असार २६, रौतहट । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० सम्ममा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान छ । उक्त बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ ।
तर, रौतहटको फतुवा विजयपुर नगरपालिकाले अझै बजेट सार्वजनिक गर्न सकेको छैन । नगरप्रमुखलाई भ्रष्टाचार मुद्दा दायर भएपछि नगरसभा प्रभावित भएको हो । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी अहिले निलम्बनमा छन् ।
उपप्रमुख अमवेया खातुनलाई कार्यवाहक जिम्मेवारी नदिइएपछि नगरसभा प्रभावित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले बताए ।
उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी दिएपछि मात्र नगरसभाको तयारी थालिने उनले बताए ।
नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा अख्तियारले नगरप्रमुख यादवसहित तत्कालीन उपप्रमुख कान्ति देवीसहित वडा नम्बर ५ का वडाअध्यक्ष शेख एजाज अहमद, वडा नम्बर ८ का तत्कालीन वडाअध्यक्ष तथा हाल कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा नम्बर ११ का वडाअध्यक्ष ज्ञानेन्द्र चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जिल्लाको दुर्गाभवानी गाउँपालिकाले पनि बजेट ल्याउन सकेको छैन । गाउँपालिकाले आन्तरिक विवादको कारण देखाउँदै सभा गर्न नसकेको जनाएको छ । यस्तै, गुजरा नगरपालिकाले भने हालै नगरसभा गरेको छ । उपप्रमुख रत्ना लामाले कूल ५७ करोड २४ लाख ७९ हजार रूपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेकी हुन् ।
रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामध्ये १५ ओटाले असार १० मा नै नगरसभा गरिसकेका छन् ।