ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले स्वदेशी आईटी कम्पनीहरूलाई विश्वास गरेन

२०७९ असार, १५  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपालको औद्योगिक क्षेत्रमा गोल्छा अर्गनाइजेशनको छुट्टै इतिहास छ । वर्षौं अघि जुटको व्यवसायबाट नेपालको औद्योगिक क्षेत्रमा प्रवेश गरेको गोल्छा अर्गनाइजेशनले हालसम्म थुप्रै क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरिसकेको छ । गोल्छा अर्गनाइजेशनका निर्देशक सञ्जय गोल्छाले भने आईटीसम्बन्धी व्यवसाय अगाडि बढाइरहेका छन् । निओटेरिक नेपाल स्थापना गरेर सफ्टवेयर निर्माण, हार्डवेयरको व्यापार लगायत विभिन्न काम उनले गरेका छन् । प्रस्तुत छ, निओटेरिक नेपालका प्रबन्ध निर्देशक समेत रहेका गोल्छासँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सम्पादित अंश  ः


पहिला तपाईंको व्यक्तिगत जीवनको कुरा गरौं । अध्ययन कहाँ गर्नुभयो र व्यवसायमा कसरी आउनुभयो ?
शुरूमा काठमाडौंकै सेन्ट जेभियरमा पढेको हुँ । एमबीए भने बेलायतमा गरेँ । बेलायतमा अध्ययन सकेर नेपाल फर्केपछि पारिवारिक (गोल्छा अर्गनाइजेशन) व्यवसायमा आबद्ध भएको हुँ । पहिला त परिवारको परम्परागत व्यवसायमै संलग्न थिएँ । तर, मेरो चाहना भने आईटीमा थियो । त्यसैले आईटी सम्बन्धी काम गर्ने एउटा कम्पनी स्थापना गरेको हुँ । त्यसैलाई विकास गर्दै सफ्टवेयर निर्माण गर्ने, हार्डवेयर व्यापार गर्ने कम्पनी पनि स्थापना गरेको हुँ । 

अहिले व्यवसाय कस्तो छ ?
व्यवसाय राम्रो छ । व्यवसायमा हामी धेरै विविधीकृत पनि भइसकेका छौं । हामीले आईटीभित्रको पनि धेरै क्षेत्रमा काम गरिरहेका छौं । साधारण ग्याजेटदेखि डेटा सेन्टर इक्वीपमेन्ट, टेलिकम इक्वीपमेन्ट, आईटीका पूर्वाधार बनाउने, सफ्टवेयर बनाउने, हार्डवेयर ट्रेडिङ गर्ने लगायत धेरै क्षेत्रमा छौं । ‘फाइबर टु दी होम’ मा हामी अग्रणी छौं । हामीले बिजनेश सफ्टवेयर, जस्तै– ईआरपीको पनि काम गरेका छौं । नेपालमा यो स्तरमा काम गर्ने आईटी कम्पनी कमै छन् । नेपालका अधिकांश ठूला कम्पनीहरूको सफ्टवेयर हामीले नै बनाएका छौं । त्यसबाहेक होटल, हस्पिटालिटी, बीमालगायत कम्पनीको ब्याकग्राउन्ड सफ्टवेयर तथा हार्डवेयर बनाएका छौं । समग्रमा हामीले अदृश्य रूपमा काम गरेका छौं । देखिने अरू नै भए पनि हार्डवेयर, सफ्टवेयर लगायत टेक्नोलोजीमा मेरुदण्ड चाहिँ हामी हौं । 

 

तपाईंको कम्पनीले हार्डवेयर र सफ्टवेयरको क्षेत्रमा वार्षिक के कति कारोबार गर्छ ? भन्न मिल्छ कि ?

कति कारोबार गर्छाैं भनेर भनी नहालौं । तर, कम्प्युटर तथा टेली इक्वीपमेन्ट निर्यात, आईटी क्षेत्रको पूर्वाधार निर्माण लगायत क्षेत्रमा निओटेरिक नेपालकै ठूलो कम्पनी हो । हाम्रो कार्यक्षेत्रमा यो स्तरको कम्पनी नेपालमा छैन होला । हामीले बनाएको सफ्टवेयर निजीक्षेत्रका २०० भन्दा बढी ठूला कम्पनीले प्रयोग गरिरहेका छन् । होटल, सिमेन्ट, डिस्टिलरीलगायत क्षेत्रका ठूला कम्पनीले हाम्रो सफ्टवेयर प्रयोग गरेका छन् ।

नेपालमा गोल्छा अर्गनाइजेशनको छुट्टै इतिहास छ । विशेषगरी कृषि लगायतको व्यवसाय गरेर यो अर्गनाइजेशन यहाँसम्म आएको हो । त्यो अवस्थामा तपाईंले आईटी क्षेत्रलाई कसरी रोज्नुभयो ?

