असार १९, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले भारतबाट हुने डस्टी कार्गो ढुवानीमा बारम्बर दोहोरिने समस्याको स्थायी समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।
वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट वीरगञ्ज हुँदै भित्रिँदै आएको यस्तो कार्गोलाई भारतीय भन्सारले अन्य रुटबाट लैजान दिने तयारी गरेपछि व्यापारीले सरकार गुहारेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको अगुवाइमा संघका पदाधिकारीले आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर डस्टी कार्गो व्यवस्थापनको स्थायी समाधानको माग गरेका हुन् ।
मन्त्रीलाई भेट्न वीरगञ्जका व्यापारी काठमाडौंस्थित मन्त्रालमै पुगेका थिए । भारतीय रक्सौल कस्टमले यही जुलाई १ तारिखदेखि रक्सौलबाट लक्ष्मीपुर हुँदै नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) बाट डस्टी कार्गो ढुवानी गर्न निर्देशन दिएको थियो । आयातकर्ताको आग्रहपछि यो समयसीमालाई जुलाई महीनाभरि लम्बाइएको छ ।
वीरगञ्जको सुक्खा बन्दरगाह र आईसीपीबीचको ६२ बीघा जग्गाको अधिग्रहण तत्काल टुंगो लगाएर सो जग्गामा डस्टी कार्गोको स्थायी व्यवस्थापन गरिनुपर्ने माग स्वदेशी आयातकर्ताको छ । यो विकल्प तयार नहुँदासम्म रक्सौल–वीरगञ्ज बाटो स्तरोन्नति गरेर त्यही रुटबाट ढुवानीको व्यवस्था मिलाइदिन मन्त्री बडुलाई आग्रह गरे ।
सरकारले जग्गा अधिग्रण गरी बन्दरगाह आईसीपी भन्सारलाई एकै ठाउँमा गाभ्ने योजना बनाए पनि गति लिएको छैन । ५ वर्षअघि नै यो योजना बनेको थियो । अहिलेसम्म मुआब्जा बितरणको काम सकिएको छैन । वीरगञ्ज नाकाबाट दैनिक ३०० देखि ४०० ट्रक यस्तो कार्गो भित्रिने आयातकर्ता बताउँछन् ।
भारतीय रेलको रक्लौल यार्डमा अनलोड हुने कोइला, आइरन ओर, स्ल्याग, आइरन ब्लेड, आइरन रोललगायतका औद्योगिक कच्चा पदार्थ यहाँबाट भित्रिने गरेको छ । साल्ट ट्रेडिङले नुन र मलखाद पनि यही नाकाबाट भित्र्याउने गरेको छ ।
रक्सौल–वीरगञ्ज रुटबाट डस्टी कार्गोको आवागमन बन्द हुने भएपछि आयातकर्ताले त्यसको सहज विकल्पको माग गर्दैआएका छन् । रक्सौल रेल्वेदेखि रक्सौलको लक्ष्मीपुर हुँदै आईसीपीसम्मको सडकबाट ढुवानी गर्न अत्यन्तै असहज र महँगो पर्ने संघका उपाध्यक्ष माधव राजपालले बताए ।
आईसीपीसम्म जाने वैकल्पिक बाटो अत्यन्तै साँघुरो रहेको र लक्ष्मीपुर–आईसीपी सडकसमेत २ लेनमात्र भएकाले सडकको स्तरोन्नति नभएसम्म साविककै रुटबाट ढुवानी गर्न पाउनुपर्ने माग राजपालको छ । रक्सौल रेल स्टेशनबाट लक्ष्मीपुरसम्म अत्याधिक जाम हुने भएकाले रक्सौल कस्टमका अधिकारीहरूले राति ९ बजेपछि यस्तो कार्गो ढुवानी गर्न भनेका छन् । यसबाट आयात झन् समस्याग्रस्त हुने व्यापारी बताउँछन् ।
व्यवसायीसँगको भेटमा मन्त्री बडुले नाका र बन्दरगाहको सहजीकरण तथा प्रभावकारी व्यवस्थापनको आश्वासन दिएको राजपालले जानकारी दिए । बारा–पर्सा औद्योगिक कोरिडोरका फलाम उद्योग र अधिकांश सिमेन्ट उद्योगले कच्चा पादर्थ भित्र्याउने गरेका छन् ।
यो नाकामा यस्ता बस्तुको आयातमा बारम्बार बखेडा हुँदै आएको छ । केही वर्षअघि रक्सौलका स्थानीयले क्लिंकर लोडअनलोडमा अवरोध गरेपछि आयातकर्ताले १५० किलोमीटर टाढाको नारायणपुर स्टेशनबाट क्लिंकर ओसारेर काम चलाएका थिए । त्यतिबेलैदेखि सीमावर्ती स्वदेशी भूभागमै यसको व्यवस्थापनको माग उठे पनि सम्वोधन हुन सकेको छैन ।