वीरगञ्ज । करीब सवा सय वर्षअघि वीरगञ्ज र आसपास क्षेत्रमा कपडाको घुम्ती व्यापारबाट शुरू भएको व्यवसाय आज वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढीको व्यावसायिक साम्राज्यमा बदलिएको छ ।
हो, उद्योगी बाबुलाल चाचानले नेतृत्व गरिरहेको चाचान समूह यही व्यापारिक उपक्रमको उपज हो । बाबुलाल उमेरले ८६ वर्ष पुग्ने तर्खरमा छन्, उद्यम क्षेत्रमा उनको सक्रियता भने अझै पनि लोभलाग्दो छ ।
बाबुलाल भन्छन्, ‘विसं १९५५ तिर मेरा हजुरबुबा लखिराम भारतको राजस्थानबाट ८ हजार भारतीय रुपया लिएर वीरगञ्जको छपकैयामा आएर व्यापार थाल्नुभयो । उहाँले त्यतिबेला भारतको मुजफ्फरपुरबाट कपडा ल्याएर पर्साको अलौ, बाराको जितपुर, परवानीपुर, वीरगञ्जको बिर्ता हाटबजारमा बेच्नुहुन्थ्यो । त्यसबेला अहिलेजस्तो सवारीको सुविधा थिएन, घोडामा कपडा ओसारपसार हुन्थ्यो ।’
त्यसअघि नै राजस्थानको तारानगरबाट वीरगञ्ज आएका गोविन्द चौधरीको सम्पर्कबाट चाचान परिवार यहाँ आएको थियो । चाचानका हजुरबुबाले वीरगञ्जमा व्यापार विस्तार गर्न थालेपछि उनका दाइ र भाइ पनि यतै आएर व्यापारमा लागे ।
लखिरामले केही समयपछि वीरगञ्जको महावीरस्थानमा कपडा पसल खोले । घुमन्ते व्यापार पसलमा रूपान्तरण भयो । त्यतिबेला वीरगञ्जका पाँचओटा कपडाका पसलमध्ये तीनओटा चाचान परिवारकै थिए । विसं २००४ सम्ममा चाचान दाजुभाइले कपडाको थोक व्यापारमा हात हालिसकेका थिए । त्यतिबेला भारतमा कपडा उत्पादन त हुन्थ्यो तर कोटा तोकिएको थियो । नेपालका व्यवसायीले भारतको तत्कालीन बम्बै (अहिले मुम्बई) र अहमदाबादबाट कपडा ल्याएर भारततर्फ नै पठाउँथे । त्यसबेला नेपालका व्यापारीले कपडाबाट राम्रो आर्जन गरे ।
वीरगञ्ज नेपालको एकमात्र प्रवेशद्वार भएकाले यो व्यापारको उर्वर क्षेत्र थियो । ‘यतिसम्म कि, बम्बै र अहमदाबादका कपडा उद्योगले वीरगञ्जमा कार्यालय खोलेर भारततर्फ कपडा पठाउँथे,’ बाबुलालले बाल्यकालको स्मरण सुनाए । वीरगञ्जमा कपडा कारोबार बढ्दै गएपछि व्यापारीले विसं २००१ मा ‘वीरगञ्ज क्लथ मर्चेन्ट एशोसिएशन’ गठन गरेका थिए, जुन अहिले वीरगञ्ज उद्योग वाणिज्य संघमा रूपान्तरण भएको छ ।
एसएलसीमा बोर्ड फस्ट, इन्जिनीयर बन्ने सपना अधुरै
बाबुलाल विसं २००९ मा वीरगञ्जको त्रिजुद्ध माविबाट एसएलसी दिएर बोर्ड फस्ट भएका थिए । त्यतिबेला वीरगञ्जको त्रिजुद्ध र काठमाडौंको दरबार हाईस्कूलबाट मात्रै एसएलसी दिन सकिन्थ्यो । एसएलसीपछि इन्जिनीयर बन्ने सपना बोकेर भारतको पटना गएका बाबुलालका बुबा महावीरप्रसाद भने छोरो व्यापारमै लागोस् भन्ने चाहन्थे । ‘पटनामा इन्जिनीयरिङको फर्म भरेर वीरगञ्ज फर्किएपछि कलेजले भर्नाका लागि बोलाएको पत्र बुबाको हातमा परेछ । उहाँले पत्र नै गायब पारिदिनुभयो, भर्ना छुट्यो । अब वीरगञ्जमै पढ्नुको विकल्प थिएन ।
वीरगञ्जबाटै बीए पास गरेँ,’ बाबुलालले सुनाए । इन्जिनीयर बन्ने चाहना पूरा नभए पनि चाचान समूहलाई यो स्थानमा ल्याई पुर्याउँदा बाबुलाल सन्तुष्ट छन् । अहिले बाबुलालदेखि उनका नाति पुस्ता चाचान समूहका करीब एक दर्जन उद्यम उपक्रममा सक्रिय छन् । पारिवारिक जिम्मेवारीले व्यापार विस्तारतिर विसं २०१४/ १५ तिर बाबुलाल व्यापारमा सक्रिय भइसकेका थिए । त्यतिबेलासम्मको कारोबार कपडामा सीमित थियो ।