हो, अहिलेको जमानाअनुसार हामी पराम्परागत व्यवसायमा थियौं । आजभन्दा १०० वर्षभन्दा अघि मेरा हजुरबुबा रामलाल गोल्छाले जुटको व्यवसाय शुरू गर्नुभएको थियो । त्यसबेला त्यही व्यवसाय नै इन्नोभेटिभ थियो । त्यसबेला नेपालमा जुटको व्यवसाय हुन्छ भनेर कसैले सोचेका थिएनन् । त्यसबाट हामीले सिकेको नै इन्नोभेशन हो । हाम्रो संस्थाको विरासत नै इन्नोभेशन हो । हाम्रो संस्थाले पहिलेदेखि नै इन्नोभेटिभ उद्योग र इन्नोभेटिभ प्रडक्ट ल्याउँदै आएको छ । यसैबाट प्रेरित भएर मैले पनि आईटीलाई रोजेको हुँ । 
मेरो झुकाव शुरूदेखि नै प्रविधितिरै थियो । मैले पहिलोपटक सन् १९८४ मा कम्प्युटर प्रोग्रामिङ गरेको हुँ, जुन बेला एप्पलको पर्सनल कम्प्युटर पनि भर्खरै आएको थियो । त्यसबेला म एक तालीम इन्स्टिच्युटमा प्रोग्रामिङ सिक्थें । त्यसपछि अध्ययनका लागि लण्डन जाने अवसर पाएँ । त्यसबेला लण्डनमा पनि कम्प्युटर एकदम थोरै देखिन्थ्यो । तैपनि मेरो चाहनाले गर्दा धेरै सिक्न पाएँ । त्यहाँको केही कम्पनीमा काम गर्ने अवसरसमेत पाएँ, जतिबेला त्यहाँका कम्पनीले भर्खर भर्खर कम्प्युटर सिस्टम अपनाउन थालेका थिए । यी र यस्ता अनुभवले गर्दा मलाई आईटी क्षेत्रमा लाग्न प्रोत्साहन मिल्यो । नेपाल फर्किएको केही समयसम्म म पराम्परागत व्यवसायमै आबद्ध थिएँ । तर, मेरो चाहना आईटीमा भएकाले विस्तारै यसै क्षेत्रमा पनि काम गर्दै गएँ । 

नेपालमा आईटीको विकास गर्ने मामलामा हामीले धेरै अवसर गुमाइसकेका छौं ।
 

संसारको म्यापमा नेपालको आईटी क्षेत्र कुन स्थानमा छ ? र, त्यसमा तपाईंको योगदान के छ ?

यो एकदमै अप्ठ्यारो प्रश्न भयो । यसमा हामी कहाँ हुन सक्थ्यौं र कहाँ छौं भन्ने कुरा पनि आउन सक्छ । वास्तवमा भन्ने हो भने मैले नेपालको आईटी क्षेत्रको विस्तारलाई आफ्नै आँखाले हेर्न पाएको छु । कुनै बेला एउटा कम्प्युटर राख्दा पनि किन पैसा खेर फालेको होला भनिन्थ्यो । बैंकहरूले पनि कम्प्युटर प्रयोग गरेका थिएनन् । त्यसबेला एउटा राष्ट्रिय कम्प्युटर केन्द्र थियो । म कहिलेकाहीं त्यहाँ गएर पनि यसबारे अध्ययन गर्दथेँ । भित्र जाने बेला पनि जुत्ता खोलेर जानुपथ्र्यो । त्यहाँबाट हामी अहिले यो स्थानमा आएका छौं । अहिले नेपालको वित्तीय क्षेत्र पूर्णरूपमा कम्प्युटराज्ड भइसकेको छ । अहिलेसम्म आउँदा धेरै क्षेत्र आईटीको सिस्टमअनुसार चल्न थालेका छन् । तर नेपालमा आईटीको विकास गर्ने मामलामा हामीले धेरै अवसर गुमाइसकेका छौं । भारतले आईटीमा जुन रूपमा विकास गर्‍यो, त्यसको पहिलो र दोस्रो लहर हामीले गुमायौं । आईटीको विषयमा भारतमा धेरै अवसर आयो । भारतको बैंग्लोर आईटी हबको रूपमा विकास भयो । तर, नेपालमा कुरामै सीमित भयो । नेपालमा आईटी क्षेत्रमा जुन स्तरमा रोजगारी सृजना गर्न सकिन्थ्यो, त्यसअनुसार भएन । यसमा अरू कारण पनि होलान्, म गलत पनि हुन सक्छु । तर, मेरो विचारमा यही सत्य हो । हामीले आईटीमा आएका धेरै अवसरलाई उपयोग गर्न सकेनौं । 
तर, पछिल्लो १० वर्षमा भने आईटीमा राम्रो भइरहेको छ । यो क्षेत्रमा चुपचाप काम भइरहेका छन् । कैयौं मान्छे आईटी क्षेत्रमा आबद्ध भएर काम गरिरहेका छन् । कसैले संस्थागत रूपमा काम गरेका छन् त कसैले गैरसंस्थागत रूपमा । १०/ १०, २०/ २० जनाको समूहले घरघरमा बसेर आईटीका प्रडक्ट निर्यात गर्ने काम गरेका छन् । भलै त्यो तथ्यांकमा आउन सकेको छैन होला । तर, यो सत्य हो । विदेशी तथा बहुराष्ट्रिय कम्पनीले काठमाडौंमै हजारौं मान्छे राखेर काम गरिरहेका छन् । तर, यो अझै राम्रो हुन सक्थ्यो । थप रोजगारी सृजना हुन सक्थ्यो । हामीले आईटीमा ब्रान्ड नेपाल बनाउन सकेनौं । नेपालमा आईटी सेवाप्रति जुन विश्वास हुनुपर्दथ्थो, त्यो पनि बनाउन सकिएन । 
सरकारले पर्यटक भित्र्याउन ‘भिजिट नेपाल’ लगायत कार्यक्रम गर्‍यो । तर, आईटीको हकमा सरकारले त्यस्तो खास किसिमको कार्यक्रम गरेन । आईटी सर्भिस नेपालमा ल्याऔं, रोजगारी सृजना गरौं भन्ने नारा सरकारले ल्याउनुपर्दथ्यो ।
सरकारी क्षेत्रबाट त आईटीलाई पूर्णरूपमा बेवास्ता भएको जस्तो छ । वित्तीय क्षेत्रमा आईटी स्थापित हुनुको कारण बैंकहरू निजीक्षेत्र भएर पनि हो । फिनटेकमा नेपाल धेरै अघि बढिसकेको छ । तर, नागरिक सेवा, सरकारी सेवा अझै परम्परागत नै छ । अझै पनि सवारीसाधनको लाइसेन्स लिन कैयौं दिन पर्खनुपर्छ । साधारण सरकारी सेवा लिन समेत गाह्रो छ ।

