ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले धेरै केही गर्नुपर्दैन, राम्रो वातावरण बनाइदिए पुग्छ

२०७९ असार, २१  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

मुलुकको औद्योगिक एवं व्यावसायिक वृत्तमा आईजे ग्रूप परिचित नाम हो । स्वास्थ्यसेवादेखि होटल र उत्पादनमूलक उद्योगसम्ममा अग्रणी यो समूहले अन्य क्षेत्रमा समेत आफ्नो व्यावसायिक उपस्थिति बढाउँदै छ, जसको नेतृत्व तहमा छन् रवीन्द्रभक्त श्रेष्ठ । आईजे ग्रूपको निर्देशक समेत रहेका श्रेष्ठसँग उनको व्यावसायिक पृष्ठभूमि, उद्योग व्यवसायमा कोरोनाको असर, कम्पनीको आगामी योजना, रणनीति लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :

तपाईंको शैक्षिक पृष्ठभूमिबाटै शुरू गरौं । विद्यालय शिक्षा कहाँबाट शुरू भयो ? व्यवसायमा कसरी आउनुभयो ?
कक्षा १ देखि सेन्ट जेभियर स्कुल, गोदावरीमा पढें । त्यसपछि ९ वर्षको हुँदा भारतको उटीस्थित ब्रिटिश स्कुलमा पढें र हाईस्कुलको पछिल्लो २ वर्ष बेलायतको विन्चेस्टर कलेजमा पढ्न गएँ । त्यहाँ ए लेभल सकेर अमेरिका गएँ र स्ट्यान्फोर्ड विश्वविद्यालयमा अर्थशास्त्रमा अन्डरग्राजुएट सकें । पढाइपछि २ वर्ष अमेरिकामै सिटी ग्रूप अन्तर्गत इन्भेस्टमेन्ट बैंकमा काम गरेँ । तल्लो तहदेखि नै काम गरेर धेरै सिकें । त्यसपछि नेपाल फर्किएँ । २२ वर्षको उमेरमा म आफ्नै परिवारको व्यवसायमा औपचारिक रूपमा आबद्ध भएँ । अनौपचारिक रूपमा त बाल्यकालदेखि बुवा हजुरबुवाहरूसँग अफिस जान्थें । यहाँ तीन वर्ष काम गरिसकेपछि एमबीए गर्न पुनः अमेरिकाकै फिलाडेल्फिया गएँ । त्यहाँ २ वर्षमा पढाइ सकेर नेपाल फर्किएँ । त्यसपछि अहिलेसम्म पूर्णरूपमा व्यवसायमै छु ।

पारिवारिक व्यवसायमा कि आफ्नै केही नयाँ गर्नुभयो ?
मेरो समय दुईखाले व्यवसायमा बित्छ । एउटा परम्परागत पारिवारिक व्यवसाय, जसमा मलाई बुवाले समग्र सञ्चालनको पाटो हेर्ने जिम्मा दिनुभएको छ । उहाँ भने व्यवसायको रणनीतिक विषय हेर्नुहुन्छ । साथै म आफ्नै परिचय दिने खालका काम पनि गर्दै छु । पहिलोपटक नेपाल आउँदा दुईओटा व्यवसाय शुरू गरेको थिएँ । त्यसमध्ये पहिलो स्वास्थ्यसेवातर्फ एसआरएल नेपाल हो, जसले ब्लड डाइग्नोस्टिकको सेवा दिन्छ । दोस्रो, म्यानुफ्याचरिङतर्फ नेशनल आइसक्रिम हो । सन् २०१० मा शुरू भएको यो कम्पनीले ‘अजबको’ ब्रान्डमा आइसक्रिम उत्पादन गर्छ । हस्पिटालिटी र प्राइभेट इक्विटीमा समेत हाम्रो व्यवसाय बढ्दै छ । त्यो सबै म आफै हेर्छु ।

अहिले आईजे ग्रूप अन्तर्गतका व्यवसायमा अन्य क्षेत्रको अवस्था कस्तो छ ?

विभिन्न क्षेत्रमा विभिन्न असर भइरहेको छ । यसमा मुख्यतः कोभिडले ठूलो असर पारेको छ । हस्पिटालिटी क्षेत्रमा सबैभन्दा ठूलो प्रभाव परेको थियो । २ वर्षजति न्यूनतम अकुपेन्सीमा चलेको थियो । अहिले धेरै व्यवसायमा कोभिडपछिको प्रभाव देखिएको छ । विश्वभर नै मूल्यवृद्धि भइरहेको छ । तरलताको अभाव छ । कच्चापदार्थ धेरै महँगो भएका छन् । होटलको बिजनेश बल्ल राम्रो देखिन थालेको छ । उपभोग्य वस्तुमा पनि राम्रो हुँदै गएको छ । तर विदेशी मुद्रा सञ्चिति खस्किएकाले आयात कठिन बन्दै गएको छ । स्थानीय रूपमै उत्पादन गर्ने हाम्रो जस्तो समूहलाई भने अलिकति फाइदा देखेका छौं ।

उत्पादनमूलक उद्योगदेखि स्वास्थ्य सेवासम्मको कुरा गर्नुभयो । यता, समिट होटल लिएर त्यसलाई हाई एन्ड अपार्टमेन्ट र हाउजिङ शुरू गर्नुभएको छ । त्यसतर्फ कस्तो भइरहेको छ ?
हाम्रो स्वास्थ्य सेवा व्यवसायमा निकै थोरै प्रभाव पर्‍यो । त्यो अत्यावश्यक सेवामा परेकाले कोभिडमा बन्द गर्न पनि मिलेन । जसरी भए पनि ग्राहककोे सेवा गर्नैपर्‍यो । उत्पादनमूलक उद्योगतर्फ अहिले केही सुधार भएको त छ । तर त्यतिबेला उत्पादित वस्तु बजारमा पुर्‍याउनै गाह्रो भएको थियो । उद्योगबाट माल निकाल्नै मुश्किल थियो । रियल इस्टेट त अन्तरराष्ट्रिय रूपमै पनि धेरै उतारचढाव भइरहने उद्योग हो । यद्यपि नेपालमा यसमा अलि कम नै उतारचढाव हुन्छ । हामीले यो ठीक समयमा शुरू गरेका थियौं । आजको दिनमा भने तरलता अभावले धेरै सकस परेको छ । शुरू गरेको बेलामा प्रिबुकिङ राम्रो आएको थियो । तर अहिले स्टिलकोे मूल्यले धेरै अप्ठ्यारो पनि छ । 

अबको योजना के छ ? अहिले भइरहेका कुनै व्यवसाय बन्द गर्ने वा नयाँ शुरू गर्ने कुनै योजना छन् कि ?

कोभिडको २ वर्षले हाम्रो जीवनलाई टक्कै अडाइदियो । तर त्यसले हामी सबैलाई केही अवसर पनि थियो । मुख्यतः सम्भाव्य चुनौती र अवसरको बारेमा सोच्ने समय दियो । पहिले हामी दिनदिनै २४ घन्टा काम गरिरहेका थियौं। लकडाउनको बेला बुवा र मैले धेरै छलफल गर्‍यौं । त्यसबाट हामी व्यवसाय विस्तारमा अलि बढी केन्द्रित हुनुपर्छ, त्यो पनि सुझबुझपूर्ण तरीकाले गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । सोहीअनुसार हामी अघि बढेका छौं । व्यवसाय विस्तारका लागि हामी शिक्षाक्षेत्र पनि हेर्दै छौं । उच्च शिक्षा, बिजनेश स्कुलमा केही गर्ने सोच्दै छौं ।

कोभिडको २ वर्षले हाम्रो जीवनलाई टक्कै अडाइदियो । तर त्यसले हामी सबैलाई सम्भाव्य चुनौती र अवसरबारे सोचविचार गर्ने समय पनि दियो ।


 गरिसक्नुभयो कि गर्ने क्रममा हुनुहुन्छ ?
एउटा त गरिसकेका छौं । माल्पी इन्टरनेशनल कलेजमा हामी साझेदार बनेका छौं । सूचना प्रविधिमा पनि हेर्दै छौं । 

सूचना प्रविधिमा सफ्टवेयर कि हार्डवेयर ?
हामी सफ्टवेयरमै जाने हो । हार्डवेयर गर्न स्थानीय पूर्वाधार कत्तिको छ भन्ने प्रश्न उठ्छ । सफ्टवेयरमा भने बिस्तार गर्न सजिलो हुन्छ । विदेशतिरका धेरै कम्पनी स्न्यापच्याट, फेसबुक आदि हेर्नुभयो भने उनीहरूको प्रडक्ट बनिसकेपछि गुणात्मक हिसाबले बजार विस्तार भइरहेको हुन्छ । अहिले नै नेपालमा सूचना प्रविधि उद्योग निकै ठूलो भइसकेको छ । प्रतिभाशाली सफ्टवेयर इञ्जिनीयर अहिले नै नेपालमा धेरै छन् । हजारभन्दा बढी नै छन् होला । उनीहरूले बनाएका सफ्टवेयर निर्यात भएका छन् । बाहिरका धेरै कम्पनीले सबै ब्याकअफिस डेभलपमेन्टको काम नेपाललाई दिएका छन् । यसरी प्रतिभा निर्यात भएको छ । नेपालमा धेरैको ध्यान त्यता गएको छैन । त्यो सेवा क्षेत्र भयो । हाम्रो चाहिँ प्रडक्ट बनाएरै निर्यात गर्ने सोच छ । 

