रौतहट (अस) । आसन्न स्थानीय तहको निर्वाचनमा बैंक तथा लघुवित्त कर्मचारी पनि खटिएका छन् । निजामती तथा शिक्षण संस्थासँग आबद्ध कर्मचारी निर्वाचनमा खटिएका बेला बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि परिचालन भएका हुन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई जिल्ला निर्वाचन कार्यालय, रौतहटले मतदानमा खटाएको हो ।
कर्मचारी निर्वाचनमा खटिएपछि वित्तीय क्षेत्रको सेवा प्रवाह प्रभावित भएको छ । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई शुक्रवार दिइएको तालीममा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी पुगेपछि बैंकमा पुगेका सेवाग्राही मार्कामा परेका हुन् । बैंकका कर्मचारी तालीममा गएकाले शुक्रवार कारोबार नै प्रभावित भएको सेवाग्राहीको गुनासो छ । निजीक्षेत्रका अन्य बैंक भने शुक्रवार खुला थिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी छोटेलाल दासले कार्यालयमा बाधा नहुने गरी कर्मचारी खटाइएको दाबी गरे । कार्यालयमा बाधा पुग्ने अवस्था आएमा तुरुन्त खबर गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भनिएको उनले बताए । बैंक तथा लघुवित्तका कर्मचारीलाई थोरै संख्यामा खटाइएको उनको भनाइ छ । उनका अनुसार यसअघिको निर्वाचनमा पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारी खटाउने गरिएको थियो ।