वीरगञ्ज । जगदीशप्रसाद अग्रवालले जीवनको ऊर्जाशील २८ वर्ष जागीरमा बिताए । उनले सन् १९६७ मा विराटनगरबाट जागीरे जीवन शुरू गरेका अग्रवाल अहिले वीरगञ्जलाई आधार बनाएर विस्तार भइरहेको निम्बस समूहको अध्यक्ष छन् । जागीरका क्रममा पाएको अनुभव, आफ्नै उद्यम गर्ने भोक र असफलताबाट सिकेको पाठले अग्रवाललाई औद्योगिक क्षेत्रमा स्थापित गरेको हो ।
सन् १९४५ मा भारतको राजस्थानमा जन्मेका अग्रवालले कोलकाता विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातक सकेपछि विराटनगरको औद्योगिक घराना मदनलाल चिरञ्जीलाल समूहमा जागीर शुरू गरेका थिए । पुख्र्यौली कपडा व्यापारमा सोचेजस्तो सफलता नपाएको बुझेका अग्रवालले जागीरमा लाग्ने निधो गरेका थिए ।
स्नातकपछि उच्च शिक्षाको चाहना र परिवार सम्हाल्ने चुनौतीले उनलाई जागीरे बनाएको थियो । त्यसबेला उनी व्यापारको अनिश्चितताभन्दा जागीरको सुनिश्चित आयले जीवनयापन सहज हुने निष्कर्षमा पुगे । आफ्नो व्यावसायिक जीवनमा स्वर्गीय मदनलाल अग्रवालको ठूलो योगदान रहेको ठान्छन्, जगदीश ।
‘उहाँले मलाई विराटनगर बोलाएर जागीर दिनुभयो । विभिन्न संघसंस्थामा अघि बढाउनुभयो, जसले मलाई अध्ययन र अन्य क्षेत्रमा सिकेका कुरालाई व्यवहारमा उतार्न सहज भयो’, उनी सम्झन्छन् ।
सन् १९७० मा उनले हेटौंडामा खुलेको नेपालकै पहिलो मदिरा उद्योग नेपाल ब्रुअरी सम्हाल्ने जिम्मेवारी पाए । कुनै पनि विषयमा गहिरो अध्ययन र जानकारी राख्ने स्वाभावका अग्रवालले त्यहाँ काम गर्दा बियर उत्पादन र प्रशासनबारे धेरै कुरा सिके । उनैले नेपाल ब्रुअरीलाई देशकै नमूना उद्योगका रूपमा स्थापित गरे ।
जगदीशले त्यही बेला अमेरिकामा बियर उत्पादनबारे जानकारीमूलक तालीममा सहभागी हुने मौका पाए । ‘त्यो अवसरले मलाई धेरै ज्ञान दियो । त्यसले देखाएको बाटोले नै मैले २८ वर्ष बियर उत्पादन क्षेत्रमा काम गरें,’ अग्रवालले भने । अग्रवालले नेपाल ब्रुअरीको स्थापनादेखि स्वामित्व विक्री हुँदासम्म नेतृत्व गरे । उनैको नेतृत्वमा नेपाल ब्रुअरी नेपालका प्रमुख १० उद्योगमा परेको थियो ।
त्यसले ब्रुअरीसँगै हल्का पेय पदार्थ, पिउने पानी, पानीको बोटल उत्पादन गथ्र्यो । अहिले पनि उनले नेतृत्व गरेको निम्बस समूह उदाहरणीय र अरूभन्दा अलग पहिचानसहित स्थापित छ । यो समूहको प्रोबायोटेक इन्डस्ट्रीले न्यू बिजनेश एज प्रालिबाट बेस्ट म्यानेज्ड कम्पनीको अवार्ड पाएको छ ।
अग्रवाललाई आफूले जागीर खाए पनि छोराछोरीले आफ्नै काम गर्नुपर्छ भन्ने लाग्थ्यो । यही स्वाभावका कारण उनले जागीर वा आफ्नै उद्यम जहाँ पनि नयाँ कामको थालनी गरे । ब्रुअरीमा जागीरे हुँदा नेपालमा पहिलोपटक पेप्सी बनाउने योजना उनैले ल्याएका थिए । ब्रुअरीका साझेदार प्रेरित गरेर पेप्सी भित्र्याए पनि ।