  धेरैले घर - घरमा बसेर आईटीका प्रडक्ट निर्यात गर्ने काम गरेका छन् । भलै त्यो तथ्यांकमा आउन सकेको छैन होला । तर, यो सत्य हो ।
 

किन यस्तो भयो त ?
सरकारले स्वदेशी आईटी कम्पनीहरूलाई विश्वास गरेन । उदाहरणका लागि, अमेरिकाले पहिलोपटक चन्द्रमामा रकेट पठायो । अमेरिकाले निजीक्षेत्रसँगै मिलेर त्यो काम गरेको हो । तर, त्यसका लागि टेन्डर आह्वान गर्दा निजीक्षेत्रको कम्पनीको योग्यतामा पहिले नै चन्द्रमामा पुगिसकेको हुनुपर्ने त भनिएको थिएन होला । तर, नेपालले भने यस्ता अनावश्यक मापदण्ड तोकेर स्वदेशी कम्पनीलाई निरुत्साहन गर्दै विदेशी कम्पनीलाई प्राथमिकता दिएको छ । यही हो ‘ट्रस्ट डेफिसिट’ भनेको । जवाफदेहिता तोकेर हामीलाई पनि अवसर दिएको भए त हामीले पनि गर्न सक्ने थियौं । स्वदेशी शीप पनि बढ्थ्यो । हामीहरू पनि अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने थियौं । तर, स्वदेशी कम्पनीले गर्न सक्दैन भन्ने सोच सरकारको छ । 

कतिपय निजीक्षेत्रका कम्पनीले भनेअनुसारको सेवा दिन नसकेर पनि हो कि ?

मेरो विचारमा स्थानीय कम्पनीको ट्र्याक रेकर्ड हेर्ने हो भने एकदमै राम्रो छ । हामीहरूको जवाफदेहिता पनि राम्रो छ । केही कम्पनी असफल पनि भएका होलान्, त्यो फरक कुरा हो । तर, तथ्यांक हेर्ने हो भने समग्रमा राम्रो छ । विदेशी कम्पनीको पनि हेरौं न । नेपालमा आएका धेरैजसो विदेशी कम्पनीले गरेका काम असफल भएका छन् । ड्राइभिङ लाइसेन्सकै प्रोजेक्ट हेरौं न, कुन हालत भएको छ ⁄ यो त विदेशीलाई दिएको प्रोजेक्ट हो । विदेशी कम्पनीले राम्रो गर्‍यो त ? नेपालीले पनि गर्न सक्थे नि ।

नेपालमा आएका धेरैजसो विदेशी कम्पनीले गरेका काम असफल भएका छन् । ड्राइभिङ लाइसेन्सकै प्रोजेक्ट हेरौं न, कुन हालत भएको छ।

सरकारले पनि विगतमा आईटीको विकासका लागि काम गरेको थियो । आईटी पार्क बनायो । तर, पर्याप्त भएन होला । अबको स्कोप कहाँ छ र अब के - के गर्न सकिन्छ ?

