सर्लाही । जिल्लाका किसानले धान रोपाइँ शुरू भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् ।
बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने कि नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गरे । ‘जिल्लामा अहिले रासायनिक मलको हाहाकार छ । सरकारले हाम्रा माग सुन्दैन तर हामीलाई मलको आवश्यकता छ,’ उनले भने ।
धान रोपाइँको बेला भइसके पनि रासायनिक मल हामीले कहिले पाउने हो भन्ने आसमा बस्नुपरेकोे अर्का किसान कपिल साहले बताए । ‘हामी किसानले वर्षैपिच्छे मल अभाव झेल्नुपरे पनि अहिलेसम्म सरकारका जिम्मेवार पदमा रहेकाहरुले दीर्घकालीन समाधान नखोज्ने गरेका कारण हामी किसान कृषिप्रधान देशमा रहेर पनि मारमा परेका छौँ ।’ उनले भने, ‘सरकार फेरियो, मानिस फेरिए, मन्त्री फेरिए तर मलको कथा जहिले पनि उस्तै रह्यो । हरेक वर्ष मल अभावको समस्या हामीले झेलिरहेकै छौँ ।’
‘सरकारले मल खरीदका लागि ठूलो बजेट छुट्याएको खबर सुनिन्छ, मल नै मागेजति आएन भनेको पनि सुनिन्छ, किसानलाई मल दिन्छौँ भनेर दायित्व लिएर माथि पुगेका नेताले किसानलाई बिर्सेपछि फेरि किसानकै कुरा उठाउँदा अप्ठ्यारो लाग्नुपर्ने हो,’ अर्का किसान हनुमान साहले भने, ‘मलसमेत दिन नसक्ने सरकार रहे नरहेको हाम्रा लागि बराबर हो ।’
समयमा मल नदिने सरकारलाई भारतबाट किसानले मल किनेर ल्याउँदा सुरक्षाकर्मी लगाएर नखोस्न र बल प्रयोग नगर्न पनि स्थानीय किसानको माग छ । ‘नेता, मन्त्री र जिम्मेवार अधिकारीको वक्तव्य आउँछ तर मल आउँदैन । रोएका किसानको फोटो आउँछ, किसान लाइनमा बस्छन् तर मल आउँदैन, मल नपाउँदा र समयमै बालीनाली लगाउन नपाउँदा फल लाग्दैन, हामी के खाएर बाँच्ने ?’ अर्का किसान रामविनोद यादवले भने ।
जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब ७२ हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले बताएको छ । धान बालीका लागि कम्तीमा ४४ हजार मेट्रिकटन मल चाहिने उक्त कार्यालयको भनाइ छ । तर, धान रोपाइँकै समयमा जिल्लामा मल अभाव छ । नेपालमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनको हो । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनीले ७० प्रतिशत मल ल्याउने गरे पनि जिल्लामा आवश्यक मात्रामा मल अभाव पुरानै व्यथा रहेको उक्त केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशबाहले बताए । रासस