अब व्यापारको जिम्मेवारी बाबुलालको काँधमा आइसकेको थियो । ‘ठूला भइरहेका भाइहरूलाई काम दिनु थियो । ९ बहिनीको विवाहको जिम्मेवारी पनि थियो । मलाई कपडाको व्यापारमा चित्त बुझिरहेको थिएन,’ बाबुलाल आफ्नो संघर्ष स्मरण गर्छन्, ‘म व्यापार विस्तारको खोजीमा थिएँ । त्यसबेला नेशनल ट्रेडिङले रूसबाट ल्याएको कपडा र निर्माण सामग्रीलगायतको व्यापार गर्थ्यो । नेशनल ट्रेडिङबाट कपडा लिएर बेच्न थाल्यौं, भाइ परमेश्वरलाई यो कामको जिम्मा दिएँ ।’
त्यसको २/३ वर्षपछि भारतीय सिमेन्टको कारोबारमा हात हालेका बाबुलालले अहिले वीरगञ्ज र नेपालगञ्जबाट त्रिशक्ति र बज्रशक्ति ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेका छन् । सिमेन्ट उद्योगको जिम्मेवारी बाबुलालका भतिजा सतीशले सम्हालेका छन् ।
लामो समयसम्म थान कपडाको कारोबारमा पाएको अनुभवलाई श्री स्टोरमार्फत फेन्सी कपडाको व्यापारमा लगाए । राजा महेन्द्र सवारी हुँदा रानी रत्नले यो पसलबाट साडी किनेर देवघाटमा लगेर बाँडेको बाबुलालको स्मरणमा ताजै छ ।
सन् १९७२ मा किराना सामानको काममा हाले पनि त्यो धेरै दिन चल्न सकेन । सन् १९७३ मा वीरगञ्जमा आदर्श तेल मिल खोले । सन् १९७४ दाल उद्योग खोले । बाबुलालले उद्योगहरू भाइहरूको जिम्मामा लगाउँदै, नयाँ उद्योग जोड्दै जाने योजना बनाए । सन् १९७५ मा चामल उद्योग चलाएको यो समूहले सन् १९७६ मा छाला उद्योग स्थापना गरेको थियो । बोरा उद्योग पनि सञ्चालनमा ल्याए । भाइ–छोराहरू काममा आउन थालेपछि नयाँ उद्योग थप्ने क्रम बढ्यो । अहिले चाचान समूहअन्तर्गत तेल र दालका आधुनिक उद्योग सञ्चालनमा छन् । यो समूहले बैंक तथा बीमा कम्पनी, कृषि उपकरण, खाद्यान्न, चिनी, कोइला, मलखाद र मसला कारोबारसम्ममा लगानी विस्तार गरेको छ ।
निकासी र कोलकातामा अवरोध
बाबुलाल २४र२५ सालतिर निर्यात व्यापारको योजनामा थिए । त्यसबेला विराटनगरबाट जुट निकासी हुन्थ्यो । तर, वीरगञ्ज क्षेत्रबाट केही पनि थिएन । उनले वीरगञ्जबाट छाला निकासीको योजना लिएर वाणिज्य मन्त्रालय पुगे । त्यसबेला व्यापारमा लाइसेन्स चाहिन्थ्यो । निकासीको योजना सुन्नेबित्तिकै त्यहाँका अधिकारीले उत्साहित हुँदै तुरुन्तै लाइसेन्स दिए । ‘३१ मार्च सन् १९६७ मा हामीले निकासीको पहिलो एलसी पाएका थियौं । केही समय त निकासी भयो । तर, भारतको कोलकातामा विभिन्न झमेला र अवरोध हुन थाल्यो,’ उनी भन्छन्, ‘त्यतिबेला राजा महेन्द्रसित भारतको सम्बन्ध चिसिएकाले त्यसको मारमा नेपाली व्यवसायी परेका थिए । कोलकातामा छाला, दालजस्ता वस्तु धेरै नोक्सानी भयो ।’
सुक्खा बन्दरगाहको सूत्राधार
छाला निकासीका क्रममा बाबुलाल भारतको कोलकातामा बढी समय बिताउँथे । कोलकाता बन्दरगाहमा दुःख पाउँदा यो कुराले पिरोलिरहेको थियो । एकपटक उनी दिल्लीको प्रगति मैदानमा व्यापार मेलामा सहभागी हुन जाँदै थिए । दिल्ली पुग्नुअघि एक ठाउँमा थुप्रै कन्टेनर राखिएको देखे । त्यसबारे कुनै जानकारी थिएन । ‘पछि बुझ्दा त्यो सुक्खा बन्दरगाह रहेछ । त्यहीँबाट कन्टेनर ल्याउने र लैजाने व्यवस्थाबारे पनि थाहा भयो । हामीकहाँ समुद्री बन्दरगाह नभए पनि सुक्खा बन्दरगाह त हुन सक्ने रहेछ । यसबाट कोलकातामा व्यापारीले पाइरहेको झन्झट सधैंका लागि समाप्त हुन्छ भन्ने लाग्यो,’ उनले सम्झिए ।