म विज्ञ त होइन । तर, मेरो विचारमा सबैभन्दा पहिला त शिक्षा हुनुपर्‍यो । आईटीमा धेरै रोजगारी सृजना गर्ने हो भने त्यसअनुसार शिक्षा तथा शीप हुनुपर्छ । तर, शिक्षा मात्र भएर पनि हुँदैन । यो अण्डा पहिले कि कुखुरा भनेजस्तो पनि हो । किनभने, कलेजमा पढेर मात्र हुँदैन । कलेज पढेर व्यवस्थापन कौशल, अनुभव पाइँदैन । जब हामीले काम नै गरेका छैनौं भने कसरी शीप आउँछ ? त्यसका लागि कहीं न कहींबाट झिल्को उठ्नुपर्छ । त्यो झिल्को सरकारले दिनुपर्छ ।
साथै, हामीले बहुराष्ट्रिय कम्पनीहरू पनि ल्याउन सक्नुपर्छ । उनीहरूले व्यवस्थापन कौशल पनि ल्याउँछन् । प्राविधिक शीप हामीसँग नभएको होइन । तर, मेरो विचारमा अनुभवको भने कमी छ । अझै पनि रोजगारी पाइँदैन भन्ने छ । तर, आईटी कम्पनीहरूले भने जस्तो मान्छे पाउन पनि सकेका छैनन् । किनभने, आपूर्ति थोरै भयो ।
अहिले आईटी कलेजहरू पनि आइरहेका छन् । धेरै नयाँ विद्यार्थी पनि आइरहेका छन् । त्यसले गर्दा निकट भविष्यमा राम्रो होला । 

आईटी क्षेत्रको हकमा नेपालमा कुन कुन क्षेत्रमा राम्रो भएको छ र कुन - कुनमा राम्रो गर्न बाँकी छ ?
विश्वमा आईटी क्षेत्र धेरै अघि बढिसक्यो । हामी भने पछि नै छौं । तर, राम्रो पनि हुँदै छ । मेरो विचारमा निजीक्षेत्रले शिक्षामा काम गरेको छ । त्यो एकदमै राम्रो हो । निजीक्षेत्रका कलेजहरूले आईटी शिक्षा दिएर राम्रो गरेका छन् । भारतमा आईआईटीले दिएको शिक्षाका कारण आईटीमा पहिलो लहरमा राम्रो भएको हो ।
नेपालमा पनि अब त्यस्तै उच्चस्तरको आईटीसम्बन्धी ज्ञानको आधार आउन आवश्यक छ । सबैले गर्नुपर्ने पनि होइन । माथिल्लो तह त तयार गराउनुपर्छ । त्यो एक हिसाबमा भइसकेको पनि छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कोर्स भइरहेका छन् । अमेरिका गएका नेपाली पनि फर्केर आए । काम गरिरहेका छन् । क्षमतायुक्त जनशक्तिको विकास पनि भइरहेको छ । त्यो सबै राम्रो हो । तर, गर्न त धेरै बाँकी छ ।
आईटी पार्कको कुरा गर्नुभयो । जसले यसका लागि काम गर्नुभयो, उहाँहरूको प्रयासको सम्मान गर्दै के पनि भन्छु भने यो कारखाना बनाएजस्तो होइन । आईटी पार्क बनाइदिएँ, अब आईटी उद्योगमा आउँछु भन्नु गलत हो । आईटी उद्योगमा ठाउँको समस्या होइन, यो दिमागको कुरा होे । हामीले आईटी कलेजमा लगानी गर्न सके निजीक्षेत्रका कम्पनीहरूले आफै लगानी गरेर आईटी पार्क बनाउँछन् । यहाँ आधारभूत पक्षमै बुझाइको समस्या छ । 

तपाईंले विदेश गएका आईटीका जनशक्ति पनि फर्केर आउँदै छन् भन्नुभयो । तर, राम्रा जनशक्ति त बाहिरै जान्छन् । उनीहरूलाई यहाँ टिकाउने केही उपाय छ कि ?
आईटीमा आबद्ध हुने व्यक्तिको व्यक्तित्व नै फरक हुन्छ । उनीहरू सबै इन्ट्रोभर्ट (अन्तरमुखी) हुन्छन् । त्यसैले, उनीहरूलाई रोकेर रोक्न सकिँदैन । आईटीमा जो दक्ष छ, उसका लागि पूरा दुनियाँ नै बजार हो । ऊ जहाँ पनि जान सक्छ । उसले काठमाडौं बसेर पनि संसारभरको काम गर्न सक्छ । उसलाई अमेरिका, जापान पनि रेड कार्पेटमार्फत स्वागत गर्न तयार छन् । त्यो अवस्थामा हामीले उनीहरूलाई नेपालमै राख्न चुनौती छ । त्यसैले, उनीहरूलाई यहीं टिकाइराख्ने वातावरण बनाउनुपर्छ । तर, त्यो बनाउन सक्छौं कि सक्दैनौं भन्ने महत्वपूर्ण विषय हो । 

धेरैजसो आईटी कम्पनीहरू आआफ्नो खास क्षेत्रमा केन्द्रित भएका पाइन्छन् । तपाईंको कम्पनीको चाहिं आईटीभित्रै पनि व्यवसायमा धेरै विविधीकरण छ, त्यो किन ? 

