असार १८, वीरगञ्ज । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले मधेश प्रदेशमा बजार अनुगमनलाई तीव्र पारेको छ ।
खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यावसायीले मनपरी गरेको गुनासो आएपछि बजार अनुगमनलाई तीव्र पारिएको कार्यालयका सूचना अधिकृत दिलीप खंग खत्वेले बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेतले बजार अनुगमनलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएको थियो । कार्यालय प्रमुख नमोनाथ प्रसाद यादवको नेतृत्वमा जिल्लास्थित प्रशासन, प्रहरी, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योग र उद्योग वाणिज्य संघको रोहवरमा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उपभोक्ता हितविपरीत काम गरेको पाइएपछि बाराका ८, पर्साको वीरगञ्जमा ४, सप्तरीको राजविराजमा ८ र सिरहाको लहानमा ४ ओटा व्यापारिक फर्मलाई कारवाही गरेको पनि सूचना अधिकृत खत्वेले बताए ।
ती फर्मलाई जरीवाना तोकिएको र ७ दिनभित्र जरीवाना दाखिलाको भौचर लिएर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिए ।