाई आवश्यक सहयोग तथा सल्लाह दिने गरेको उनको भनाइ छ । कलेजमा अध्ययनरत विद्यार्थीले अभिभावकलाई पनि बुझाउने र आईपीओे भर्न प्रेरित गर्ने गरेको प्रिन्सिपल चौधरीले बताए ।
छोराछोरी कै सल्लाहमा बैंकमा डिम्याट खाता खोलेर आईपीओ भर्न थालेको स्थानीय अभिभावक अशोक कोइरालाले बताए । यस बारेमा खासै थाहा थिएन् उनले भने, ‘छोराछोरीले बताएपछि भर्न थालें ।’
‘अनलाईनबाट सजिलैसँग आईपीओ भर्न सकिने रहेछ’, उनले भने । चन्द्रपुर नगरभित्र रहेका अधिंकाश कलेजका विद्यार्थी र उनीहरुका अभिभावकले आईपीओ भर्ने गरेका छन् । चन्द्रपुरमा रहेको एनआईसी एशिया बैंक शाखाबाट दैनिक सरदरमा ४/ ५ जनाले डिम्याट खाता खोल्ने गरेको बैकका इन्चार्ज नेहा देवले बताइन् ।
अनलाईनबाट सजिलैसँग डिम्याट खाता खोल्न सकिने भएपछि धेरैले यस सुविधाको प्रयोग गरेको उनको भनाइ छ ।