किनभने, नेपालमा कुनै पनि कम्पनीको विस्तार समानान्तर (होरिजन्टल) हुने गरेको छ । ठाडो (भर्टिकल) वृद्धि गर्न बजारको आकारको सीमितता छ । ब्याकवार्ड इन्टिग्रेशन गर्ने, फरवार्ड इन्टिग्रेशन गर्ने मामलामा लिमिटेशन छ । त्यस अवस्थामा हुने भनेकै होरिजन्टल ग्रोथ हो । त्यसैले, एउटाबाट अर्काे क्षेत्र र अर्काेबाट अर्काे क्षेत्रमा जानुपरेको हो । यद्यपि त्यो सजिलो पनि छैन । तर, हाम्रो कम्पनीको कुरा गर्ने हो भने यसको आफ्नै डीएनए छ । त्यो डीएनएभित्र कुनै कुरा भ्यालू एड गर्न सक्छौं भने त्यसमा हामीहरू समानान्तर रूपमा विस्तार गर्छौं । 

तपाईंको सफ्टवेयर र हार्डवेयरका प्रक्डक्ट विशेषगरी स्वदेशी वा विदेशीको तुलनामा कत्तिको सस्तो वा महंगो छ ?
हामीले गर्ने सफ्टवेयर भनेको मोबाइलमा साधारण एप इन्स्टल गरे जस्तो होइन । एउटै प्रोजेक्टमा १/ २ वर्ष लगाएर काम गरेका हुन्छौं । हामीसँग परामर्शदाताहरू, विज्ञहरू छन् । सफ्टवेयरको मात्र कुरा आउँदैन । लोकल नलेजको पनि धेरै कुरा आउँछ । बिजनेश सफ्टवेयरकै कुरा गर्ने हो भने हामी निःशुल्कदेखि एकदम उच्च मूल्यसम्मका पनि दिन्छौं । दिएको काम अनुसारको पैसा लिने गर्छाैं । ग्राहकले कुन हदसम्म अटोमेशन गर्न खोजेका छन्, कुन हदसम्म आफ्नो व्यवसायलाई आईटीमार्फत कन्ट्रोल गर्न खोजका हुन्, त्यहीअनुसार शुल्क लाग्छ । 
अब स्वदेशी वा विदेशी प्रडक्टको तुलनामा भन्ने हो भने विदेशी बजारमा प्याकेज सफ्टवेयर छन् । बजारमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्मको प्याकेज सफ्टवेयर छन् । तर, हामीहरूले दिने प्याकेज सफ्टवेयर मात्र होइन । हामीहरू त एउटा प्लेटफार्म हौं । त्यस प्लेटफार्मबाट जसलाई जे चाहिन्छ, त्यहीअनुसार प्रडक्ट विकास गर्ने हो । हामीले गाडी नभएर चेसिस मात्र विक्री गर्ने जस्तै हो । ग्राहकले चेसिस लगेर बस बनाउने कि, ट्रक बनाउने उसको हातमा हुन्छ । 

आईटीमा धेरै रोजगारी सृजना गर्ने हो भने त्यहीअनुसारको शिक्षा तथा शीप हुनुपर्छ ।
 

तपाईंको उद्योगमा ब्याकवार्ड र फरवार्ड इन्टिग्रेशनको सम्भावना के छ ? 

मेरो विचारमा कम्प्युटर्समा यो सम्भव छैन । कम्प्युटर अत्यन्त इन्टिग्रेशन भएको उपकरण हो । यसको मुख्य तत्व सिलिकन हो, माइक्रोचिप हो, सेमिकन्डक्टर हो । यो केही देशका दुई/ तीन कम्पनीले मात्र बनाउँछन् । भारतमा पनि सेमिकन्डक्टर फ्याब एउटै छैन । त्यसका लागि अर्बौं डलरको लगानी चाहिन्छ । नेपालमा त्यो सम्भव छैन । आईटीमा फर्वार्ड लिंकेज भनेको चाहि) सफ्टवेयर र एप्लिकेशन नै हो । त्यसमा कुनै सीमा छैन, जे पनि गर्न सकिन्छ ।

दुनियाँ आईटीमा कहाँ हो कहाँ पुगिसकेको छ । एआईको कुरा पनि छ । त्यसको नेपालमा पनि प्रयोग बढ्दो छ । संसारमा ड्राइभरलेस कार पनि आइसकेको छ । यस विषयलाई कसरी हेर्नुभएको छ ? 