तपाईं आएपछि व्यवसायमा के परिवर्तन गर्नुभयो ? के कस्ता चुनौतीको सामना गर्नुभयो ? र, के - के गर्दै हुनुहुन्छ ?
चुनौती धेरै नै थियो । मेरो शिक्षा, अनुभव सबै पश्चिमी विश्वको थियो । त्यहाँ काम गर्ने शैली, रिपोर्टिङ सिस्टम पूरै फरक छ । हाम्रो अफिस कल्चर पारिवारिक व्यवसायको थियो । बुवा अध्यक्ष, म निर्देशक । हाम्रो कर्मचारीको औसत सेवा अवधि १५ वर्ष थियो । हामीले कसैलाई निकाल्ने गरेका छैनौं । त्यो एउटा बलियो पक्ष पनि हो । तर त्यसमा पनि कहिलेकाहीँ जे भएको छ, त्यसमै सन्तुष्टि मान्नुपर्ने बाध्यता पनि हुन सक्छ । परिवर्तनका लागि वा इन्नोभेशन गर्न अलिकति उत्साह कम हुन सक्छ । म आएर त्यसमा अलिकति परिवर्तन ल्याउने प्रयास गरेको थिएँ । परामर्शदाताको सहयोग लिएर, सामूहिक छलफल गरेर हाम्रो समूहको रणनीति के हो, २ वर्ष, ३ वर्ष र ५ वर्षमा हामी कहाँ पुग्ने भन्ने मार्गचित्र बनायौं । रिपोर्टिङ संरचनामा पूरै परिवर्तन गरें । पहिले धेरै मौखिक रिपोर्टिङ हुन्थ्यो । पहिले बैठकमा गफ गथ्र्यौं । अहिले त्यसलाई अलि औपचारिक बनाउने प्रयास गरेको छु । नयाँ भर्ती गरेर युवाहरूलाई पनि ल्याएँ । तर मैले विदेशमा देखेका कुरा सबै यहाँ व्यावहारिक हुँदैनन् । त्यहाँको सबै कपी गरेर यहाँ काम पनि लाग्दैन । यस्ता धेरै कुरा बुवाबाट सिकेँ । मैले आएर हाम्रा पुराना कर्मचारीको कार्यप्रगतिको समीक्षा पनि प्रस्ताव पनि गरेँ । बुवाले यसमा ‘गर्ने भए गर, तर हाम्रा स्टाफले १५ वर्ष अवधिमा हाम्रो कम्पनीलाई बचाएर राखेका छन् । त्यो कुराको मूल्यांकन पर्फर्मेन्स रिभ्यूमा देखिँदैन’ भन्नुभयो । त्यो कुरा मैले पनि महसूस गरें ।

व्यवसाय विस्तारका लागि हामी शिक्षाक्षेत्र हेर्दै छौं ।
 

सांस्कृतिक पक्ष पनि होला नि । मानौं, तपाईंको कर्मचारी काठमाडौंकै नेवार समुदायका रहेछन् भने उनीहरूको भोजको बेला छुट्टी दिन्नँ भन्न नसकिएला । यस्ता समस्या पनि झेल्नुभयो होला नि ? 

नेपालको व्यावसायिक कार्य संस्कृतिमा धेरै सुधार भएको छ । म सानो हुँदा बिदा धेरै थिए, बन्द पनि धेरै नै हुन्थ्यो । तर आजका युवामा अलिकति बढी काम गर्‍यो, मेहनत गर्‍यो भने बढी प्रतिफल पाइन्छ भन्ने सोचको विकास भएको छ । 

कतिपय पुराना व्यावसायिक घरानामा साहूकै समुदायका कर्मचारी हुने चलन पाइन्छ । तपाईंले यस्तो सामना गर्नुभएको छ कि छैन ? तपाईंकोमा कर्मचारी भर्ना कसरी गरिन्छ ?
म सानो छँदा लगभग ९० प्रतिशत नेवार समुदायका नै थिए । तर आफू बाहिरतिर धेरै भएर पनि होला, आफ्नै समुदायका कर्मचारी लिने सोच नै आएन । मैले बिजनेश हेर्ने हो । मैले जसलाई लिन्छु, उसले मेरो काम सजिलो पार्नुपर्छ । अनि मात्र कम्पनी राम्रो हुन्छ । तर मैले भर्ना गरेकाहरू पनि धेरैजसो गैरनेवार नै हुनुहुन्छ । त्यो मेरिटको आधारमा भएको हो । गैरनेवार नै भर्ना गर्छु भनेर पनि होइन ।