बाबुलाल त्यतिबेला वीरगञ्ज उद्योग वाणिज्य संघमा सक्रिय भइसकेका थिए । २०५२ देखि २०५८ सालसम्म संघको अध्यक्ष हुँदा उनले सुक्खा बन्दरगाह निर्माणका लागि संस्थागत योगदान गरे । उनकै पहलमा संघले वीरगञ्जमा सुक्खा बन्दरगाह निर्माणको पहल गर्ने निर्णयमात्र गरेन, यसबारेमा नेपाल र भारतका अधिकारीसहित ऋणदाता विश्व बैंकलाई समेत सहमत तुल्याए । २०६० साल वीरगञ्जमा नेपालकै पहिलो सुक्खा बन्दरगाह सञ्चालनमा आयो । २०५४ सालमा सरकारले लागू गरेको मूल्य अभिवृद्धिकरको थ्रेसहोल्ड बढाउन संघले बाबुलालकै नेतृत्वमा अग्रणी भूमिका खेल्यो । उद्यमी व्यापारीका केन्द्रीय संस्थासमेत प्रभावकारी प्रतिवादमा उत्रिन नसकेको अवस्थामा संघले वीरगञ्जका उद्योग बन्द गरेर औद्योगिक कोरिडोरबाट रोजगारदाता र मजदूरको संयुक्त विरोध र्याली निकालेको थियो । ‘त्यसपछि मात्रै सरकारले यो विवाद टुंगो लगाउन १२ जनाको कार्यदल बनायो । वीरगञ्ज उद्योग वाणिज्य संघबाट कार्यदलमा म थिएँ,’ उनी सम्झन्छन्, ‘काठमाडौंमा १३ दिनसम्म कार्यदलको बैठक भयो । धेरै विकल्पमा छलफल भयो । अन्ततः तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोहवरमा ४५ लाख रुपैयाँ थ्रेसहोल्ड राख्ने सहमति बन्यो ।’
सम्झनामा ७ सालको क्रान्ति र सुगौलीको बास
२००७ सालको क्रान्ति वीरगञ्जबाट शुरू भएको थियो । त्यतिबेला बाबुलाल वीरगञ्जको त्रिजुद्ध स्कूलमा ९ कक्षामा पढ्थे । त्यसबेला दीपावलीमा वीरगञ्जमा खुलेआम जुवा (कौडा) चल्थ्यो । सरकारले नै झ्याली पिटेर ५ दिनसम्म कौडा खेल्न सूचना जारी गर्थ्यो । ‘वीरगञ्जको आदर्शनगरदेखि माइस्थानसम्म फुटपाथमा टेन्ट राखेर कौडाको खाल जमिरहेको हुन्थ्यो । दीपावलीको दिन भारतबाट विमान आएर राणाविरोधी पर्चा छरेर गयो । त्यसको भोलिपल्ट बिहानै ४ बजे कांग्रेसले वीरगञ्जमा आक्रमण गर्यो,’ बाबुलाल सम्झिन्छन्, ‘वीरगञ्जका तत्कालीन बडाहाकिम सोम शमशेरका अंगरक्षकले चलाएको गोली लागेर क्रान्तिका कमान्डर थिरबम मल्लको मृत्यु भयो । त्यसपछि तेजबहादुर अमात्य कमान्डर भएका थिए । त्यसको १/२ दिनमा विराटनगर पनि कांग्रेसले कब्जा गर्यो भन्ने सुनियो ।’
कांग्रेसले बडाहाकिम र श्रीपुरस्थित सेनाको ब्यारेक पनि कब्जामा लिए । वीरगञ्ज विद्रोहीको कब्जामा परेको थाहा पाएपछि काठमाडौंबाट सरकारी सेना आए । परवानीपुरको नदीपारि सरकारी सेना र कांग्रेसका सेना यता भए । १० दिनसम्म लडाइँ भएपछि कांग्रेसहरू पछि हटे । सरकारी सेनाले वीरगञ्जलाई पुनः नियन्त्रणमा लियो । त्यतिबेला राणाका सेनाले वीरगञ्जका सबै मानिसलाई मार्ने हल्ला चलाइएको थियो । त्यो डरले बाबुलालका हजुरबुबा र बुबामात्रै वीरगञ्जमा बसेर अरू परिवार भारतको सुगौलीस्थित आफन्तको घरमा गएर बसेका थिए । २००७ सालमा प्रजातन्त्र घोषणा भएपछि कांग्रेस नेता बीपी कोइराला वीरगञ्ज आएका थिए । वीरगञ्जको त्रिजुद्ध स्कूलमा बीपीको भव्य स्वागत गरिएको बाबुलाल सम्झिन्छन् ।