ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिशूली गल्छी जलविद्युत् : डम्पिङ आयोजना क्षमता घटाएर बनाइँदै

२०७९ असार, २०  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अनेक जोखिम देखिएपछि डम्पिङ गरिएको त्रिशूली गल्छी जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनी अपि पावरले क्षमता घटाएर बनाउने भएको छ । पहिला ७५ मेगावाट क्षमतामा बनाउने भनिएको आयोजना कम्पनीले घटाएर ३० मेगावाटमा बनाउन लागेको हो ।

अपि पावरले ७५ मेगावाट क्षमतामा उक्त आयोजना बनाउने भनेर २०७५ मा उत्पादन लाइसेन्स लिएको थियो । त्यसमा विभिन्न जोखिम देखिएपछि आयोजना बनाउने निर्णयबाट कम्पनी पछि हटेको थियो । फलस्वरूप आयोजना स्वतः सरकारको बास्केटमा गइसकेको थियो । अहिले आएर प्रवर्द्धक अपि पावरले क्षमता घटाएर उक्त आयोजना बनाउने गरी प्रक्रिया अघि बढाएको हो । 

उक्त आयोजनाको अनुमानित लगानी बढ्ने र भौगोलिक जोखिम पनि बढी देखिएपछि अपि पछि हटेको थियो ।

नुवाकोटकोे तारकेश्वरमा बन्ने उक्त आयोजनामा ८ दशमलव १ मीटर व्यासको ८ दशमलव ३ किलोमीटर लामो सुरुङ बनाउने भनिएको थियो । त्यति ठूलो सुरुङ भौगोलिक रूपमा निकै जोखिमपूर्ण हुने देखियो । त्यो अवस्थामा कुनै पनि बेला सुरुङ भत्केर आयोजना ‘कोल्याप्स’ हुन सक्ने सम्भावना समेत देखिएको कम्पनीको भनाइ छ । 

प्रवर्द्धकका अनुसार पहिला १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा बढेर २३ अर्ब रुपैयाँ पुग्ने तर आयोजनाले लगानीअनुसार प्रतिफल दिने सम्भावना देखिएन । यसले कम्पनीको वित्तीय सूचकहरू पनि प्रभावित हुने देखियो । त्यसपछि उक्त आयोजना बनाउने प्रक्रियाबाट अपि बाहिरिएको थियो । अब उक्त आयोजनालाई क्षमता घटाएर बनाउने अपि पावरका संस्थापक अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । 

‘उक्त आयोजना नबनाउने भएपछि स्वतः सरकारको बास्केटमा गएको थियो । अब त्यसको क्षमतासँगै संरचना पनि परिवर्तन गरेर निर्माण गर्नेछौं,’ उनले भने, ‘अब आवश्यक कानूनी प्रक्रिया पूरा गरेर निर्माण प्रक्रिया अगाडि बढाउँछौं ।’

कम्पनीले अब आयोजनाको पुनः वातावरण प्रभाव मूल्यांकन गर्नुपर्छ । न्यौपानेका अनुसार त्यो काम भइरहेको छ । सकिएपछि यसअघिको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन संशोधन हुन्छ । त्यसपछि सरकारसँग यसअघि उत्पादन लाइसेन्स, आयोजना विकासलगायत विषयमा भएका सम्झौता संशोधन हुनेछ । अनि नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) पनि संशोधन हुनेछ । त्यसपछि ऋण लगानी जुटाएर आयोजना निर्माण प्रक्रिया अघि बढ्ने न्यौपानेको भनाइ छ । 

अब उक्त आयोजनामा सुरुङ हुने छैन । खोलामा बाँध बनाएर सीधै पेनस्टक पाइपबाट पानी लगेर विद्युत् उत्पादन गरिनेछ । यसरी बनाउँदा ५ अर्ब ४० करोड खर्च लाग्ने अनुमान छ । त्यसमा ३० प्रतिशत कम्पनीले स्वपूँजी लगानी गर्नेछ । ७० प्रतिशत लगानी ऋणमार्फत जुटाइने न्यौपानेको भनाइ छ । कम्पनीले आगामी वैशाखदेखि निर्माण शुरू गर्ने योजना बनाएको छ । निर्माण शुरू भएको २ वर्षमा उत्पादन थाल्ने लक्ष्य रहेको न्यौपानेले बताए । कम्पनीले पहिला उक्त आयोजना बनाउन साझेदार लगानीकर्तासँग स्वपूँजी (इक्विटी) समेत संकलन गरेको थियो । आवश्यक जग्गा पनि खरीद गरिसकेको थियो । जग्गा खरीद गर्नेलगायत काममा कम्पनीले झन्डै ५० करोड लगानी गरिसकेको न्यौपानेको भनाइ छ । लक्ष्मी बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)