जेठ ८, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले हप्ताको शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
सरकारले पेट्रोलियमको खपत घटाउने भन्दै यही जेठ १ गतेदेखि लागू गरेको यो निर्णयले उद्योग व्यापारमा प्रतिकुल असर पारेको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुनै हप्तामा अन्य कुनै दिन बिदा परेका हप्तैभरि सरकारी काम गराउन नसकिने र बैंक तथा वित्तीय संस्थाहरूमा समेत काम हुन नसकेको संघले बताएको छ ।
तहगत सरकारबीच कसले बढी बिदा दिने भन्ने प्रतिस्पर्धाजस्तो देखिएको भन्दै यसबाट समग्र उद्योग, व्यवसाय, शैक्षिक, स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुर्याएको संघका उपाध्यक्ष हरि गौतमले बताए ।
यो निर्णय फिर्ता लिई साविककै हप्तामा एक दिन बिदा र अन्य वार्षिक बिदासमेत वर्षमा १३ दिनभन्दा नबढ्ने गरी व्यवस्था मिलाउन संघले सरकारलाई आग्रह गरेको छ ।