विदेशी बियर ब्रान्डको आगमनसँगै अनेक प्रयास गर्दागर्दै पनि नेपाल ब्रुअरीले प्रतिस्पर्धा गर्न सकेन र सन् १९९५ मा त्यो कम्पनी बेचियो । नयाँ व्यवस्थापनले जिम्मेवारी दिए पनि पहिले स्वतन्त्र रूपमा काम गरेको कम्पनीमा नयाँ व्यवस्थापनको अरनखटन काम गर्न मनले नमानेपछि त्यहाँबाट बाहिरिए ।
त्यतिबेला अग्रवालका जेठो छोरा आनन्दले पढाइ सकेर आफ्नै काममा हात हालिसकेका थिए । छोरा आनन्द र बुहारीले भारतको चकलेट, चिप्सलगायत कम्पनीको एजेन्सी लिएर काम अघि बढाए । त्यसमा नोक्सान भयो ।
त्यतिबेला आफूहरूसित नोक्सान सहने बानी र क्षमता दुवै नभएको ठान्छन् अग्रवाल । अहिले अग्रवालको व्यवसाय छोरा आनन्दले सम्हालिरहेका छन् । कान्छो छोरा उमंग पनि अस्ट्रेलियामा व्यवसायमै सक्रिय छन् । अहिलेको उद्यम यात्रामा जेठो छोरा आनन्दको ठूलो योगदान रहेको ठान्छन् उनी ।
आफ्नै उद्यम चलाउने क्रममा थाइल्यान्डको बैंककमा पोल्ट्री ट्रेड फेयरमा सहभागी हुन गएका आनन्दले कुखुराजन्य उत्पादन तथा व्यवसायको चरण र अवसरबारे जानकारी प्राप्त गरे । सन् २००० मा डेढ करोड लगानीमा पर्साको जगरनाथपुरमा कुखुरा दानाको प्रिमिक्स उद्योग स्थापना भयो । सन् २००६ मा प्रोबायोटेक प्रालिबाट शक्ति ब्रान्डमा पशु आहार बनाउन शुरू गरे । ‘अहिले नेपालमा ३५ ओटा दाना उद्योग छन् । तर, आधुनिक र वैज्ञानिक तरीकाले दाना बनाउने कामको थालनी हामीले नै गर्यौं । त्यसपछि त दाना उद्योगमा एउटा शृंखला नै शुरू भयो’, अग्रवाल भन्छन् ।
वीरगञ्जमा उत्पादन गरेर ढुवानी गर्दा भाडा बढी परेपछि इटहरी, कोहलपुर र चितवनको टाँडीमा पनि दाना उद्योग खोलेका छन् । यसको ब्याकवार्ड इन्टिग्रेशनमा बोरा उत्पादन आयो । भटमासको पिनाका लागि भटमासको तेल उद्योग जन्मियो । यसै क्रममा भटमास, सूर्यमुखी, तोरी तेल, दाल, सोया मस्यौरा, माछाको दाना, कुखुरा, गाईभैंसी, बाख्राको दाना, कुकुरको दाना उत्पादन जोडिँदै गएको अग्रवालले बताए ।
केही समय उद्योगमा मात्र केन्द्रित भएको निम्बस समूह अहिले व्यापारमा पनि अग्रसर छ । मकै, गहुँ, दाल, भटमास, बीउ, तेलको व्यापार पनि अगाडि बढाएको छ । कृषि भण्डारणको लागि विराटनगर, पर्सा र कपिलवस्तुमा काम भइरहेको छ । समयअनुसार छोड्ने र नयाँ थप्ने क्रम चलिरहेको अग्रवालले बताए ।
अग्रवाल आफू आबद्ध क्षेत्रको पूर्ण जानकारी हुनुपर्ने मान्यता राख्छन् । कुनै पनि उद्यमलाई स्थिर राख्नु हुँदैन, प्रगति गर्नुपर्छ, समयअनुसार पुरानोलाई अध्यावधिक गर्नुपर्छ या छाड्नुपर्छ । उद्यममा ब्याकवार्ड र फरवार्ड इन्टिग्रेशनलाई रणनीतिको रूपमा अपनाउनुपर्ने उनी ठान्छन् । व्यवसाय गर्दा कानून परिपालना र उपभोक्ता हितलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने उनको दर्शन छ ।
व्यावसायिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यताका पक्षपाती हुन् उनी । खुला अर्थतन्त्रका पक्षधर अग्रवाल यसले अपेक्षा गरेजति सामाजिक उपलब्धि दिन नसकेको ठान्छन् । यसलाई परिणामुखी बनाउन सरकारको उदार नियमनको खाँचो देख्ने अग्रवाल निजीक्षेत्रले समाजप्रतिको दायित्व निर्वाह गर्नुपर्नेमा पनि उत्तिनै स्पष्ट छन् ।
