ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘बजेट अभावले विद्युत् आपूर्ति प्रभावकारी भएन’

२०७९ असार, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
कुलमान घिसिङ । फाइल तस्वीर
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले पर्याप्त बजेट नदिएकाले विद्युत् उत्पादन तथा आपूर्ति प्रभावकारी बनाउने योजनाले गति लिन नसकेको बताइएको छ । बारा पर्सा औद्योगिक कोरिडोरमा पछिल्लो समय देखिएको विद्युत् समस्या समाधानका लागि आग्रह गर्दै बिहीवार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेका उद्योगीहरूसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो बताएका हुन् । 

घिसिङसँगको भेटपछि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा प्राधिकरणले आन्तरिक स्रोतसाधनबाट काम गर्दै आएको र सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकाले प्राधिकरणका परियोजना तीव्ररूपमा अघि बढ्न नसकेको बताइएको उल्लेख छ । अध्यक्ष गुप्ताका अनुसार प्राधिकरणले बारा पर्सा कोरिडोरमा विद्युत्सम्बन्धी रू. ५० अर्बको परियोजना कार्यान्वनयमा ल्याउने तयारी गरिरहेको छ । हेटौंडामा रहेको ४५ केभीको ट्रान्सफर्मरको मर्मत भइरहेको र नयाँ ट्रान्सफर्मर थप्ने प्रक्रियामा रहेकाले त्यो पूरा भएपछि बारा पर्सा कोरिडोरमा विद्युत् आपूर्ति सहज हुने दाबी घिसिङले गरेका छन् । 

बाराको प्रसौनीमा ठूलो सबस्टेशन स्थापनाका लागि प्राधिकरणले करीब ३ बिघा जग्गा लिइसकेको र यसबाट वीरगञ्ज तथा पोखरिया वितरण केन्द्रसम्म विद्युत् प्रसारण सहज हुने प्राधिकरणले बताएको छ । बाराकै पिलुवामा रहेको सबस्टेशनलाई १३३ केभीमा स्तरोन्नति गर्ने योजना पनि प्राधिकरणले बनाएको छ । वन प्रशासनलगायत सरोकारका निकायको हस्तक्षेपका कारण निर्बाध रूपमा काम गर्न नसकिएको पनि घिसिङले उद्योगीहरूलाई बताएका छन् । उद्योगीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई पनि भेटेका थिए । भेटमा विद्युत् उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकाले मुलुकभर विद्युत् आपूर्तिमा समस्या आइरहेको गुप्ताले बताएका थिए । बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को घोषित लोडशेडिङ हटे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको र प्राप्त विद्युत्को गुणस्तर कमजोर भएकाले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परिरहेको उनले बताए ।

भेटमा मन्त्री भुसालले विगतका केही दिनदेखि विद्युत् आपूर्तिमा भइरहेको ट्रिपिङ र नियमित आपूर्तिमा देखिएको समस्याप्रति आफू गम्भीर रहेको बताइन् । नेपाल विद्युत् प्राधिकरणले पुराना ट्रान्सफर्मरलाई मर्मत सम्भार, नयाँ ट्रान्सफर्मर जडान, विद्युत् लाइन नपुगेका स्थानमा प्रसारण लाइन विस्तारको काम भइरहेको उनको भनाइ थियो ।

बारा–पर्सा औद्योगिक कोरिडोरको विद्युत् वितरण प्रणाली २०/२५ वर्ष पुरानो रहेको र त्यस बेलाको तुलनामा अहिले विद्युत् माग बढेको, नयाँ नयाँ ठूला उद्योग स्थापना भएको, गार्हस्थ्य विद्युत् खपत दर बढेको, प्राधिकरणको बढी विद्युत् खपत गराउने नीतिअनुसार इन्डक्शन चुल्हो र विद्युतीय सवारीसाधनको वृद्धिसँगै विद्युत् खपत बढेको भए पनि त्यसअनुसार आपूर्तिका लागि वितरण लाइनको क्षमता कम भएको उद्योगीले बताएका छन् । ट्रान्सफर्मर र दक्ष जनशक्तिको कमी तथा व्यवस्थापकीय कमजोरीका कारण उद्योगी व्यवसायीलाई गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेको पनि उनीहरूको भनाइ थियो ।

विद्युत्को लाइनका लागि सिमेन्टको पोल ढलान नगरी जमीनमा गाड्दा पोल ढल्कने, तारहरू लत्रिने र समय समयमा दुर्घटनासमेत हुने गरेको उनीहरूले बताएका छन् । भेटमा संघका पूर्वअध्यक्षसमेत रहेका मधेश प्रदेशका ऊर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्मा, संघका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशिष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयललगायतको सहभागिता थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)