रौतहत । शुक्रवार साँझ आएको हावाहुरीका कारण अवरुद्ध रौतहटको बौद्धीमाई नगरपालिकाको विद्युत् सेवा सुचारु भएको छ । स्थानीयको सहयोगमा विद्युत् उपकरण मर्मत गरेपछि ३ दिनपछि विद्युत सेवा पुनः सञ्चालनमा आएको विद्युत् प्राधिकरण मौलापुर सबस्टेशनले जानकारी दिएको छ । शुक्रवार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा बिजुलीका पोल र तारमा क्षति पुर्याएका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो ।
विद्युत् अवरुद्ध हुँदा यहाँका एफएम रेडियो, अनलाइन, कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको थियो । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्न समेत समस्या भएको बौद्धीमाई नगरपालिका–९ का ब्रीजभूषण मिश्राले गुनासो गरे । बिजुली अभावमा पंखा नचल्दा साना बालबालिकाले कष्ट भोग्नुपरेको थियो,’ उनले भने, ‘उखरमाउलो गर्मी सहन नसकेका बालबालिकालाई रात बिताउनै हम्मेहम्मे पर्यो ।’
बिजुलीमै निर्भर परिवारले खानपिन तथा नुहाउन पानीको समस्या झेल्नु परेको उनको भनाइ थियो । बौद्धीमाई नगरपालिका–८ का रोहित साहले विद्युत् नहुँदा लाखौं रुपैयाँको नोक्सान बेहोर्नुपरेको बताए । ‘यहाँका पेट्रोल पम्प, मिठाई पसल, फ्रिजलगायतमा विद्युत् अभावले धेरै समस्या देखिएको थियो,’ उनले भने । विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सञ्चालन भएकाले काममा सहज भएको स्थानीयको भनाइ छ । रासस