ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४४ % बढ्यो वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार,५ खर्ब ७७ अर्बको आयात हुँदा निर्यात ७३ अर्ब

२०७९ जेठ, २८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, वीरगञ्ज । आयातनिर्यात व्यापार परिमाणका आधारमा सबैभन्दा ठूलो भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को १० महीनामा वैदेशिक व्यापार ४४ प्रतिशतले बढेको छ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि वैशाखसम्ममा कुल ६ खर्ब ५० अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा करीब २ खर्ब रुपैयाँले बढी हो । 

आव २०७७/ ७८ को साउनदेखि वैशाखसम्ममा ४ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको भन्सारको तथ्यांकले देखाउँछ । अघिल्लो आवमा कोरोना महामारीका कारण आयात निर्यात र बजार खुम्चिएकाले वैदेशिक व्यापार पनि कम भएको थियो । 

यसवर्ष बजार खुल्दा माग र मूल्य दुवै बढेकाले त्यसको प्रभाव व्यापारमा देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘महामारी मत्थर भएसँगै बजार खुल्दा त्यसअघि खुम्चिएको मागको दबाब बढ्यो । इन्धन र वस्तुको मूल्यमा अन्तरराष्ट्रियस्तरमै भएको वृद्धिले पनि व्यापारको मूल्य बढी देखिएको हो’, प्रमुख भन्सार अधिकृत पौडेलको बुझाइ छ । 

वीरगञ्ज नाकाबाट १० महीनामा ५ खर्ब ७७ अर्ब रुपैयाँको आयात हुँदा निर्यात भने ७३ अर्ब रुपैयाँको मात्रै भएको भन्सारको तथ्यांक छ । तर, यो अघिल्लो आवको सोही अवधिभन्दा ९३ प्रतिशत बढी हो । समीक्षा अवधिमा यो नाकाबाट ३७ अर्ब रुपैयाँका विभिन्न स्वदेशी उत्पादन निकासी भएको थियो ।

यो नाकाको कुल व्यापारबाट मात्रै नेपाललाई ५ खर्ब ३ अर्ब रुपैयाँ व्यापारघाटा भएको भन्सारको तथ्यांकले देखाउँछ । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ३४ प्रतिशत बढी हो । सो अवधिमा यस्तो घाटा ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबर थियो । 

वीरगञ्जबाट मुख्यरुपमा सवारी साधन, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थको आयात हुन्छ । यो नाकाबाट आयात हुने मुख्य २० ओटामध्ये १९ ओटा यस्तै वस्तु पर्दछन् । यो नाकाबाट तयारी कपडा पनि उल्लेख्य परिमाणमा आयात भएको देखिन्छ । तयारी कपडामात्रै साढे ७ अर्ब रुपैयाँको भित्रिएको छ । 

वीरगञ्जबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल, कपडा, धागो, कुकुर वा विरालोको खाना, पिना, गलैंचा र दन्तमन्जन निर्यात भएको भन्सारले बताएको छ । जुत्ता, औषधीका कच्चा पदार्थ, तयारी कपडा, बोरा र झोला पनि निकासी हुँदै आएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)