नेपालमा १० वर्ष पुरानो टेक्नोलोजी अपनायौं भने पनि धेरै राम्रो हुन्छ । हामीलाई रकेट साइन्स तत्काल चाहिँदैन । आईटीको आधारभूत विकास हुनुपर्छ, तर त्यो नै भएको छैन । केही पहिलेदेखि चलिरहेकोे टेक्नोलोजीले पनि हाम्रो धेरै आवश्यकता पूरा गर्न सक्छ । त्यसैले, पहिला हामीले आईटीको आधार चाहिँ सृजना गर्नुपर्छ । एआई नै ल्याइहाल्नुपर्छ भन्ने होइन । यो मेरो बुझाइ हो । 
अब विदेशमा आईटी क्षेत्र कुन स्तरमा पुगेको छ भन्ने त मेरो स्तरभन्दा माथिको प्रश्न भयो । तर, मैले सोचेको कुरा के छ भने एक त हाइप पनि धेरै छ । कतिपय मार्केटिङका फन्डा पनि हुन्छन् । कतिपय मान्छे सुन्न चाहने भएकाले पनि मिडियाले त्यस्तो विषयवस्तु दिएको होला । तर, प्रविधि कहिले आउला र त्यसले हाम्रो जीवनमा केही फरक पार्ला भन्ने पनि छैन । कति त त्यस्ता प्रविधि छन्, जुन भित्रभित्रै विकास भइरहेका छन् र तिनले हाम्रो जीवनमा परिवर्तन पनि ल्याएका छन् । तर त्यसमा त्यति ग्ल्यामर छैन । विश्वमा केही राम्रा प्रविधि पनि आएका त छन् । तर, वास्तविक जीवनमा हेर्ने हो भने त्यसबाट केही पक्षमा नराम्रो पनि गरेको हुन सक्छ । उदाहरणका लागि क्रिप्टोकरेन्सी, ब्लकचेन प्रविधिलाई लिन सकिन्छ । 

नेपालमा आईटीका अझै कस्ता कस्ता आयाम आउन बाँकी छ जस्तो लाग्छ ? 

आईटीमा डेटा सेन्टर निकै महत्वपूर्ण हुन्छ । त्यसका लागि जलविद्युत् र चिसो पानी चाहिन्छ । र, हामी कहाँ यी दुवै चीज छन् । त्यो अवस्थामा गूगल, माइक्रोसफ्ट जस्ता विश्वका ठूला कम्पनीलाई नेपालमा डेटा सेन्टर राख्न प्रोत्साहन गर्नुपर्छ । यसमा पनि मैले सम्भावना देखेको छु । 

प्रविधिले आम सर्वसाधारणको दिनचर्या सहज बनाइरहेको छ । जीवनका थुप्रै पाटाहरूमा आईटी इनेबल्ड सर्भिस प्रयोग गर्न सकिन्छ । सो क्रममा अब नेपालमा प्रविधिका के कस्ता सेवा ल्याउन सकिन्छ ? 
धेरै कुरा गर्न सकिन्छ । पहिला प्रविधि एउटा क्षेत्र मात्र थियो । तर, अहिले त्यस्तो छैन । मेरो विचारमा अहिले कुनै पनि त्यस्तो क्षेत्र छैन, जहाँ आईटी नहोस् । आजको दिनमा आइसक्दा हरेक क्षेत्रमा आईटीको विकास भएको छ । पहिला बैंकहरू वित्तीय संस्थाका रूपमा मात्र थिए । तर, अहिले सूचना व्यवस्थापन गर्ने कम्पनीका रूपमा पनि स्थापित छन् । यसैगरी स्वास्थ्य, कृषि लगायत थुप्रै क्षेत्रमा सूचना प्रविधिको विकास भइसकेको छ । ती ल्याउन सके राम्रो हुन्छ । 

नेपालमा पछिल्लो समय धेरै स्टार्टअप कम्पनीहरू आइरहेका छन् । त्यसमा अधिकांश आईटी सम्बन्धी कम्पनीहरू छन् । तपाईं पनि आईटी क्षेत्रमा स्टार्टअप कम्पनीको रूपमा आउनुभएको हो त ? 

कुन स्टार्टअप हो, कुन होइन भन्ने परिभाषा नै गर्न मिल्दैन । तर, मेरो समूह स्टार्टअपहरूमा आबद्ध भने छ । वित्तीय, व्यवस्थापन, प्रविधि लगायतका रूपमा ६/ ७ ओटाभन्दा बढी स्टार्टअप कम्पनीमा म आबद्ध छु । पहिला टुटलमा समेत आबद्ध थिएँ । पछि बाहिरिएँ । नयाँ पुस्ताले जुन हिसाबले स्टार्टअपबारे सोच्छन्, त्यो मलाई कहिलेकाँहीं अलि असजिलो लाग्छ । कसरी भने, स्टार्टअप गर्ने हो भने सबै कुरा सही हुनुपर्‍यो । नयाँ सोच सबैसँग हुन्छ । चाहियो भने म अहिले नै १० ओटा आइडिया दिन्छु, त्यसको कमी छैन । न त पैसाको नै कमी छ । समस्या शिक्षाको हो । त्यो भएन भने स्टार्टअप कहिले पनि टेकअफ गर्दैन । स्टार्टअप व्यवसाय कसरी असफल हुन्छन् भनेर गुगलमा खोजे हुन्छ । त्यहाँबाट पनि धेरै कारण थाहा पाउन सकिन्छ । त्यस विषयलाई मात्र गम्भीर रूपमा लिइयो भने सफल हुन सकिन्छ । 
स्टार्टअपमा बिजनेश मोडल सही हुनुपर्छ । त्यो मिल्यो भने मात्र लगानीकर्ता आउने हो । आए भने पनि नेपालमा कति थप पैसा दिलाउन सक्ने लगानीकर्ता आउन सक्छन् भन्ने पनि झन् बढी महत्वपूर्ण विषय हो । भारतमा पनि बाहिरका केही कम्पनीले दशौं वर्षपछि पनि नाफा कमाउन सकेका छैनन् । नेपालले यस्तो विषयलाई पनि ध्यान दिन आवश्यक छ ।