संस्थागत संलग्नता
हेटौंडामा ८ वर्ष बस्दा अग्रवालले मकवानपुर उद्योग वाणिज्य संघमा सहभागी हुने अवसर पाए । संघका तत्कालीन अध्यक्ष रामकृष्ण गोर्खालीले उनलाई संघमा ल्याएका थिए । पछि उनको अग्रसरतामा हटौंडा उद्योग संघ खुल्यो । त्यहाँ लायन्स क्लब स्थापनामा अग्रवालको सक्रिय भूमिका रह्यो ।
काठमाडौं सरेपछि स्वर्गीय मदनलालले नै उनलाई तत्कालीन नेपाल उद्योग वाणिज्य संघ (हालको महासंघ) मा जोडिदिए । संघमा ६ वर्ष महासचिवसहित ११ वर्ष काम गरेका उनी त्यसबेला अमेरिकामा पीपीपी र निजीकरण, जापानमा श्रम व्यवस्थापनसम्बन्धी तालीममा सहभागी भए । त्यस्तै विदेशी लगानीका लागि नेगोसिएशन र सम्झौता, आयातनिर्यात व्यवस्थापन आदि विषयमा पनि तालीम लिन पाए ।
संघमा महेशलाल प्रधान अध्यक्ष हुँदा अग्रवाल महासचिव थिए । प्रधानको अगुवाइ र अग्रवालको योजनामा त्यतिबेला संघले व्यावसायिक र संस्थागत अभ्यास थालेको थियो । राजस्व बोर्ड गठनको सुझाव त्यही बेला आएको थियो, जुन अहिले राजस्व परामर्श समितिको रूपमा छ ।
वस्तु निकासीका लागि जारी गरिने उत्पत्तिको प्रमाणपत्रबाट स्रोत परिचालन गर्ने, विदेशी संस्थासित सहकार्य गर्नेजस्ता काम संघले त्यही कार्यकालमा थालेको थियो । संघको व्यावसायिकता देखेर त्यसैबेलादेखि सरकार र विभिन्न कूटनीतिक नियोगले उसलाई महत्त्व दिन थालेको अनुभव अग्रवालको छ ।
सरकारले बजेट र अर्थनीतिमा संघको प्रस्तुति लिन थाल्यो । त्यही बेलादेखि नै संघका कर्मचारीले आर्थिक विषय बुझ्ने परिपाटी शुरू भएको मान्छन् उनी ।
अग्रवालको पहलमा महासंघलाई व्यावसायिक बनाउने थुप्रै काम भए । उनकै कार्यकालमा संघ महासंघमा रूपान्तरण भयो । संस्थालाई आधुनिक र अन्य मुलुकका यस्तै संस्थाको समकक्षमा पुर्याउन भारतको एफआईसीसीआईका पूर्वमहासचिवलाई बोलाएर सुझाव लिएका अग्रवालले महासंघको विधान संशोधन गरी संस्थाको प्रशासनिक प्रमुखमा वैतनिक महानिर्देशक पद सृजना गराएका थिए ।
भारत, बंगलादेश, नेपालमा रहेका विभिन्न देशका कूटनीतिक नियोगसँग समन्वय उनकै अग्रसरतामा भयो । उनले स्वदेशी उत्पादनको गुणस्तर बढाउन सीआईआईको विशेषज्ञलाई २ वर्षसम्म नेपालमा राखेर काम गराएका थिए । उनले सार्क उद्योग वाणिज्य संघ गठनमा पनि योगदान गरे । संस्था निर्माण गर्नेबारे भारतको नयाँ दिल्लीमा भएको पहिलो समझदारीमा हस्ताक्षर गर्नेमा अग्रवाल पनि थिए ।
त्यसैताका उद्योगका समस्या समाधान प्राथमिकतामा पर्न नसकेको ठानेका केही व्यवसायीले नेपाल उद्योग परिसंघ बनाउने निर्णय गरे । त्यसमा अग्रवाल पनि थिए । महासंघको तत्कालीन नेतृत्वले अग्रवाललाई महासंघमै थप जिम्मेवारी दिँदै परिसंघमा नजान आग्रह गर्यो । तर, उनी रोकिएनन् ।
