पछिल्लो समय व्यावसायिक वातावरण एवं उद्यमशीलताको माहोल बढ्दै गर्दा यस क्षेत्रमा आउनेहरूलाई सहज भएको छ । त्यसमा महिला उद्यमीको समेत उत्साहजनक उपस्थिति देखिन्छ । तर केही दशक अघिसम्म महिलालाई उद्यम व्यवसायमा आउन सहज थिएन । त्यही असजहताकै बीच यस क्षेत्रमा आउने महिला उद्यमीको परिचय भने यतिबेला निकै फराकिलो बनेको छ । म्यागी शाह तिनै महिला उद्यमीको प्रतिनिधि हुन्, जसले साढे ३ दशक अघिदेखि नेपालमा व्यावसायिक जगतमा ठूलो योगदान पुर्याएकी छिन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, नेपाली महिला उद्यमीको अवस्थालगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :
तपाईं कसरी नेपाल आउनुभयो ? कसरी व्यवसायमा लाग्नुभयो ? अलिकति पृष्ठभूमि बताइदिनुहोस् न ।
महिलाको विकासका लागि मौकामा बोल्न, हेर्न र गर्न पाउनुपर्छ भन्नेमा म शुरूदेखि नै लागिरहेको छु । म अमेरिकनको छोरी यहाँ नेपालको बुहारी भएर आएको छु । म पनि एउटा ठूलो परिवारकी छोरी हुँ । अमेरिकामा पढ्दै गर्दा विजय शाहजीसँग मेरो भेट भयो । त्यसपछि नेपाल आएर सन् १९७० मा हामीले बिहे गर्यौं । मेरो ससुरा पहिलेदेखि नै आफ्नो डिस्टिलरी व्यापारमा लाग्नुभएको थियो । अनि विजयबाबुले पनि नयाँ मशिन ल्याएर सन् १९७० मा जाउलाखेल डिस्टिलरी शुरू गर्नुभएको हो ।
त्यो बेला हाम्रा महिला दिदीबहिनी व्यापारमा लागेर अगाडि बढ्ने समय थिएन । मैले अरू महिला साथीहरूलाई भेटेर, हामी महिला उद्यमीहरू मिलेर गएमा राम्रो हुन्छ भनेर संगठन शुरू गर्यौं । एकजना इन्जिनीयर याङजी शेर्पा हुनुहुन्थ्यो । पटनाबाट पढेर नेपाल आएर उहाँले झोलुंगे पुल निर्माण गरिरहनुभएको थियो । उहाँको सहयोगमा सन् १९८७ मा हामीले महिला उद्यमी संघ शुरू गरेका हौं । त्यहाँ कोही बुटिकको काम गर्थे, कोही इन्जिनीयर थिए, म पनि पारिवारिक व्यवसायमा थिएँ । मलाई पनि कृषि व्यवसायमा रुचि जागेर रेशम खेतीमा अगाडि बढेँ ।
नेपाल आएर पनि पढाइलाई निरन्तरता दिनुभयो ?
नेपाल आएर नेपाली पढ्नुपर्यो । अमेरिकामा मैले नर्सिङ पढिरहेको थिएँ । बिजनेश म्यानेजमेन्ट थिएन । तर मेरो दखल म्यानेजमेन्टमै छ ।
नेपालमा कुन - कुन व्यवसायमा कसरी संलग्न हुँदै जानुभयो ?
त्यतिबेला जाउलाखेल डिस्टिलरी जाउलाखेलमै थियो । मेरो श्रीमानमा प्रविधिमा निकै रुचि र यस सम्बन्धी खुवी पनि थियो । त्यसैले कम्पनी पनि सफल भएको थियो । मैले उहाँलाई व्यवस्थापन र बजारीकरणमा साथ दिएको थिएँ । बजार व्यवस्थापनका लागि म मेचीदेखि महाकालीसम्म नै पुगेँ । समस्याहरू हेरेँ । के कस्तो छ भनेर सबै कुरा त्यतिबेला नै देखेँ ।
अहिले पनि व्यवसायमै सक्रिय हुनुहुन्छ ?
अहिले अफिस दिनहुँ जान्नँ । विजयबाबु चाहिं दिनहुँ जानुहुन्छ । टेक्नोलोजी र ब्लेन्डिङहरूमा उहाँ एकदमै ध्यान दिनुहुन्छ ।
अहिले कम्प्युटर छ, सेल फोन छ । तर त्यसैले गर्दा काम जटिल पनि भयो ।
जहिले जाउलाखेल डिस्टिलरी भन्ने मात्र थियो, ती दिनहरू कसरी सम्झनुहुन्छ ?
त्यो बेला नेपालको अर्थतन्त्र पनि सानो थियो । व्यावसायिक बजार प्रवर्द्धनका लागि मान्छे सजिलै पाइँदैनथ्यो । हाम्रो मार्केटिङमा दुईजना मानिस थिए । र, उनीहरू अर्डर मात्र लिन्थे । अर्डर मात्र लिने काम नै त्यतिबेलाको मार्केटिङ थियो । अहिले १०० जना छन् । शीप भएको मान्छे राख्नुपर्यो । ब्राण्डको शीप, सेल्सको शीप भएको प्रोफेशनल मानिस राखिएको छ ।
व्यवसाय गर्न पहिले सजिलो थियो कि अहिले ?
त्यतिबेला कम्प्युटर पनि थिएन । अहिले कम्प्युटर छ, सेल फोन छ । तर त्यसैले गर्दा काम जटिल पनि भयो । व्यवसायमा धेरै जानकारीे आइरहन्छन् । त्यसबेला आफै अध्ययन गरेर जवाफ दिन सक्ने हुनुपथ्र्याे । तर अहिले प्रोफेशनल मान्छे भएकाले मैले जवाफ दिनु परेन ।
जो आँट गर्ने महिला हुनुहुन्छ, उहाँहरूलाई घरबाट साथ/ सहयोग चाहियो ।
तपाईं आफैले मूल्यांकन गर्नुपर्यो भने कत्तिको सफल वा असफल भए जस्तो लाग्छ ?
त्यो बेला हामी सफल भएकै हो । म गर्वका साथ भन्न सक्छु– हामी नम्बर १ नै थियौं । अहिले पनि म भन्छु हामी नम्बर १ नै हौं । सबैजना परिवार लागेर आआफूले केही न केही जिम्मा लिएर हेरचाह गरिएको छ । त्यो बेला सरल थियो, अहिले जटिल भएको छ । तर रमाइलो पनि छ ।
अहिले तपाईंको यो व्यवसाय पारिवारिक रहेन, पब्लिक लिमिटेड कम्पनी भइसक्यो । अब परिवारले भन्दा प्रोफेशनलले हेर्नेमा गइसक्यो । त्यो हिसाबले पनि तपाईं आफूलाई धेरै सफल मान्नुहुन्छ नि, होइन ?
सफल मान्नुपर्यो नि, होइन र ? हामीहरू सबै मिलेर सफल भएका हौं । छोराको जमानामा आएर उनकै नेतृत्वमा पब्लिक कम्पनीमा गएका हौं । हामी अझै केही थप पनि गर्ने कि भनेर सोच्दै छौं । किनभने इन्भेस्टमेन्ट हाम्रो व्यक्तिगत परिवारलाई भारी भयो । हाम्रो हिमालयन डिस्टिलरी त राम्रै गरिरहेको छ । शेयर बजारमा आफ्नो स्थान लिइरहेको छ । अब विश्वस्तरमा हाम्रो नेपाल आउनु पर्यो ।
नेपालमा रुस्लान भोड्का भनेको भोड्काको ‘जेनेरिक नेम’ नै भयो । तर बियरमा चाहिं भास्र्टाइनर जस्तो जर्मन ब्रान्डले पनि त्यति राम्रो गर्न सकेन । किन होला ?
त्यो त स्पष्टै छ । हाम्रो नेपालको उपभोक्तालाई बढी अल्कोहल भएकोे बियर चाहिन्छ । तर भास्र्टाइनर त स्याम्पेन बियर हो । यसमा ४ दशमलव ५ प्रतिशत मात्र अल्कोहल छ । यहाँका उपभोक्तालाई किक चाहिन्छ । किक हुन ७–८ प्रतिशत अल्कोहल चाहिन्छ । पारखीहरूले त भास्र्टाइनर नै खोजेरै खान्छन् । अहिले हाम्रो बडवाइजर बियर पनि आइसकेको छ । बडवाइजर पनि ८ प्रतिशत किकवाला त होइन । तर यसले चाहिं राम्रो गरिरहेको छ । त्यसैले हामीले उपभोक्ताको रुचि अनुसारको ८ प्रतिशत अल्कोहलवाला अरू बियर पनि ल्याएका छौं । सबैभन्दा गाह्रो काम नै उपभोक्ताको चित्त बुझाउनु हो ।
अमेरिकामा महिलालाई विश्वास गर्छन्, यहाँ विश्वास नै गर्दैनन् ।
जाउलाखेल ग्रूप अफ इन्डस्ट्रिजको फेमिली बिजनेशलाई पब्लिक कम्पनीमा कसरी रूपान्तरण गर्नुभयोे ? कस्तो कस्तो समस्या आयो ? त्यसबारे अलिकति बताइदिनुस् न ?
कङ्लोमरेटसम्म पुग्न एउटा त आफ्नो समय अनुसारकोे वृद्धि/ विकास नै कारण हो । अहिले हाम्रा बोटलिङ हाउसहरू, एसियन डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, विजय डिस्टिलरी र हिमालयन डिस्टिलरी छन् । विभिन्न समस्या भएकाले अर्को कम्पनी खोल्दै जानुपर्यो । विभिन्न ठाउँ - ठाउँमा प्रडक्सन पनि गर्नुपर्यो । यो सबै व्यावसायिक सन्तुलनका लागि गरियो । २/ ४ ठाउँमा प्रडक्सन भइराख्यो भने जनशक्ति, आपूर्ति आदिमा सन्तुलन राख्न सजिलोे हुन्छ । नेपालको व्यावसायिक वातावरण, श्रम सम्बन्ध धेरै राम्रो छैन । त्यही भएर हामीले ठाउँठाउँमा प्रडक्सन युनिट राख्यौं र अघि बढ्न सफल भयौं । समय समयमा प्रविधि परिवर्तन हुन्छ, अनि नयाँ कुरा गर्नुपर्ने हुन्छ । त्यो पनि गर्दै गएर हामी यसमा सफल भयौं ।
नेपालका महिला उद्यमी र अमेरिकाका महिला उद्यमीबीच तुलना गर्नुपर्यो भने कसरी गर्नुहुन्छ ?
त्यहाँका महिलालाई शुरूदेखि नै ‘जा, गएर काम गर’ भनिन्छ, नेपालमा त त्यस्तो हुँदैन । तपाईंहरू दिदीबहिनीलाई ‘जा जा भन्नुहुन्न’ भने नजा भन्नु बराबर हो । यहाँ जो आँट गर्ने महिला हुनुहुन्छ, उहाँहरूलाई घरबाट साथ/सहयोग चाहियो । मैले धरैजनाले राम्रो गरेको देखेको छु । बुवाले छोरीलाई काम गर्न पठाएको देखेको छु, श्रीमानले पनि साथ दिएको देखेको छु । अर्कोतिर, साथ नदिएको पनि देखेको छु ।
अमेरिकामा चाहिँ ‘स्मल बिजनेश इज द ब्याक बोन अफ द इकोनोमी’ भन्ने मान्यता छ । महिलाहरू थुप्रै बिजनेशमा लागिरहेका छन्, सफल पनि भइरहेका छन् । त्यहाँका महिलाका लागि वित्तीय सहयोगका लागि बैंक कर्जा अझै सजिलो छ । अमेरिकामा महिलालाई विश्वास गर्छन्, यहाँ विश्वास नै गर्दैनन् ।
महिलाहरू फुड प्रडक्टमा सफल भइरहेका छन् ।
भनेपछि यहाँका महिला उद्यमीलाई बैंक, समुदायले त्यति विश्वास गरिसकेका छैनन् ?
