ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुलाकीको सप्तरी–सर्लाही खण्डमा १७२ किमी कालोपत्र

२०७९ बैशाख, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जनकपुर । हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करीब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । सप्तरीको सदरमुकाम राजविराजदेखि सर्लाहीको मलंगवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किमी सडकमा कालोपत्र सकिएको बताएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करीब २३३ किलोमिटर सडकमध्ये हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलोमिटर सडकमा पनि तीव्र रूपमा काम भइरहेको बताएको छ । जनकपुरधामस्थित कदम चोकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी आठ किलोमिटर पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

यस्तै सप्तरी र सिरहाको सीमा छुट्ट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको छ । बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्र कालोपत्र सकिने प्रमुख महतोले बताए । सो सडक निर्माणको ठेक्का लिएको स्वच्छन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिनेगरी काम तीव्र रूपमा भइरहेको बताएको छ ।

दुई लेनको उक्त सडक कालोपत्र गर्न १ अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेकदार कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिए । धनुषा र सिरहा खण्डमा निर्माणले गति लिए पनि सर्लाही खण्डमा भन्ने भर्खरै मात्र काम शुरू भएको छ ।

सर्लाहीको शीतलपुर–मलङ्गवा खरैया टोलसम्मको सडक निर्माणका काम शुरूमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो । करीब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको प्रमुख महतोले जानकारी दिए ।

चालू आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँ ठाउँमा जग्गासम्बन्धी विवाद, कोभिड–१९ महामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको केही पछि धकेलिएको उनको भनाइ छ ।

यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहा– सर्लाही सडक खण्डमा निर्माणाधीन ९ ओटा पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामले बताएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब २१ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्र्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)