तपाईंहरूको व्यावसायिक साझेदारी अन्य नेपाली व्यावसायिक कम्पनी र विदेशी कम्पनीहरूसँग पनि छ । यो सोच शुरूमा कसको थियो ? तपाईंं आएपछि त्यसमा केही परिवर्तन आएको हो ?
पार्टनरशिपमा जाने राणनीति हजुरबुवाकै पालादेखिको हो । पार्टनरशिपलाई हामी सतही ढंगले लिँदैनौं । पार्टनर छान्नु बिहे गर्नुजस्तै हो । कागजमा दर्शन मिलेर, सम्झौतामा हस्ताक्षर गरेर मात्र केही हुँदैन । हामी कुनै पार्टनरशिपमा जाँदा त्यो आगामी केही पुस्तासम्म व्यावहारिक छ कि छैन हेर्छौं । युनिलिभरसँग पार्टनरशिपको कुरा गर्दा हाम्रो परिवार पनि मल्टिजेनेरेशन व्यावसायिक घराना हो र युनिलिभर पनि सोही प्रकृतिको कम्पनी हो । यो पारिवारिक कम्पनी होइन, पब्लिक कम्पनी हो । हाम्रो र युनिलिभरको मूल्यमान्यता पनि मिल्दोे छ । नैतिक तरीकाले व्यवसाय बढाउँदै लैजाने, उद्यमशीलताको भावनाले चल्ने र कुनै बेला गाह्रो हुँदा पनि सही नीतिगत बाटोमा जाने दर्शन हामी दुवैको मिल्दो छ । सन् १९९० मा शुरू भएको हो हाम्रो पार्टनरशिप । नेपालमा विदेशी कम्पनीसँग ३० वर्षभन्दा बढीको पार्टनरशिप र त्यो पनि सफल पार्टनरशिप कमै देखिन्छ । यो पार्टनरशिपबाट हामी दुवै कम्पनी खुशी छौं । हाम्रो लोकल पार्टनरशिप पनि धेरै परिवारसँग छ । लोकल पार्टनरशिपमा पनि हाम्रो ऐतिहासिक सम्बन्ध छ । आज चिनेर भोलि पार्टनरशिप गर्ने होइन । पुस्तौं पुस्ताकोे सम्बन्ध हुन्छ । अनि एउटा समझदारीमा गएर पार्टनरशिप गर्दा धेरै सजिलो भएको छ । किनभने मलाई कुनै उद्योगको विषयमा १०० प्रतिशत थाहा हुँदैन । तर सँगै काम गर्ने अरूलाई थाहा हुन सक्छ, जसले गर्दा काम गर्न सजिलो हुन्छ । आपसी साझेदारीले हामी बलियो हुन्छौं भन्ने दर्शनको आधारमा हामी यसमा काम गरिरहेका छौं । 

नेपालमा आईटी इन्डस्ट्री निकै ठूलो भइसकेको छ । अहिले नेपालमा प्रतिभाशाली सफ्टवेयर इञ्जिनीयर धेरै छन् ।
 


 एउटा भनाइ छ, नेपालमा पार्टनरशिप धेरै लामो समय चल्दैन । तपाईंहरूको भने सफलतापूर्वक चलिरहेको छ । लोकल पार्टनरशिप पनि एकदमै राम्रो छ । त्यो कसरी सम्भव भयो ?
हाम्रो समूह ‘नैतिक रूपमा जाने र पार्टनरले राम्रो गर्‍यो भने आफ्नो पनि राम्रो हुन्छ । आफूले राम्रो गरे पार्टनरले पनि राम्रो गर्छ’ भन्ने दर्शनमा विश्वास गर्छ । नेपालमा सानो व्यावसायिक समुदाय छ । कसैको राम्रो भयो भने ईष्र्या गरिन्छ या खुट्टा तान्ने काम गरिन्छ । तर मलाई के लाग्छ भने तपाईंको पार्टनर, तपाईंको समुदायले राम्रो गर्छ भने तपाईंं खुशी हुनुपर्छ । आफ्नो आन्तरिक कुरा हेर्नुपर्छ, मैले कस्तो गरिहेको छु, त्यो हेर्नुपर्छ । अरूको सफलता, अरूको खुशी हेरेर आफूलाई मूल्यांकन गर्‍यो भने तिक्तता शुरू हुन्छ । हामी एकसाथ राम्रो काम गर्न सक्छौं । मेरो राम्रो भयो भने तपाईंको राम्रो, तपाईंको राम्रो भयो भने मेरो राम्रो भन्ने सोचेर काम गर्न सकियो भने पार्टनरशिप बलियो हुन्छ ।
 
पार्टनरशिप गर्दा पहिले नै जुन सम्झौता हुन्छ, त्यसमा एकअर्काको काममा हस्तक्षेप नगर्ने, सम्मान गर्ने, सम्झौतामा जे छ, त्यहीअनुसार गरियो भने समस्या हुँदैन भन्ने हो ?
नाफामा गएर मात्र पुग्दैन । नाफा छ तर दर्शन मिल्दैन, मनमुटुमा सम्मान छैन भने नाफाको कुनै अर्थ छैन । व्यवसायमा हाम्रो कुनै जटिलता छैन भन्ने होइन, हरेक व्यवसायमा कही न कही समस्या आउन सक्छ । तर राम्रो सम्बन्ध राख्न सकेको छ भने कहीले मैले सम्झौता गर्न सक्नुपर्छ, कहिले अर्कोले । यसरी सम्झौता गर्दा पार्टनरशिप राम्रो हुन्छ ।
 