विस्तारै गर्दै छन् । आजभोलि छोरा मान्छेले पनि कति ठाउँमा व्यवसायमा दुःख पाइरहेका छन् । पैसा लिएर भाग्ने प्रवृत्ति पनि देखिन्छ । महिलाहरू त्यस्तो गर्दैनन् काम गर्छन् । योजना बनाएर भाग्दैनन् । महिलाले सकेसम्म ठगठाग गर्दैनन् ।
तपाईं व्यवसायमा आएको पनि ३०–४० वर्ष त भयो होला । यो यात्रामा नेपाली महिला उद्यमीको स्थिति पहिले र अहिले कस्तो देख्नुहुन्छ ?
अहिले धेरै जना आइरहेका छन् । सानो स्तरबाट शुरू गरेको छ । अर्को, ठूलो स्तरबाट पनि शुरू गर्दै आएका छन् । ट्राभल, टुरिजममा पनि छ, हस्तकलाका व्यवसायमा पनि धेरै छन् । त्यसबाट सफल पनि भइरहेको देखिन्छ । बुटिक, रेडिमेड प्रडक्टहरूमा आइरहेका छन् । महिला उद्यमी मार्केटिङ कोअपरेटिभमा चाहिँ महिलाहरू फुड प्रडक्टमा सफल भइरहेका छन् ।
काम गरिरहेका महिला उद्यमी अथवा उद्यम गर्न चाहने महिलाका लागि के सुझाव दिन चाहनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा आट गर्न सक्नुपर्यो । बरु गल्ती नै गरौं, तर गल्तीबाट सिकौं । त्यही ठूलो कुरा हो । अनि सहयोग लिनुस् न, सहयोग लिनुपर्यो, खोज्नुपर्यो । अहिले त महिलालाई अगाडि बढाउन धेरै संगठनहरू पनि छन् । गर्न खोज्नेले गर्न सक्छ, सहयोग पाउने जमाना आइसकेको छ । अहिले हेर्नुस् न उच्च शिक्षामा पनि धेरै महिला छन् । मेरो उमेरका महिलाले पनि काम गरेर, सफल भएर अर्को पुस्तालाई हस्तान्तरण गरिसक्नु भएको छ ।
सबैभन्दा ठूलो कुरा आँट गर्न सक्नुपर्यो । बरु गल्ती नै गरौं, तर गल्तीबाट सिकौं ।
महिलाले पुरुषको तुलनामा बैंकबाट कर्जा नै नपत्याउने समस्या भोगेको पाइन्छ । राष्ट्र बैंकले विनाधितोे १५ लाखसम्म ऋण दिने भनेको छ । तर त्यो लिन पनि उहाँहरूलाई ‘महाभारत’ छ । यस्तो स्थितिमा पहिलेभन्दा परिवर्तन आएको छ कि छैन ?
म त परिवर्तन भयो भन्छु । अस्तिमात्र फेयर ट्रेड ग्रुपको कार्यक्रममा गएको थिएँ । त्यहाँ एकजना वयस्क उद्यमी हुनुहुन्थ्यो । उहाँले हामी बुढीहरूलाई देखेर तिमीहरूको जमानामा विस्तारित परिवारबाट फुत्केर आउनुपर्ने थियो रे, कसरी आयौ ? कति गाह्रो भयो ? भनेर सोध्नुभयो । म सानो परिवारकोे मान्छे, मलाई कति गाह्रो भयो, छोरालाई लिएर हिँड्नुपर्यो, मैले कारको पछाडिको सिटमा छोरालाई सुताएर हिँड्नुपर्यो भन्नुभयो । हामीले के जवाफ दियौं भने, सानो परिवार नहुँदा बच्चा हजुरआमासँग छोडेर निस्कन पायौं ।
तपाईंको बुझाइमा महिला उद्यमीका समस्या के - के हुन् ?
