महोत्तरी । समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएएका छन् । बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो । जेठ २२ भित्र ब्याड राखिसकेर असारको अन्त्यतिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । तर यसपालि शुरूमा बीउ, मल नपाइनुले रोपाइँ धकेलिएर सबै खेतमा धान रोप्न नसकिने किसानको भनाइ छ । जिल्लामा चरणक्षेत्र मासिएर पशुपालन घट्दै गएपछि रासायनिक मलमा निर्भरता बढ्दै छ । खेतीका बेला मल नपाएर राम्ररी खेती लाउन नपाइएको किसान बताउँछन् । जिल्लामा करीब ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ (कुलो/नहर) को प्रबन्ध छ । जिल्लास्थित कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ भने हालसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको भए पनि अत्तालिनुपर्ने अवस्था नभएको बताउँछन् । रासस