ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२७ वर्षमा ७४६ ठूला उद्योग

२०७९ असार, २६  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतिकात्मक तस्वीर ।
author avatar विजय दमासे

काठमाडौं । नेपालमा २७ वर्षको अवधिमा ७ सय ४६ ठूला उत्पादनशील उद्योग खुलेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणले २०४९ देखि २०७६ सालसम्मको अवधिमा मुलुकमा ७ सय ४६ ओटा ठूला आकारका उत्पादनमूलक उद्योग खुलेको देखाएको हो । 

सर्वेक्षणअनुसार २०४९ सालमा नेपालमा ४ हजार २८१ ठूला उद्योग प्रतिष्ठान रहेकोमा २०७६ मा बढेर ५ हजार १७ पुगेको छ । सर्वेक्षणअनुसार ठूला औद्योगिक उत्पादनशील प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या सो अवधिमा ६४ हजार ७०७ ले बढेको छ । २०४९ सालमा त्यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या २ लाख २३ हजार रहेकोमा २०७६ मा २ लाख ८८ हजार पुगेको छ । 

वैदेशिक लगानीसम्बन्धी जानकार अन्जान न्यौपाने यस अवधिमा थपिएका उद्योगको संख्यामा सन्तोष मान्न नसकिने बताउँछन् । लगानीमैत्री वातावरण भएको भए उत्पादनशील ठूला उद्योग योभन्दा बढी खुल्ने उनी बताउँछन् । न्यौपानेका अनुसार नेपालमा पर्याप्त औद्योगिकीकरण हुन नसक्नुको पछाडि राज्य नै दोषी छ । मुलुक संघीयतामा गएपछि कम्पनीहरूलाई लगाइएको फरकफरक नियम र फरकफरक करका दरले लगानीकर्तालाई निरुत्साहित बनाइरहेको उनले बताए । 

पूर्वउद्योग तथा वाणिज्य सचिव चन्द्रकुमार घिमिरे पनि मुलुकमा लगानीको वातावरण अझै बन्न नसकेको बताउँछन् । उनका अनुसार मुुलुकभित्र थुप्रै सम्भावना भए पनि ती क्षेत्रमा लगानी भित्र्याउन राज्य संयन्त्र चुकिरहेको छ । जलस्रोत, उत्पादन, पर्यटन, सेवा क्षेत्रमा केही लगानी बढे पनि कृषि, भौतिक पूर्वाधार, सूचना प्रविधि, खानी तथा खनिजजन्य क्षेत्रमा लगानी कमजोर रहेको उनको विश्लेषण छ । लगानीकर्तालाई अझै पनि नेपालले विश्वास दिलाउन नसकेको घिमिरेले बताए । ‘लगानीका लागि विश्वासको वातावरण बनाउन सकेनौं, स्टार्टअपसम्बन्धी कानूनहरू पनि ल्याउन ढिलाइ भएको छ,’ उनले भने ।

औद्योगिक सर्वेक्षणले कोरोना महामारीका कारण मुलुकको औद्योगिक क्षेत्र पूर्णरूपमा प्रभावित बनेको देखाएको छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका बेला ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका सर्वेक्षणमा उल्लेख छ । २४ प्रतिशत उद्योग प्रतिष्ठानहरू आंशिक रूपमा सञ्चालनमा रहेको र बाँकी १३ प्रतिशत पूर्णरूपमा सञ्चालनमा रहेको उल्लेख छ । बन्दाबन्दीको समयमा करीब १७ प्रतिशत कामदारले विनासुविधा स्थायी रूपमा आफूहरुले गरिरहेको काम छाड्नुपरेको सर्वेक्षणले देखाएको छ । 

६० प्रतिशत कामदारले विनातलब सुविधा अस्थायी रूपमा कामबाट अलग हुनुपरेको उल्लेख छ । त्यसैगरी ११ प्रतिशत कामदारको तलब सुविधा आंशिक रूपमा कटौती भएको र बाँकी १२ प्रतिशतले तलब सुविधा निर्धारित समयभन्दा ढिला पाएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार नेपालमा सञ्चालित ६० हजार १८५ उद्योगमा ६ खर्ब १९ अर्ब रुपैयाँ बराबर सम्पत्ति छ । ती उद्योगले ३ लाख ८१ हजार ६८७ जनालाई रोजगारी दिएका छन् । यो तथ्यांक आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर लिइएको विभागको भनाइ छ । 

सर्वेक्षण अनुसार उल्लिखित उद्योगले २०७६ मा १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ तलब भुक्तानी गरेका छन् । औद्योगिक प्रतिष्ठानमध्ये ७६ प्रतिशत २ सय ७० दिन, १९ प्रतिशत १८० देखि २६९ दिन, ४ प्रतिशत ९० देखि १७९ दिन र १ प्रतिशत ९० भन्दा कम दिन सञ्चालन भएका छन् । पूर्ण उत्पादन क्षमताको २५ देखि ९९ प्रतिशतसम्म सञ्चालन भएका छन् ।

पूर्ण क्षमतामा नचल्नुमा ४६ प्रतिशत बजार वा मागको कमी, १० प्रतिशत कच्चा पदार्थको अपर्याप्तता, ८ प्रतिशत स्रोतको कमी र ८ प्रतिशत शीपमूलक कामदारको अभाव मुख्य कारण देखिएको छ । यसमा दिनमा १८ घण्टाभन्दा बढी काम गर्ने उद्योगको संख्या १ प्रतिशत छ । ६ देखि ११ घण्टा दैनिक काम गर्ने उद्योगको संख्या ७७ प्रतिशत छ । 

१० भन्दा कम व्यक्ति संलग्न साना उत्पादनमूलक उद्योगमा ऋण लिने प्रवृत्ति न्यून रहेको सर्वेक्षणले देखाएको छ । यस्ता उद्योगमध्ये ३४ प्रतिशतले मात्र वित्तीय संस्थाबाट ऋण लिने गरेका छन् । १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेका छन् । ५ प्रतिशत साना उद्योग ऋणको प्रक्रियामा रहेको र ६० प्रतिशतले ऋणको प्रक्रियामा नरहेको विभागको भनाइ छ । 

ऋणको हकमा १० भन्दा बढी व्यक्ति संलग्न ठूला उद्योग अगाडि छन् । ४५ प्रतिशत ठूला उत्पादनशील उद्योगले बैंक, वित्तीय संस्थाबाट ऋण लिएको देखिन्छ । देशभरका उद्योगमध्ये खानी तथा उत्खनन क्षेत्रमा ३ सय ५६, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवामा ९ सय ९४ र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन क्षेत्रमा २ हजार २२४ उद्योग छन् । देशभरका उद्योगमध्ये खानी तथा उत्खनन क्षेत्रमा आबद्ध कर्मचारीको संख्या ५ हजार ७ सय रहेको सर्वेक्षणले देखाएको छ । 

यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा ३ लाख ४६ हजार, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवामा १७ हजार उद्योग र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन क्षेत्रमा १२ हजार ५ सयजना कमचारी आबद्ध छन् । नेपालमा औद्योगिक क्षेत्रका चारओटै प्रतिष्ठानमध्ये ३९ दशमलव ९ प्रतिशत उद्योग पूर्ण क्षमतामा सञ्चालनमा रहेको तथ्यांकले देखाउँछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)