समस्या त त्यही हो, कर्जामा विश्वास नै गरिँदैन । अहिलेका महिलालाई अगाडि बढ्न नेटवर्क चाहिन्छ, ज्ञान लिने ठाउँ चाहियो । जमानामा हामी पनि भारतमा कति घुमेर महिला उद्यमीको काम हेर्यौं । मैले रेशमको काम गर्दा कर्नाटक गएर धेरै कुरा सिकेँ । सिक्ने मौका पाइन्छ, मलाई विश्वास छ । अहिले भारतभन्दा अझ बाहिर जान सकिन्छ । सिक्नका लागि यूरोप पनि छ । अनि एनजीओ र फेयर ट्रेड गु्रपबाट पनि धेरै नेटवर्किङ भइरहेको छ ।
अहिलेका महिलालाई अगाडि बढ्न नेटवर्क चाहिन्छ ।
तपाईंले सामाजिक काममा पनि आफूलाई निकै व्यस्त राख्नुभएको छ । धेरै उदार भएर सहयोग गरिरहनुभएको हामीले सुनेका छौं । तपाईंले अहिलेसम्म गरेको सामाजिक काममा के कस्ता सफलता हात पार्नुभयो ?
सबैभन्दा पहिला त महिला उद्यमी संघ नै छ । त्यसमा म संस्थापनादेखि नै सदस्य छु । त्यो हुँदाहुँदै म अर्को संगठन टेवामा पनि छु । नेपाली जनताबाट फन्ड उठाएर दुर्गम क्षेत्रको महिलाका लागि हामीले टेवाबाट अनुदान दिइरहेका छौं । उहाँहरूलाई एउटा अफिस शुरू गर्न लेखाको तालीम दिने, मिटिङ चलाउन तालिम दिने काम टेवाले गरिरहेको छ । म मानसिक स्वास्थ्य सम्बन्धी काम गर्ने संस्था आशा दीप भन्नेमा पनि लागिरहेको छु । त्यसमा पनि म संस्थापक सदस्य नै हुँ । मानसिक स्वास्थ्य सबैका लागि जरुरी छ । ‘नो हेल्थ विदाउट मेन्टल हेल्थ’ भन्ने विश्व स्वास्थ्य संगठनको नारा पनि छ । अहिलेका युवाहरूमा पनि मानसिक स्वास्थ्यको समस्या देखिरहेका छौं । मनमा शान्ति छैन भने हामी अरू काम नै गर्न सक्दैनौं । त्यसैले यस विषयमा पनि मैले एकदमै लागेर प्रयास गरिरहेको छु । तर म अहिले अवकाश हुन खोजिरहेको छु, आफू अध्यक्ष भएको ठाउँमा अहिले सदस्य मात्र भएर बसिरहेको छु । अहिलेको जमानामा युवाहरू उठेर आफ्ना नयाँ कार्यक्रम ल्याउनुपर्छ । अगाडि बढ्नुपर्छ ।
तपाईंले गरेका सामाजिक काम अथवा महिला उद्यमशीलताको बारेमा भन्नुपर्ने थप केही छ कि ?
अन्त्यमा म के भन्छु भने आँट गर्नुपर्छ । सबभन्दा ठूलो कुरा नै आँट हो । गल्तीबाट हट्नु हुँदैन, गल्ती त हुन्छ नै । गल्ती एउटा मौका हो । त्यही सम्झनुपर्यो । अनि आँट गरेर अगाडि बढ्यो भने आफू, आफ्नो परिवार र आफ्नो समाजलाई अगाडि बढाउन सकिन्छ । युवाहरू मिलेर आउनुपर्छ । नयाँ तरिकाहरू, आफ्नो टेक्नोलोजी, आफ्नो लगानी गरेर अगाडि बढ्नुपर्छ ।
(जाउलाखेल ग्रूप अफ इन्ड्रस्ट्रिजकी निर्देशक रहेकी उनी हालै स्ट्याण्डर्ड चार्टर्ड न्युबिज बिजनेश वुमन समिट एन्ड अवार्डस २०२२ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी थिइन् ।)
(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)