नेपालका थुप्रै व्यावसायिक घरानाहरू जलविद्युत्मा गएको देखिन्छ । तर जलविद्युत्मा तपाईंहरूको लगानी छैन । त्यतातिर किन नजानुभएको ?
 हामी पहिलेदेखि नै आफ्नो समूहमा भएका उद्योगमै बढी केन्द्रित हुनुपर्छ भनेर लागिपरेका हौं । त्यसैले बैंकिङ, बीमा, उपभोग्य वस्तु, हस्पिटालिटी, घरजग्गा, सूचना प्रविधि उद्योगमा छौं । प्राइभेट इक्विटीतिर पनि जाँदै छौं । बिजनेशको रणनीति भनेकोे के गर्ने भन्ने मात्र होइन, के नगर्ने भन्ने पनि हो ।

नेपालको व्यावसायिक वातावरणलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
मेरो छोटो करिअरमा अहिलेसम्म धेरै उतारचढाव भएको छ । सन् २०१० देखि २०१३ सम्मको समयमा निराशा देखेको थिएँ । त्यतिबेला सरकार स्थिर थिएन, लोडशेडिङ १८ घण्टासम्म थियो । साथीभाइसँग कुरा गर्दा सबै जना निराशाकै कुरा गर्थे । म एमबीए गरेर फर्किएपछि भने १८० डिग्रीमा परिवर्तन भएको पाएको थिएँ । धेरै युवा अमेरिका, बेलायत, अस्ट्रेलियाबाट नेपालमै केही गरौं भनेर फर्किएका थिए । साथीहरूसँग भेट हुँदा धेरैजना ‘म यो गर्दै छु, म यो गर्न प्रयास गर्दै छु, एतातिर जान्छु, उद्यमी हुन्छु, सामाजिक उद्यम गर्छु, एनजीओ खोल्छु’ भन्ने गर्थे । धेरै युवा उत्साहित थिए । त्यतिबेला सरकार स्थिर भइरहेको थियो । लोडशेडिङ अन्त्य भइसकेको थियो । इन्टरनेट कन्नेक्टिभिटी राम्रो थियो । त्यसले वातावरण राम्रो भयो । तर गएको २/ ३ वर्षमा चाहिँ पुनः अलि निराशा देखिन शुरू भयो । 
तपाईंं बिजनेश चेम्बरमा पनि हुनुहुन्छ नि होइन ? के - केमा हुनुहुन्छ ? 
सामाजिक, व्यावसायिक समूहहरूको कुरा गर्दा म आन्त्रप्रेनर अर्गनाइजेशन (ईओ) भन्नेमा छु । त्यहाँ मजस्तै पहिलो, दोस्रो र तेस्रो पुस्ताका व्यवसायी र नयाँ उद्यमी छन् । हामी विचार आदानप्रदान गर्छौं । यो धेरै सहयोगपूर्ण भएको छ । हामी उद्योग परिसंघ र उद्योग वाणिज्य महासंघमा फरक सदस्यता कायम गर्दै छौं । तर म सक्रिय भने भएको छैन ।

विदेशमा देखेको कुरा सबै यहाँ व्यावहारिक हुँदैन । त्यहाँको सबै कपी गरेर यहाँ काम पनि लाग्दैन ।
 

बुवा त उद्योग वाणिज्य महासंघको अध्यक्ष नै हुनुभयो । तपाईंको चाहिं बिजनेश चेम्बरमा लिडरशिपमा आउने विचार छैन ?
अहिले त छैन । त्यसका लागि बुवासँग कुरा गर्नुपर्ने हुन्छ । बुवा र हजुरबुवा दुवैजना महासंघको अध्यक्ष भइसक्नु भएको छ । उहाँले खासै दबाब दिनुभएको छैन । मेरो व्यक्तित्व अलि फरक छ । म आन्तरिक रूपमै व्यवसाय विस्तारमा ध्यान दिन चाहन्छु । 

के भयो भने बिजनेश गर्न सहज हुन्छ ? 
नेपालमा धेरै अवसर छन् । जस्तै– आईटी र म्यानुफ्याक्चरिङमा धेरै कम मानिस छन् । मेक इन नेपाल, मेड इन नेपाल जस्ता अभियान सपलतापूर्वक सञ्चालन भएमा हाम्रो उत्पादनमूलक उद्योगको विकास एक तह माथि पुग्न सक्छ । पर्यटनमा पनि विकास हुन सक्छ । यसका लागि बृहत् परिस्थिति राम्रो हुनुपर्छ, स्थिर सरकार हुनुपर्छ र दिगो नीतिनियम हुनुपर्छ । आज यो भन्ने, भोलि अर्को भन्ने, पर्सि अर्कै नियम आउने अवस्थामा लगानी गर्न गाह्रो हुन्छ । लगानी गर्दा हामी १५–२० वर्षका लागि हेर्छौं । यसमा सरकारले धेरै केही गर्नुपर्ने पनि होइन, व्यवसायमैत्री वातावरण बनाइदिए पुग्छ । सरकारको धेरै सक्रियता भयो भने पनि गाह्रो हुन सक्छ । व्यावसायिक पारिवारिक पृष्ठभूमि नभएकाहरू पनि उद्यमी बन्न चाहन्छन् भने उहाँहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । उनीहरूलाई पूँजीको पहुँच पुर्‍याउनुपर्छ । बैंकबाट कर्जा, प्राइभेट इक्विटी आदिको पहुँच पुर्‍याउन सक्नुपर्छ । हामी ठूला व्यावसायिक समूहहरूलाई त सरकारी झन्झटको व्यवस्थापन गर्न हाम्रो दुई–तीन पुस्ताको अनुभव छ । तर नयाँ उद्यमीहरूलाई त यसबारे थाहा पनि छैन । उहाँहरूमा निराशा पनि उत्पन्न हुन्छ, लगानी गर्न पूँजीको अभाव हुन सक्छ । उनीहरूलाई सरकारी ढिलासुस्तीको सामना गर्न गाह्रो हुन्छ । त्यो वातावरण पनि परिवर्तन गर्न आवश्यक छ । 