स्टार्टअप व्यवसायका लागि प्रतिबद्धता, योजना, शिक्षा, खटाइ लगायत विषयको कमी छ भन्नुभयो । त्यसबाहेक नीतिगत रूपमा पनि केही समस्या छन् कि ? तपाईंको अनुभव भनिदिनुस् न ।

प्रविधि जहिले पनि नियमभन्दा अगाडि हुन्छ । हामीले टुटल ल्याउने बेलामा पनि त्यस सम्बन्धी नीतिगत व्यवस्था थिएन । त्यसबेला के गर्ने कसो गर्ने भनेर द्विविधा थियो । फिनटेक पनि नीति भन्दा पहिला नै आएको हो । पहिला चारपांग्रे गाडी ल्याउने बेलामा पनि नीति थिएन । घोडागाडी मात्र थिए । यहाँ मात्र होइन, अन्य देशमा पनि त्यस्तै हो । यस्तै, वास्तविकता पनि जाँच गर्नुपर्छ । सफल हुने स्टार्टअपहरूलाई मात्र हेरेर हुँदैन । स्टार्टअपमा ९९ प्रतिशत असफल छन् । त्यसलाई पनि हेर्नुपर्छ । मैले यसमा निरुत्साहन गर्न खोजेको होइन, त्यसबाट पनि पाठ सिक्नुपर्छ भनेको हो ।

तपाईंले टुटल किन छोड्नुभयो त ? 
एकै ठाउँ बसिरहनुभन्दा त्यहाँबाट अन्त सर्दै जानपर्छ, त्यसैले । लगानी गर्ने क्षमताको विषय थियो । त्यसैले त्यहाँबाट बाहिरिएँ । 

गूगल, माइक्रोसफ्ट जस्ता विश्वका ठूला कम्पनीलाई नेपालमा डेटा सेन्टर राख्न प्रोत्साहन गर्नुपर्छ ।

स्टार्टअपहरूको विषयमा तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?

म धेरै आसावादी छु । तर, रियालिटी चेक भने गर्नुपर्‍यो । १०० प्रतिशत व्यवसायी सफल हुन्छन भन्ने पनि छैन । तसर्थ, अलिकति हाइप र रियालिटीको पर्दाबाट बाहिर निस्कनु पर्छ । 

नेपालमा स्टार्टअप व्यवसायीहरू किन असफल भएका होलान् ? सरकारले सहयोग नगर्दा हो या अन्य कुनै कारण हो ?

सरकारले कर उठाउने कुरामा म दोष दिन चाँहन्न । त्यसले गर्दा नै व्यवसाय असफल हुने पनि होइन । तर, सरकारले शीपयुक्त जनशक्ति विकास गराउने, शिक्षाको इको सिस्टम, म्यानेजमेन्टको इको सिस्टम बनाउने, लोकल स्पार्क गर्ने मामलामा काम त गर्नुपर्दथ्यो, त्यो भने भएन । 
यस्तै, यो केही विवादास्पद पनि हो । नेपालको स्टार्टअपमा विदेशी कम्पनीहरू पनि आइरहेका छन् । त्यो हाम्रा लागि कति ठीक हो होइन, त्यतातिर नजाऔं । तर, त्यो प्रविधि त नेपालमा विकास भएको होइन । नेपालमा रोजगारी सृजना भएको होला, सेवासुविधा पनि बढ्यो होला । त्यो राम्रो हो । तर, ती विदेशी कम्पनीहरूलाई प्रविधिमा पनि केही लगानी गर्न लगाएको भए राम्रो हुन्थ्यो । यसमा सरकारले केही नीतिगत व्यवस्था गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । यदि, नेपालमा बजार छ भने उनीहरूले पनि केही न केही त लगानी गर्नुपर्‍यो नि । विदेशी कम्पनीले यहाँको शीप विकास, स्थानीय संसाधन विकासमा समेत लगानी गर्ने नीति ल्याउनुपर्छ । 

तपाईं टुटलको शुरूको प्रमोटर हुनुहुन्छ । राइड शेयरिङ कम्पनीहरूमा अहिले टुटल धेरै पछाडि परेको जस्तो छ । हो ? 

