ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाटले हटायो तरकारी बजारको समस्या

२०७९ बैशाख, १४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

रौतहट (अस) । तरकारी खेती गर्दै आएका चन्द्रनिगाहपुर–४ का किसान भवनाथ तिमल्सिनालाई अहिले बजारको समस्या छैन । साताको दुई दिन अर्थात् सोमवार र शुक्रवार चन्द्रनिगाहपुरमा हाटबजार लाग्ने गरेपछि उनले झेल्दै आएको बजारको समस्या हटेको हो । खेतमा उत्पादित तरकारी आफ्नो साधनमा राखेर उनले हाटबजारसम्म पुर्‍याउँछन् । उनले जस्तै चन्द्रपुर–४ कप्तान टोलमा अधिकांशले तरकारी खेती गरिरहेका छन् ।

अधिकांशको तरकारी हाटबजारमा नै खपत हुने गरेकाले बजारको खासै समस्या झेल्नु परेको छैन । ‘गाउँमा नै उत्पादित तरकारी भएकाले चन्द्रनिगाहपुर हाटबजारमा नै खपत हुन्छ’ उनले भने । घर नजिकैको खेतमा मौसमी वा बेमौसमी तरकारी खेती गरेर कप्तान टोलका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।

तरकारी खेतीका लागि मलको समस्या पनि यहाँका किसानले भोग्नु परेको छैन । गाईभैंसी पाल्दै आएका यहाँका अधिकांश कृषकले प्राङ्गारिक मल (गोबर) को नै प्रयोग गरेर खेती गर्दै आएका छन् । गाउँघरमा नै उत्पादित तरकारीमा रासायनिक मल वा विषादीको प्रयोग नहुने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको चन्द्रनिगाहपुरका शिक्षक गोपाल दाहाल बताउँछन् ।

हाटबजारमा तरकारी लैजानेबित्तिकै उपभोक्ताले किन्ने गरेको उनको भनाइ छ । तरकारीको स्वाद नै फरक हुने र असर पनि नगर्ने भएपछि गाउँकै तरकारी उपभोक्ताको रोजाइमा पर्ने गरेको कप्तान टोलका कृषकहरू बताउँछन् । कप्तान टोलको मुख्य आयस्रोत नै तरकारी उत्पादन हो । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि शृंगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउँमै लाग्ने साप्ताहिक हाटबजारमा पाइन्छ ।

गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै चन्द्रपुर नगरपालिकाको ग्रामीण क्षेत्रमा पनि हाटबजार लाग्ने गरेको छ । अहिले चन्द्रपुर नगरपालिका अन्तर्गत गैंडाटार, जुडिबेला, पौराई, चेतनगर, डुमरिया, बालचनपुरमा पनि हाटबजार लाग्ने गरेको छ । कृषिजन्य उत्पादन विक्रीका लागि अब बजारको खोजी गर्दै बाहिर जानुपर्ने अवस्था नरहेको चन्द्रपुर नगरपालिकाका अधिकारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)