शीपयुक्त जनशक्तिको समस्या छ कि छैन ? छ भने कस्तो समस्या छ ? 
जनशक्तिको पाटोमा हाम्रो ठूलो समस्या छ । मलाई लाग्छ, यो समस्या अरू धेरैको पनि हो । कसैलाई नियुक्ति गर्दा हामी उनीहरूको पृष्ठभूमि, शिक्षा र सर्टिफिकेटलाई १० प्रतिशत मात्र महत्व दिन्छौं । ९० प्रतिशत महत्व चाहिँ काम गर्न थालेर कति सिक्दै गएपछि हुन्छ । 

सीभीमा बढाइचढाइ गरेर लेखिदिएको हुन्छ ? 
होइन, सीभीमा जे लेखिदिएको भए पनि वास्तविक काममा लगाएर दिएको तालीम धेरै महत्वपूर्ण हुन्छ । हामी तालीममा धेरै लगानी गर्छौं। धेरै क्षमतावान् युवा हाम्रो कम्पनीमा आउनुभएको छ । तर पहिलाको ६ महीना हामी तालीम नै दिन्छौं । पहिले नै दक्ष जनशक्ति पाउन चाहिँ धेरै गाह्रो छ । 

तपाईंंहरूले धेरै समय र पैसा जनशक्तिका लागि खर्चिनु भएको छ, हो ? 
हामीले कर्मचारीका लागि राम्रो तलब सुविधा दिने गरेका छौं । हाम्रो कर्पोरेट अफिसमा म आएदेखि अहिलेसम्म कसैले राजीनामा गरेका छैनन् । हामी हाम्रा कर्मचारीलाई परिवारको सदस्य जस्तो व्यवहार गर्छौं । उनीहरूलाई विश्वास गर्छौं, जिम्मेवार पनि बनाउँछौं । त्यस्तो वातावरणमा ‘रिटेन्सन लेबल’ उच्च हुन्छ । हामी अन्तर्गतका कम्पनी, होटल, फ्याक्ट्रीमा चाहिँ रिटेन्सनको समस्या छ । त्यसो हुनुमा दुईओटा कारण छन्– एउटा व्यावसायिक शीप/क्षमता भएको मान्छे विदेश जान चाहन्छ । त्यसरी जान्छु भन्न आउनेलाई म रोकेर राख्दिनँ, सपना पूरा गर्न जाऊ भन्छु । अर्को, देशमा कसैले कुनै व्यापार शुरू गर्‍यो भने सबै त्यही व्यवसायमा लाग्नुहुन्छ । कसैले एउटा ल्याब खोल्यो भने अरूले १० ओटा ल्याब भोलिपल्टै खोल्छन् । कसैले फस्टफूड वा बर्गर हाउस खोल्यो भने लगत्तै दर्जनौं बर्गर हाउस खुल्छन् । हामीले निजीक्षेत्रमा प्रतिस्पर्धालाई स्वागत गर्न सक्नुपर्छ । तर धेरै अस्वस्थ प्रतिस्पर्धा हुँदा त्यसको नकारात्मक असर सबैलाई पर्छ । जनशक्तिकै पनि समस्या हुन्छ ।

पार्टनरशिपलाई हामी सतही रूपमा लिंदैनौं । पार्टनर छान्नु बिहे गर्नुजस्तै हो । कागजमा दर्शन मिलेर, सम्झौतामा हस्ताक्षर गरेर मात्र केही हुँदैन ।
 

