असार २१, रौतहट । राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गको काम बन्द भएको छ ।
स्थानीयतहले नदीबाट ग्राभेल ल्याउन रोक लगाएपछि रेलवेको ट्रयाक बनाउने काम बन्द भएको हो । स्थानीयतहहरूले असार १ गतेदेखि नदीबाट ग्राभेल, गिटी, बालुवालगायत वस्तु उत्खननमा रोक लगाएका छन् ।
बागमती, लालबकैया, धन्सारलगायतका नदीबाट नदीजन्य वस्तु उत्खननमा रोक लगाएपछि रेल मार्गको काम पनि बन्द भएको रेल योजना कार्यालय लालबन्दीका इञ्जिनीयर बोध भण्डारीले बताए । उनका अनुसार अब दुई महीनापछि मात्र रेलवेको काम अघि बढ्ने छ । अहिले रेलवे ट्रयाक बनाउने काम भइरहेको र सोलाई चाहिने ग्राभेल ल्याउन नपाएपछि काम नै बन्द भएको उनले बताए ।
स्थानीयतहले नदीजन्य वस्तु निकासी गर्न दिएपछि मात्र रेलवेको ट्रयाक बनाउने काम अघि बढ्ने उनको भनाइ छ । अहिले औपचारिक रूपमै काम बन्द भइसकेको उनले बताए । पटक - पटक मेची–महाकाली विद्युतीय रेलमार्गको काम प्रभावित हुँदै आएको छ । कोरोना महामारी, मुआब्जा तथा रूख कटान लगायतमा विवाद हुँदा रेलवेको काम प्रभावित हुँदै आएको छ ।
रेलमार्गमा पर्ने रुख कटानको विषमा विवाद हुँदा रेलमार्गको काम नै अवरुद्ध भएको थियो । बागमती–चाँदी खण्डको प्याकेज नम्बर ४ र ५ मा पर्ने रूख कटानको विवाद मिले पनि फेरी नदीजन्य वस्तुको अभावमा रेलमार्गको काम प्रभावित भएको छ । मेची–महाकाली विद्युतीय रेलवेको रौतहट खण्डमा ट्रयाक निर्माण र कल्भर्टको काम सन्तोषी कन्टेक्ट, लुम्बिनी एपेक्स, खानी, हिन्दुङ थोकर र गोल्डेन बिरुवाले जिम्मा लिएका छन् ।
रेल्वे आयोजना अन्तर्गतका सबै प्याकेजको काम २०७८ माघ १४ मै सक्नुपर्ने सम्झौतामा उल्लेख भएपनि विविध कारणले काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको आयोजनाले बताएको छ । बागमतीदेखि धन्सारसम्म २२ किलोमिटर ट्रयाक बनाउने योजना छ ।