वीरगञ्ज (अस) । वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले भाडा बढाएका छन् । पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि भए पनि भाडा पुनरवलोकन नभएको भन्दै केही दिनअघि ढुवानी नै ठप्प पारेर आन्दोलनमा उत्रिएका व्यवसायीले २५ प्रतिशतसम्म भाडा बढाएका हुन् । ढुवानी व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बालकृष्ण पोखरेलका अनुसार व्यवसायीसँग समझदारी गरी २० देखि २५ प्रतिशतसम्म भाडा बढाइएको छ । डिजेलको भाउ शतप्रतिशत बढिसक्दा पनि ढुवानीको भाडा नबढाइएको भन्दै खुद्रा ढुवानी व्यवसायीले जेठको दोस्रो साता ढुवानी बन्द गरेका थिए ।
वीरगञ्जमा संकलित खुद्रा मालसामान काठमाडौंलगायत मुख्य शहरमा ढुवानी गर्दै आएका व्यवसायीले भाडा बढाउने समझदारी गरेर सेवा सुचारु गरेका छन् । उनीहरूले व्यवसायीलाई भाडा बढाउन दबाब दिन ढुवानी रोकेकोमा तौलमा ढुवानी हुनेमा वस्तुमा प्रतिकिलो भाडा ५ रुपैयाँ पुर्याएका छन् । यसअघि प्रतिकिलो ४ रुपैयाँ थियो । हलुका मालसामानको भाडामा २० देखि २५ प्रतिशतसम्म बढाउने सहमति भएको पोखरेलले बताए । यसअघि ६ चक्के गाडीले १० मेट्रिकटन मालसामान बोक्दा त्यसको भाडा ४० हजार रुपैयाँ हुनेमा ट्रकधनीलाई ट्रकको भाडामै ४० हजार तिर्नुपर्ने अवस्था आएपछि ढुवानी व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।
यस्ता व्यवसायीले ट्रक भाडामा लिएर व्यवसाय चलाउँदै आएका छन् । ट्रक धनीलाई नै ४० हजार बुझाउनु परेपछि कार्यालय सञ्चालन, कर्मचारी खर्च, गोदाम भाडालगायत खर्च नोक्सानीमा गएको उनीहरूको भनाइ थियो । ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले खुद्रा ढुवानी व्यवसायीले भाडा बढाउनु उचित भएको बताए । डिजेलको मूल्य दोब्बर पुगिसक्दा पनि भाडादर पुनरवलोकन नभएपछि ढुवानी व्यवसायी मर्कामा परेकाले भाडा बढाउने अवस्था आएको उनको भनाइ छ । वीरगञ्जबाट दैनिक रूपमा औषधि, अक्सिजन, कपडा, दैनिक उपभोग्य वस्तुलगायत करीब १०० ट्रक मालसामान ढुवानी हुन्छ ।