जेठ १९, वीरगञ्ज । विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सरकारले आयातमा कडाइको नीति लिएपछि मुख्य नाका वीरगञ्जमा भित्रिइसकेका गाडीसमेत जाँचपास भएका छैनन् ।
सरकारले एकातिर मूल्य सीमा तोकेर आयात रोकेको छ भने सवारीसाधनमा कर्जा लगानीमा समेत कडाइ गरिएको छ । बैंकहरूले कर्जा लगानी नगर्दा भन्सारमा भित्रिइसकेका गाडीसमेत आयातकर्ताले छुटाएका छैनन् । राजस्व तिर्ने पैसा नभएकाले गाडी नछुटेका हुन् ।
वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सोमवारसम्ममा भन्सार हातामा थन्किएका सवारीसाधनको संख्या १ हजार ३ सय ५७ पुगेको छ । भन्सार परिसरमा सबैभन्दा बढी ट्रकका चेसिस छन् । १ हजार ८ ओटा ट्रकका चेसिस जाँचपास हुन बाँकी रहेको पौडेलले जानकारी दिए । यस्ता साधनको सबैभन्दा ठूलो आयातकर्ता सिप्रदी ट्रेडिङ हो ।
भन्सारमा २८५ ओटा कार, ७ ओटा बस, ७ ओटा जीप र २७ ओटा टेम्पो पनि रोकिएका छन् । बैंकले कर्जा नदिएकाले भन्सारमा आइसकेको सवारीसाधनसमेत जाँचपास गराउन नसकिएको आयातकर्ताले बताउने गरेका छन् । वीरगञ्ज भन्सारमा २५ ओटा ट्र्याक्टर पनि थन्किएका छन् ।
किसानले प्रयोग गर्ने ट्र्याक्टरको समेत माग घटेको आयातकर्ताले बताए । यति बेला ट्र्याक्टरको विक्री १० प्रतिशतमा झरिसकेको व्यवसायी सन्दीप मेहताले बताए । वीरगञ्ज भन्सारमा अड्किएजति नै संख्यामा सीमावर्ती भारतीय रक्सौलमा गाडी रोकिएको आयातकर्ता बताउँछन् ।
वीरगञ्ज भन्सारमा भित्र्याएपछि पार्किङ शुल्क बढी लाग्ने भएकाले आयातकर्ताले रक्सौलमा जग्गा भाडामा लिएर सवारीसाधन उतै राख्ने गरेका छन् । तर, भारतमा वस्तु तथा सेवा कर (जीएसटी) फिर्ताको समयसीमा ९० दिन भएकाले उक्त समयभित्रै नेपाल प्रवेश गराउनुपर्ने बाध्यता आयातकर्तालाई छ ।