तपाईंं बाहिर पढेर आउनुभयो । बुवा हजुरबुवाको परम्पराबाट सिकेर पनि व्यवसाय गर्नुभयो । तपाईंहरूको बीचमा पक्कै पनि सोचमा फरक भयो होला । त्यसलाई कसरी व्यवस्थापन गर्नुभयोे छ ?
शुरूमा गाह्रो थियो । कहिले छोरोको, कहिले सहकर्मीको टोपी लगाउनुपर्ने हुन्थ्यो । त्यतिबेला अलि मलाई गाह्रो लागेको थियो । अफिसमा कहिले विवाद हुने, घर आएपछि भने आमा दिदीबहिनीसँग छोरा हुनुपर्ने । त्यो आदत बसाउन मलाई अलि समय लाग्यो । बाहिरतिर अफिसमा ११ बजेसम्म काम गराइदिन्थ्यो । तर घर गएपछि सकियो । फेमिली बिजनेशमा चाहिँ घरमै अफिस आउने हुन्छ । बुवाको अफिसमा बुवा र मेरो मिटिङ हुँदा व्यक्तिगत जीवनको पनि कुरा हुन सक्छ, प्रोफेसनल लाइफको पनि कुरा हुन सक्छ । त्यस्तो छुट्टिँदैन । शुरूमा त्यो व्यवस्थापन गर्न अप्ठेरो लागेको थियो । तर त्यो बिस्तारै परिवर्तन हुँदै गयो । अचेल हामी दुबैको अलग गाडी भए पनि हामी एउटै गाडीमा अफिस जान्छौं । किनकि आधा घण्टा ट्राफिकमा हुँदा केही न केही गफ हुन पाउँछ । मैले बुवासँगको बर्किङ रिलेशनमा धेरै मजा लिइरहेको छु ।

नेपालको धेरै फेमिली बिजनेशमा पुरानो जेनेरेशनले नयाँ जेनेरेशनलाई त्यति विश्वास नगर्ने समस्या छ । तपाईंकोमा कस्तो भयो ? 
मेरा धेरै साथीहरूको फेमिली बिजनेशमा त्यस्तो समस्या छ । तर हाम्रोमा त्यस्तो समस्या छैन । बुवासँग म केही सल्लाह लिन गएँ भने ‘तिमीलाई कस्तो ठीक लाग्छ त्यही गर न’ भन्नुहुन्छ । म चाहिँ ‘हजुरको फिडब्याक अझै चाहन्छु’ भन्छु । किनभने म जति बाहिर पढेको भए पनि उहाँको नेपालको अनुभव अतुलनीय छ । म जहिले पनि बिजनेश बढाउन नयाँ अनुभव लिन चाहन्छु । बुबाको सोचाइ चाहिँ ‘म गाइड गर्छु तर के निर्णय लिनुपर्ने हो, त्यो तिम्रो हातमा छ । राम्रो भयो भने पनि तिम्रो टाउकोमा हो, नराम्रो भयो भने पनि तिम्रो टाउकोमा’ भनेर मलाई पूरै स्वतन्त्रता दिनुभएको छ । 

तपाईंको हजुरबुवा नेपाल चेम्बर अफ कमर्शको शुरुआतकर्ता हो । पछि एफएनसीसीआईको अध्यक्ष हुनुभयो । बुवा पनि एफएनसीसीआईको अध्यक्ष हुनुभयो । बुवा हजुरबाको त्यो ख्यातिले तपाईंलाई मनोवैज्ञानिक दबाब हुन्छ कि ? यो कारणले तपाईंले गर्ने काममा कत्तिको प्रभाव पार्‍यो ? 
दबाब त भन्दिनँ म । तर कहिलेकहीँ नयाँ मानिससँग भेट हुँदा रविभक्त श्रेष्ठको छोरा भनेर अझैसम्म परिचय हुन्छ । तर मलाई त्यसबाट स्वाभिमानमा चोट पुगेको लाग्दैन । मलाई खुशी लाग्छ । गर्व हुन्छ कि बुवाले यति गर्नुभयो भनेर । बुवाले मैले जति पढन पाउनुभएन, रिसर्च गर्न पाउनु भएन । त्यति हुँदा हुँदै पनि उहाँले यत्रो गर्नुभयो । उहाँले मलाई करिअर शुरू हुनुभन्दा अघि यो सम्पत्ति दिनुभएको छ । मैले योभन्दा ठूलो केही न केही गर्नुपर्छ । मैले आफ्नो परिचय बनाउनु छ, मैले दिशा परिवर्तन गर्नु छ । म यसलाई प्रेरणाको रूपमा लिन्छु । रभिभक्त श्रेष्ठको छोराको रूपमा चिनिन पाउँदा मलाई गर्व छ ।

तपाईंको परिवारका महिलाहरू बिजनेशमा आएको थाहा छैन । त्यसको कारण के होला ? 
हाम्रो पुस्तैनी बिजनेश हो । पहिलाबाटै एउटा परम्परा छ कि पुरुषले नै व्यवसायको जिम्मेवारी लिने । तर त्यो परिवर्तन हुन्छ । हाम्रो बिजनेशमा मेरी दिदी संलग्न हुनुहुन्न । उहाँको आफ्नै बिजनेश छ । तर अफिसमा नभए पनि घरमा आमा दिदी, श्रीमतीसँग सल्लाह हुन्छ । 

तपाईंं परिवारमा एक्लो छोरा हुनुहुन्छ । धेरैजसो व्यावसायिक घरानामा धेरैजना सदस्यहरू हुनुहुन्छ । मेरो पनि दाजुभाई भएको भए बिजनेशमा सजिलो हुन्थ्यो, बिजनेश अझै विस्तार गर्न सकिन्थ्यो भन्ने लाग्छ कि ? 

