असार १८, वीरगञ्ज । राजस्व अनुसन्धान विभाग DRI ले राजस्व चुहावट अभियोगमा ‘अनुचित’ तरिकाले ढुवानी व्यवसायीलाई फसाउन खोजेको व्यवसायीले बताएका छन् ।
विभागले राजस्व छलीमा वीरगञ्जको पशुपति रोड क्यारियर्स र सञ्चालकलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
विभागले बुटवलको न्यू मनकामना सप्लायर्सले काठमाडौं पठाएको मालसामानमा राजस्व चुहावट गरेको आरोपसहित मालसामान ढुवानी गर्ने पशुपति क्यारियर्ससहित १३ ओटा व्यापारिक फर्म र तिनका सञ्चालकलाई विपक्षी बनाएर यही असार १४ गते उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।
भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश करलगायतका राजस्व छलेको आरोपसहित राजस्व अनुसन्धानले मुद्दा हालेको छ । विभागले १८ महीनासम्म अनुसन्धान गरेर मुद्दा हालेको थियोे ।
‘मिलेमतो’मा राजस्व चुहावट गरेको भन्दै विभागले प्रतिवादीबाट २२ करोड १९ लाख रुपैयाँ जरीवाना र कैद सजायको दाबी गर्दै मुद्दा हालेको छ । मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मार्फत भएको ढुवानीमा मालधनीले राजस्व चुहावट गरेको पाइएमा त्यसमा ढुवानी व्यवसायीको कुनै संलग्नता नहुने दाबी अध्यक्ष खनालले गरे । विभागले नै ‘भीसीटीएसमा प्रविष्ट गरी’ ढुवानी भएको उल्लेख गरेको छ ।
व्यापारिक फर्मको भ्याट बीलसहितको विवरण भीसीटीएसमा समावेश गरेर ढुवानी गरेकाले मालधनी फर्मले राजस्व चुहावट गरेकोबारेमा आफूलाई जानकारी नहुने पशुपति रोड क्यारियर्सका सञ्चालक राजेन्द्रप्रसाद गुप्ताले बताए । ‘मालधनीले राजस्व छलेको छ भने ऊ कारवाहीको भागिदार हुनु स्वाभाविक भए पनि ढुवानी गर्ने व्यवसायीलाई फसाउन खोज्नु अन्याय भएको गुप्ताको भनाइ छ ।
‘हामीले त भ्याट बील सक्कली हो कि होइन भनेर अनलाइनबाट परीक्षण गर्ने र भीसीटीएसमा प्रविष्ट गर्ने हो । त्यस्तो फर्मले राजस्व छलेको छ भने राजस्वले त्यो फर्मलाई कारवाही गरोस् । ढुवानी व्यवसायीलाई जबर्जस्ती फसाउनु अन्याय भयो’, उनको गुनासो छ ।
विभागको भीसीटीएसले बील र भ्याट नम्बरमात्र रुजु गर्ने गरेको छ । प्रणालीले मालसामानको स्रोत नखोज्दा भन्सार तिरेर भित्रिएको हो कि होइन भन्ने तत्काल यकिन हुन सक्दैन । यो मुद्दामा मुख्य कारोबारी भनिएका न्यू मनोकामना सप्लायर्सका सञ्चालकसमेत राजस्वको सम्पर्कमा छैनन् ।
न्यू मनोकामनाले काठमाडौंको संग्रिला एक्पोर्ट र राज फेन्सी कर्नरलाई विक्री गरेको मालसामान पशुपति रोड क्यारियर्सले ढुवानी गरेको थियो । मालसामानको बीलदेखि मालसामान बुझाएको भर्पाइसमेत आफूसँग सुरक्षित रहेको गुप्ताले बताए ।
अनलाइन प्रणालीमा भ्याट बील रुजु गरेर विभागको भीसीटीएस प्रणालीमा प्रविष्ट पश्चात ढुवानी गरिएकोले ढुवानीकर्तामाथि मुद्दा हाल्नु अनुचित भएको अध्यक्ष खनालको भनाइ छ । आफूहरूले शुरूदेखि नै विभागका महानिर्देशकलाई भेटेर ढुवानी व्यवसायीलाई दुःख दिइनु अनुचित भएको बताउँदै आए पनि सुनुवाई नभएको उनले बताए ।