ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यापारमा ‘आयात ब्राण्ड’ दिन निजीक्षेत्रको माग

२०७९ जेठ, २  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । व्यापारलाई प्रतिस्पर्धी बनाउन आयातकर्तालाई ‘आयात ब्राण्ड’ दिइनुपर्ने माग निजीक्षेत्रले गरेको छ ।

विदेशबाट मालसामान ल्याएर स्थानीय बजारमा विक्रीवितरण गर्नेलाई ब्राण्ड उपलब्ध गराएमा व्यवसायको विश्वसनीयता बढ्ने दाबी आयातकर्ताको छ ।अहिले बजारमा कतिपय आयातकर्ताले उस्तै वस्तु आयात गरिरहेको र त्यस्ता वस्तुको गुणस्तरबारे उपभोक्ता अनभिज्ञ रहेको व्यवसायीले बताए ।

आयातकर्तालाई ब्राण्ड प्रयोगको कानूनी मान्यता दिएमा ब्राण्डको विश्वसनीयताका आधारमा उपभोक्ता सचेत हुने नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले बताए । यसबाट उपभोक्ताका लागि गुणस्तरको प्रत्याभूति र व्यापारमा स्वस्थ प्रतिस्पर्धाको आधार निर्माण हुने अध्यक्ष लाठको भनाइ छ । 

‘गुणस्तरीय मालसामान पाउनुपर्ने उपभोक्ताको हक संरक्षण र एकै खालका वस्तुको मूल्यमा अस्वस्थ प्रतिस्पर्धाको समस्या समाधानका लागि यो उपाय उपयुक्त हुन सक्दछ । हामीले यसबारे सरकारको ध्यानाकर्षण गराइसकेका छौं,’ लाठले भने । 

अहिले स्वदेशी उद्योगहरूले मात्र आफ्नो ब्राण्ड प्रयोगको अनुमति पाएकोमा अब व्यापारमा पनि यस्तो अनुमति दिइनुपर्ने माग व्यापारीको छ । आयातकर्तालाई आयात ब्राण्ड प्रयोगको कानूनी व्यवस्था मिलाउन महासंघले सरकारलाई आग्रह गरेको छ । 

सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेटमार्फत यसमा नीतिगत व्यवस्था मिलाउने अपेक्षा निजीक्षेत्रले लिएको पनि उनले बताए । अहिले बजारमा एकै खालका वस्तुको गुणस्तरभन्दा पनि कम मूल्यमा मालसामान बेच्ने प्रतिस्पर्धा देखिएकोमा आयात ब्राण्ड दिएमा त्यस्तो मालसामान कसले बजारमा ल्याएको छ भन्नेमा उपभोक्ता सहजै जानकार हुने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको तर्क छ । 

आयात ब्राण्डको विश्वसनीयताका आधारमा गुणस्तरीय वस्तु तथा सेवा उपभोगको अधिकार सुरक्षित हुने दाबी पनि राजपालले गरे । मूल्यमा प्रतिस्पर्धाका कारण केही आयातकर्ताले न्यून बिजकीकरणको गलत बाटो अपनाएको आयातकर्ता नै बताउँछन् ।

सरकारले आयात ब्राण्ड दिएमा मूल्यको सट्टा ब्राण्डको विश्वसनीयतामा प्रतिस्पर्धा हुने र यसबाट न्यून बिजकीकरणको समस्या समाधान भएर सरकारी राजस्व समेत बढ्ने आयातकर्ता बताउँछन् ।

बजारमा केही बहुराष्ट्रिय कम्पनीका ब्राण्डेड मालसामान बाहेक अन्य एउटै प्रकृतिका मालसामानको गुणस्तर थाहा पाउन आम उपभोक्तालाई कठिनाइ भइरहेको व्यवसायीले बताए । ‘यस्तोमा आयातकर्ताको ध्यान मालसामानको गुणस्तरको सट्टा आकर्षक प्याकिङ र सस्तो मूल्यमा केन्द्रित हुन्छ,’ अध्यक्ष लाठ भन्छन्, ‘जति सस्तोमा बेच्न सकियो, त्यति नै विक्री पनि बढ्ने भएकाले आयातकर्ताले न्यून बिजकीकरणको बाटो अपनाएको पाइएको छ ।’ 

व्यापारमा ब्राण्डको मान्यताले सस्तोमा मालसामान भित्रर्‍याउनकै लागि न्यून बिजकीरण र बिलभन्दा बढी रकम भुक्तानीका लागि हुण्डीजस्तो गैरकानूनी काम दुवै स्वत: नियन्त्रण हुने दाबी उनीहरूको छ ।

आयातमा ब्राण्डको व्यवस्थाले असल काम गर्न चाहने आयातकर्ताले मूल्यभन्दा ब्राण्डको विश्वसनीयता र गुणस्तरको प्रतिस्पर्धामा ध्यान दिने आयातकर्ता बताउँछन् । आयातकर्ताले आफ्नो ब्राण्डको प्रचारप्रसार गरेर उपभोक्ताको विश्वास जित्नुका साथै यसबाट उपभोक्तालाई ब्राण्डको आधारमा मालसामानको छनोट गर्ने अवसर प्राप्त हुने उपाध्यक्ष राजपाल बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)