प्रत्यक्ष त हुँदैन, तर सोचेर बस्ता कहिलेकाहीं त्यस्तो पनि लाग्छ । मेरो पनि दाजुभाइ थिए भने कस्तो हुन्थ्यो या बिजनेश विस्तारको लागि सहयोग हुन्थ्यो भन्ने सोच आउँछ । निश्चय पनि परिवार स्रोतले तपाईंलाई बलियो बनाउँछ । तर आफ्नो नियन्त्रण बाहिरको कुरामा सोचेर केही अर्थ छैन । हाम्रो पार्टनरहरू पनि हाम्रै परिवार हो । पार्टनरहरू पनि दाइ, भाइ हो । सँगै हामी बलियो हुन सक्छौं भन्ने सोचेर हामी काम गरिरहेका छौं । 

 धेरै अस्वस्थ प्रतिस्पर्धा हुँदा त्यसको नकारात्मक असर सबैलाई पर्छ । 

युवा उद्यमीहरूलाई तपार्ईंंको सुझाव के छ ? कस्तो क्षेत्रमा लगानी गर्ने, कसरी मौका चिन्ने ? उहाँहरूलाई के कस्ता अवसर र चुनौतीहरू छन् ? 

पहिलाको तुलनामा अहिले उद्यमी हुन सजिलो छ । प्रविधि र इन्टरनेटको पहुँचले अहिले उद्यमी हुन सजिलो बनाएको छ । बिजनेश बढाउनु र टिकाउनु चाहिँ वास्तविक चुनौती हो । अचेल उद्यमी बन्नु फेशन पनि भएको छ । मेरा समकालीनहरू र मभन्दा युवाहरूलाई के भन्छु भने कतिको दुःख गर्नुपर्छ, कतिको गाह्रो छ त्यो कुरा बुझ्नुपर्छ । पूरै प्रतिबद्ध हुनुपर्छ, धेरै कुराको बलिदान गर्नुपर्छ । यस कुरामा मैले धेरै सल्लाह दिनै पर्दैन । किनभने अहिलेका युवाहरू स्मार्ट, ऊर्जावान् छन् । आजको युवा र मेरो स्थितिमा धेरै फरक छ । मैले पो उहाँहरूबाट सल्लाह लिनुपर्छ । किनभने मेरो पृष्ठभूमिले मलाई सजिलो भयो । तर कुनै व्यक्ति पहिलो पटक उद्यमी हुँदैछ भने उसलाई त त्यो गाह्रो हुन्छ । त्यसैले म उहाँहरूलाई सम्मान गर्छु । पहिलोपटक कसैले उद्यम शुरू गर्दैछ भने म सहयोग गर्छु । धेरै नयाँ उद्यमीले मलाई लिंक्डइन, फेसबुकमा म्यासेज गर्नुहुन्छ । म सबैलाई जवाफ दिने गर्छु । किनभने उहाँहरू वास्तविक मेरुदण्ड हो हाम्रो देश विकासको लागि । 

तपाईंं विदेशमा बस्नुभयो, काम पनि गर्नुभयो । बिजनेशको वातावरणको तुलना गर्दा नेपालमा के राम्रो छ, के नराम्रो छ ? 

यी दुई पूरै फरक बजार र अर्थतन्त्र हुन् । अमेरिकाको अर्थतन्त्र केही कारणले फक्रिरहेको छ । एउटा कारण हो उच्चस्तरको नवीनता । त्यहाँ जोखिम लिन प्रोत्साहित हुन्छन् । असफल हुँदा केही समस्या छैन । अमेरिकामा असफलतालाई त सम्मानको कुरा भन्ने भन्ने चलन छ । मेरा साथीहरू धेरै छन् जो २/ ३ ओटा बिजनेशमा फेल भएर चौथो बिजनेशमा धेरै सफल भएका छन् । नेपालमा चाहिँ बिजनेश सफल भएन भने लाज हुने, अरूले ‘ए तिमिले त गर्न सकेनौ’ भन्ने हुन्छ । अमेरिकामा अर्कोपटक गर्दा राम्रो हुन्छ भन्ने परम्परा छ । त्यस्तो परम्परा पनि नेपालमा ल्याउन जरुरी छ । ‘शुरू गरौं, असफल भए पनि केही समस्या छैन, तिमीले सिक्छौ’ भन्ने परम्परा हुन जरुरी छ । अमेरिकामा पनि धेरै प्रतिस्पर्धा छ, त्यहाँ काम र जीवनको बीच सन्तुलन गर्न धेरै अप्ठेरो हुन्छ । अमेरिका र नेपालबीच तुलना गर्न धेरै कठिन छ । किनभने अमेरिका धेरै विकास भएको देश हो भने नेपाल विकासोन्मुख देश हो । तर बिजनेशको सिद्धान्त एउटै हो ।

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)