पर्सा । चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरीब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।
अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरीब, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा शहीद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।
उनका अनुसार चालू आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएको छ ।
चालू आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा. सिंहले जानकारी दिए । उनले गरीब तथा विपन्न नागरिकको उपचारमा रू. १९ लाखभन्दा बढी रकम हालसम्ममा खर्च भइसकेको बताए । निःशुल्क उपचार योजनाले धेरै नगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा. सिंहको भनाइ छ । रासस