वीरगञ्ज (अस) । वीरगञ्ज बैंकर्स ग्रुपले वीरगञ्जमा वित्तीय साक्षरता अभिवृद्धिका लागि विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । यस्तो प्रतियोगिता पहिलो पटक आयोजना भएको बैंकर्स ग्रुपले बताएको छ ।
वीरगञ्जमा शुक्रबार भएको प्रतियोगितामा वीरगञ्जकै नेशनल एकेडेमी प्रथम, वीरगञ्ज कलेज द्वितीय र वीरगञ्ज पब्लिक कलेजले तेस्रो स्थान पाएका छन् ।
वीरगञ्ज, सिमरा र कलैयाका स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो । ८ प्रतियोगी समूहको सहभागिता रहेको प्रतियोगितामा वित्तीय साक्षरतासम्बन्धी प्रश्नहरू समावेश गरिएको प्रतियोगिताका संयोजक एभरेष्ट बैंक लिमिटेडका मधेस प्रदेश प्रमुख प्रणय प्रधानले बताए ।
बैंकर्स ग्रुपका संयोजक एवम् लक्ष्मी बैंक लिमिटेडका शाखा प्रबन्धक रोहिणी आचार्यले कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सक्षरता अभिवृद्धिका साथै व्यक्तित्व विकासमा सहयोग पुगेको विश्वास व्यक्त गरे । वीरगञ्जमा सञ्चालित २७ ओटा वाणिज्य बैंकका शाखाहरूको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका शाखा प्रबन्धक अमितेश यादवले जानकारी दिए ।