ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युवाको दक्षता अभिवृद्धिका लागि गुणस्तरीय शिक्षामा जोड

२०७९ असार, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरगञ्ज (अस) । तहगत सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमले युवाका अपेक्षालाई सम्बोधन गर्न नसकेको सरोकारका पक्षले बताएका छन् । हाम्रो अभियान पर्सा र इकोनोमिक रिपोर्टर्स एशोसिएशनले हालै वीरगञ्जमा आयोजना गरेको ‘हाम्रो बजेट हाम्रो चासो’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।

युवा शक्ति दक्ष र सशक्त भएमात्र विकासका आधार बलियो हुने भएकाले यसका लागि सरकारले शिक्षाको उपयुक्त अवसर दिनुपर्ने बताइएको छ । युवाको दक्षता अभिवृद्धिको आधार नै शिक्षा भएको भन्दै सहभागीहरूले शैक्षिक प्रणाली प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

बजेटमा शिक्षाको नाममा वर्षेनि ठूलो रकम छुट्याइए पनि पारदर्शिताको अभावले भ्रष्टाचार मौलाएको र उचित शिक्षाको अवसरबाट वञ्चित हुँदा युवाको दक्षता संकुचित भएको सहभागीको भनाइ थियो ।

कार्यक्रममा विश्लेषक डा. दीपेन्द्र चौधरीले अव्यावहारिक शिक्षा प्रणाली र बढ्दो बेरोजगारीका कारण कुल जनसंख्याको ४५ प्रतिशतको कमाइमा बाँकी जनसंख्या आश्रित रहेको बताए । संघीय अभ्यासमा बजेट निर्माण प्रक्रिया नै महँगो भएको पनि उनको भनाइ छ ।

पहिला एक ठाउँबाट बजेट निर्माण हुने गरेकोमा अहिले ७६१ स्थानबाट बजेट बनाइएको र यसको निर्माणका लागि मात्रै अर्बौं रुपैयाँ खर्च भएको उनको तर्क थियो । सरकारले आन्तरिक उत्पादन अभिवृद्धिका लागि ल्याएका योजना र कार्यक्रम कर्मकाण्डीमात्र देखिएको उनको भनाइ थियो ।

वीरगञ्ज महानगरपालिका वडा नं ४ का अध्यक्ष जगत साह कानूले बजेट कार्यान्वयनमा समस्या हुने गरेको बताए । ‘बजेट जुन क्षेत्रका लागि विनियोजन गरिएको हुन्छ, त्योबाहेक अन्त खर्च गर्न पाइँदैन । विनियोजित बजेट खर्च गर्न पनि अनेक बाधा आउने गरेको छ,’ उनले भने ।

इकोनोमिक रिपोर्टर्स एशोसिएशनका अध्यक्ष ओमप्रकाश खनालले युवाको दक्षतालाई देश विकासमा रूपान्तरणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए । ‘शिक्षा नै दक्षता अभिवृद्धिको आधार हो । उचित शिक्षाको अवसर नपाएकै कारण आज ठूलो संख्यामा युवाहरू अदक्ष कामदारको रूपमा बाहिरिएका छन्,’ उनले भने ।

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निरज अग्रवालले उद्यमशीलता, रोजगारलगायत उत्थानका लागि शिक्षा अपरिहार्य भएको बताए । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बजेटले होटल व्यवसायलाई राहतका कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन अत्यन्त जटिल बनेको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासन प्रमुख मनोज उपाध्यायले स्थानीय तहले युवा लक्षित बजेट ल्याउनुपर्नेमा जोड दिए । ग्रामीण अर्थतन्त्रको उत्थानका लागि कृषिक्षेत्रको आधुनिकीकरणमा उनको जोड थियो ।

हाम्रो अभियानका संयोजक शिवनाथ यादवले निर्वाचनमा युवालाई परिचालन गर्ने राजनीतिक दलले बजेटमा युवाका अपेक्षालाई समावेश गर्न नसकेको बताए । दलहरूलाई यसमा जवाफदेही बनाउन युवाले यस्ता सरोकारमा प्रश्न गर्ने अभियान नै चलाउनुपर्ने धारणा उनको थियो ।

युवा उद्यमी दिलीपराज कार्कीले बजेट फ्रिज भएर जाने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । सञ्चारकर्मी सूर्यनारायण विकले स्थानीय आवश्यकताका आधारमा बजेट निर्माण गरिनुपर्नेमा जोड दिए । पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्राले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै यस्ता कार्यक्रमबाट सत्तासीन दलका कार्यकर्ता पाल्ने र घाँस उखेलेको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नेबाहेक अन्य कुनै उपलब्धि नभएको भन्दै कटाक्ष गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)