उनले परिसंघमा उद्योगका समस्याबारे विषयगत छलफल अघि बढाए । सरोकारवाला विभाग प्रमुखसँगको छलफलले गर्दा स्थापनाको छोटो समयमै परिसंघ निजीक्षेत्रको प्रभावशाली संस्थाको रूपमा अगाडि आयो । अग्रवाल परिसंघमा उपाध्यक्षसम्म भए । अग्रवालले बेभरेज एशोसिएशनमा अध्यक्ष, म्यानेजमेन्ट एशोसिएशन अफ नेपालमा निजीक्षेत्रबाट पहिलो उपाध्यक्ष, नेपाल–अमेरिका उद्योग वाणिज्य संघमा महासचिव, मारवाडी परिषद्मा महासचिव भएर काम गरेका छन् ।
सन् २००० मा वीरगञ्ज आएपछि सबै संस्थाबाट राजीनामा दिए । त्यसयता वीरगञ्ज उद्योग वाणिज्य संघमा पनि दुईपटक उपाध्यक्ष भए । उनले त्रिभुवन विश्वविद्यालयको मार्केटिङ संकाय र काठमाडौं विश्वविद्यालय, प्रशासनिक सुधार आयोगको उपसमिति, आईएलओ र वातावरण संरक्षणको ब्राजिल सम्मेलनमा पनि सहभागी हुने मौका पाए ।
अग्रवालले योजनाबद्ध रणनीति निर्माणमा सक्रिय रहेर आफू संलग्न संस्थालाई उचाइमा पुर्याए पनि ती संस्थाको मुख्य नेतृत्वमा पुगेनन् । संस्थाको प्रगतिमा पुर्याएको योगदानबापत सम्मान पाए पनि नेतृत्वमा समर्थन पाएनन् ।
अध्ययनशील, फरक दृष्टिकोण र स्पष्टवादी अग्रवाल राजनीतिक दाउपेचमा लागेनन् । यही स्वभावले गर्दा नै उनले मुख्य जिम्मेवारीलाई महत्त्व नदिएको हुन सक्ने नजिकबाट चिन्नेहरूको बुझाइ छ ।
डाक्टर बन्न छोडेर अर्थशास्त्रतिर
जगदीशका बाबु छोरो डाक्टर बनोस् भन्ने चाहन्थे । बुबाको इच्छाअनुसार भारतको जयपुरमा चिकित्सा विज्ञान पढ्न गएका अग्रवाललाई त्यहाँ २ वर्ष पढेपछि आफू डाक्टरका लागि होइन भन्ने लाग्यो । त्यो पढाइ बीचैमा छोडेर कोलकाताबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातक गरे ।
जागीरका लागि विराटनगर आएपछि स्वअध्ययन, तालीम र कामबाट सिक्ने मौका पाएका अग्रवालका लागि सार्वजनिक संघसंस्थाको आबद्धता पनि सिक्ने अवसर बन्यो । ‘मलाई कुनै पनि काम गर्दा त्यसबारे जरैसम्म बुझ्नुपर्छ । मभित्र जिज्ञासा धेरै छ,’ उनी भन्छन् ।
भारत अहमदाबादको आईआईएमको सहकार्यमा त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भएको १ महीनाको एमबीए तालीम पनि उनले लिएका छन् । देश विदेशका तालीमबाट पनि सिक्ने मौका पाएको उनी सुनाउँछन् । अग्रवाल आफ्नो स्वाभावलाई व्यापारिक मान्दैनन् । ‘म बिजनेशमा परिस्थितिले आएकोे हो । म म्यानेजर नबनेको भए प्रोफेसर बन्ने थिएँ । अर्थशास्त्र चाखको विषय हो,’ उनले सुनाए । उद्योग वाणिज्य महासंघमा पसेपछि औपचारिक अध्ययनबाट प्राप्त अर्थशास्त्रको ज्ञानलाई अर्थतन्त्रसित जोडेर बुझ्ने मौका पाएको उनी बताउँछन् ।
जिज्ञासु, सामाजिक विषयमा रुचि राख्ने तर एकांकी स्वाभावका अग्रवाल किताबसँग संगत गर्न रुचाउँछन् । अर्थशास्त्र, समाजशास्त्र, धर्म, राजनीति, भूगोल र विभिन्न सभ्यताको अध्ययन उनको रुचिका विषय हुन् । नेपाली, हिन्दी र अंग्रेजी साहित्य मन पराउने उनी समसामयिक अर्थसामाजिक विषयमा विश्लेषण पनि गर्छन् । अग्रवालका विचार र विश्लेषणहरू विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ ।