रौतहट (अस) । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । नगर उद्योग वाणिज्य संघको सातौं अधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचन हुने भएको हो । निर्वाचनका लागि चन्द्रपुर नगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खड्कबहादुर बम्जनको संयोजकत्वमा समिति बनाइएको छ । निर्वाचन समितिका अनुसार संघको नेतृत्वका लागि असार ३२ गते मतदान हुनेछ ।
असार २९ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो २ बजे उम्मेदवारहरूको नामावली प्रकाशन, दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, ३ बजेपछि उम्मेदवारउपर दाबी विरोध र साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भएको बम्जनले बताए । उनका अनुसार असार ३२ गते जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्रांगणमा बिहान ८ बजेदेखि निर्वाचन गर्ने कार्य तालिका छ । संघको अध्यक्षका लागि पूर्वमहासचिव उदयनारायण सापकोटा, निवर्तमान महासचिव सुनिलकुमार साह र निवर्तमान कोषाध्यक्ष मनोज कुमार साहले उम्मेदवारी दिने चर्चा छ ।