असार २७, रौतहट । यस जिल्लाको मध्यभागमा अवस्थित श्री राम सुगर मिल्स लिमिटेडलाई पुन : सञ्चालनका लागि छलफल गरिएको छ ।
दुई वर्षदेखि बन्द रहेको सुगर मिल सञ्चालनका लागि श्रमहित उपभोक्ता एवं उद्योग समितिले हालै स्थलगत निरीक्षण गरि सरोकारवालासँग छलफल गरेको हो । समितिको टोलीले स्थलगत निरिक्षणपछि उखु उत्पादक संघ, कर्मचारी युनियन तथा मजदूर संघका पदाधिकारीसँग मिल सञ्चालन गर्न छलफल गरेको हो ।
छलफलमा उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, सल्लाहकार रामभरोसी यादव, कर्मचारी युनियनका धिरेन्द्र यादव, सोनेलाल सहनी, रामकिशोर साह, राजदेव सहनीलगायतको सहभागिता रहेको थियो ।
सोही क्रममा कर्मचारी युनियनका पदाधिकारीले मिल सञ्चालन भएमा उद्योगबाट पुरानो बक्यौता रकम पनि क्रमश : लिने बताएका थिए । श्रमहित उपभोक्ता एवं उद्योग समितिका सभापति रामेश्वर राय यादवले मिल सञ्चालनको लागि उद्योगीद्वय हृतेश गोल्छा र बिशाल अग्रवालसँगग अबिलम्ब छलफल गर्ने बताएका थिए ।
चिनी मिल बन्द हुँदा यस क्षेत्रका उखु कृषक मर्कामा परेकाले छिट्टै श्री राम सुगर मिल सञ्चालनमा ल्याउनका लागि प्रयास थालिएको उनको भनाइ छ । श्रमहित उपभोक्ता एवं उद्योग समितिको सभापति रामेश्वर राय यादवको संयोजकत्वमा सरीता कुमारी गिरी, उमाशंकर अरगरीया, समितिका सचिवलगायतका पदाधिकारीहरुले बन्द रहेको चिनी मिलको स्थलगत निरीक्षण पनि गरेका छन् ।
विविध कारणले बन्द रहेको मिल सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले यसका लागि आवश्यक पहल गर्ने टोलीमा सहभागीहरुले बताएका छन् । विसं २०४९ सालमा स्थापना भएको उक्त चिनी मिलले बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द गर्नु परेको बताउँदै आएको छ ।