असार २०, धनुषा । मधेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः शुरू भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको उक्त कार्यक्रम सोमबारदेखि पुनः सुचारु भएको मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक चूडामणि फुयाँलले जानकारी दिए ।
यसका लागि ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसअघि बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौता गरिएको थियो ।
बीमा कार्यक्रम २०७८ माघ १ पछि जन्मिएका छोरीहरूको लागि शुरू गरिएको हो, जसअन्तर्गत २० वर्षपछि रू तीन लाख दिइनेछ । सो कार्यक्रमअन्तर्गत प्रतिबीमा रू ३७ हजार ४५७ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् । रासस