रौतहट (अस) । स्थानीय तहको आसन्न निर्वाचनमा रौतहटका ८३ मतदानस्थल ‘अतिसंवेदनशील’ रहेको पाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न मापदण्डका आधारमा मतदानस्थलको संवेदनशीलता छुट्याएको हो । समितिका अनुसार भारतसँग सीमा जोडिएका, भौगोलिक हिसाबले विकट, यातायातको असुविधा र चुरेसँग जोडिएको स्थानलाई अतिसंवेदनशील मतदान स्थलको रूपमा वर्गीकरण गरिएको हो ।
भारतसँग सीमा जोडिएका स्थानीय तहमा राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई रहेका छन् । त्यस्तै चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकाका ८३ ओटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले २०६४ सालदेखि नै अतिसंवेदनशीलको सूचीमा रहेका १२१ मतदान स्थललाई परिमार्जन गरिएको बताए । अतिसंवेदनशील मतदानस्थलको संख्या घटेर ८३ मा झरेको उनले जानकारी दिए ।