म टुटलमा धेरै छोटो समय मात्र थिएँ । त्यसकारण धेरै कुरा मैले भन्न मिल्दैन । हामी खुला बजार अर्थतन्त्रमा छौं । हामी सबै कुरामा दक्ष हुन सक्दैनौं । प्रतिस्पर्धी कम्पनीहरूसँग अनुभव पनि बढी थियो । हामीले पनि प्रयास त गरेको हो । तर, सकिएन । खुला बजार अर्थतन्त्रमा यसलाई स्वाभाविक मान्नुपर्छ ।
यस्तै, प्रतिस्पर्धी कम्पनीहरूसँग डीप पकेट्सका कारण पनि यस्तो भयो जस्तो लाग्छ । प्रतिस्पर्धी कम्पनीहरूसँग लगानी पर्याप्त थियो । तैपनि, हामीले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने प्रविधिको विकास त गरेको हो नि । त्यसलाई विदेशमा पनि विक्री गर्न सकिन्थ्यो । यो राम्रो पक्ष हो । 
मेरो कम्पनीको कुरा गर्ने हो भने, हामी नेपालै सफ्टवेयर बनाउँछौं । तर, अन्तरराष्ट्रिय बजारमा बेच्ने सक्ने अवस्थामा पुगिएको छैन । प्राविधिक रूपमा त्यो स्तरमा पुगे पनि मार्केटिङ स्कील छैन, पहुँच छैन । यस्ता धेरै पक्षहरूले यसमा असर गर्छन् । 
आईटी कम्पनीहरूलाई अन्तरराष्ट्रिय बजारमा जान सरकारको सहयोग हुनुपर्छ भन्ने हो ? 

पूरै त होइन, तर केही सहयोग त गर्नुपर्छ नै । किनकि, सरकार त हाम्रो अभिभावक हो । तर, सरकारले कुन रूपले सहयोग गर्ने भन्नेमा हाम्रो अपेक्षा पनि वास्तविकतामा आधारित हुनुपर्छ । सरकारले अमेरिकाबाट ग्राहकै खोजेर ल्याएर दिने त होइन । तर, अमेरिकामा गएर कार्यालय खोल्न सक्छौ भनेर नीति ल्याउन सक्छ नि । यस्तो सहयोग हुनुपर्छ । 

यस्तै, नेपालमा बसेर विदेशको काम गरेकालाई तलबको पैसा ल्याउन पनि गाह्रो छ । किनभने, नेपालमा पेमेन्ट गेटवे नै त्योअनुसारको भएन । क्रेडिट कार्डबाट भुक्तानी लिन उस्तै गाह्रो छ । यिनीहरू कर बचाउन नेपालमा पैसा ल्याउँदैनन् भन्ने छ । तर, त्यस्तो होइन । यसरी काम गर्ने साथीहरूले पैसा नेपालमै ल्याउन खोजेका छन्, तर त्यसका लागि प्रणाली त हुनुपर्‍यो नि ।

आईटी पार्क बनाइदिएँ, अब आईटी उद्योग आउँछ भन्नु गलत हो ।
 

योबाहेक स्टार्टअपहरूका अरू के के समस्या छन् ? 

पहिला फाइनासिङमा समस्या थियो । तर, अहिले छैन । एन्जल इन्भेस्टरहरू पनि आइसकेका छन् । कसैले राम्रो बिजनेश आईडिया लिएर आउँछ र त्यसले सामाजिक प्रभाव पार्छ भने उसलाई पैसाको समस्या हुँदैन । गैरसरकारी संस्थाहरूले अनुदानसम्म दिन्छन् । तसर्थ, लगानीमा समस्या छैन । कसैले पाइनँ भन्छ भने उसले खोज्ने प्रयास पर्याप्त गरेन भन्ने अर्थ लाग्छ । तर, सबैलाई यस्तो ज्ञान छ कि छैन भन्ने चाहिँ अर्कै कुरा हो । यस्तो अवसरबारे हामीलाई त थाहा छ, तर दाङको मान्छेलाई चाहिँ थाहा नहुन पनि सक्छ । 

तपाईं ई–कमर्शमा पनि हुनुहुन्छ ? 
छु । नियोस्टोर डटकमडट एनपी । यो १५ वर्षजति भयो । विश्वास गर्नुहुन्न होला, आजभन्दा २० वर्ष पहिला नै मैले ई–कमर्श साइट शुरू गरेको थिएँ । नेपालबाट पश्मिना निर्यात गर्नेगरी यतिशप डटकम सञ्चालन गरेको थिएँ । तर, त्यसबेला पेमेन्ट गेटवेले गर्दा समस्या भयो । बैंकहरूले पेमेन्ट गेटवेको व्यवस्था गर्न मान्नु भएन । तसर्थ, त्यो त्यति प्रभावकारी भएन । अहिले पनि मैले १/ २ ओटा नयाँ प्रोजेक्ट शुरू गरेको छु । समय आएपछि यसबारे बताउँला । 

स्टार्टअपहरूका लागि छुट्टै कानून भयो भने सजिलो हुन्छ भन्ने तपाईंको सोच हो ? 
स्टार्टअपलाई छुट्टै कानून किन चाहियो ? उनीहरू व्यवसाय होइनन् र ? स्टार्टअपको जुन व्यवसाय हो, सोही व्यवसाय सम्बन्धी ऐन अनुसार काम गर्नुपर्छ । 

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

गणेश

[Jun 30, 2022 12:33pm]

स्वदेशी IT कम्पनी बाट कमिसन खादा पोल खुलिहाल्छनी!! किकसो...



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)