ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 नेपालमा व्यवसायको मुख्य समस्या नीतिगत स्थायित्वको अभाव हो : गौरव शारदा 

२०७९ असार, २९  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

शारदा ग्रूप विभिन्न व्यवसायमा संलग्न छ । विराटनगर, काठमाडौं लगायत ठाउँमा प्रमुख कार्यालय रहेको यस ग्रूप अन्तर्गत तयारी चाउचाउ, स्टील, बिजुलीको तार, अटोमोबाइल्स, मदिरा, अक्सिजन आदि व्यवसाय छन् । शारदा परिवारका नयाँ पुस्ताको नेतृत्वमा व्यवसायको विविधीकरण हुँदै गएको छ । प्रस्तुत छ, यसै परिवारका युवापुस्ताका प्रतिनिधि एवं ग्रूपका निर्देशक गौरव शारदासँग उनको व्यावसायिक पृष्ठभूमि, ग्रूप अन्तर्गतका व्यवसायको अवस्था लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानी :

तपाईंको पृष्ठभूमिबाटै शुरू गरौं । कहाँ पढ्नुभयो ? कसरी र कहिलेदेखि व्यवसायमा लाग्नुभयो ?
मेरो खास शिक्षा भारतमा भएको हो । कक्षा ४ देखि दार्जिलिङको होस्टलमा बसेर पढेँ । त्यहाँ कक्षा १० सम्मको पढाइ पूरा गरेँ । कक्षा ११ र १२ काठमाडौंमा पढे । अन्डरग्राड, पोस्टग्राड र स्पेशलाइजेशन भारतबाट नै गरेँ । साथै बीबीए, एमबीए र मार्केटिङको १ वर्षको डिप्लोमा कोर्स समेत भारतबाटै गरेँ । 

एमबीए गर्नेबित्तिकै व्यवसायमा जोडिनुभयो ?

एमबीए चाहिँ व्यवसाय गर्दागर्दै गरेको हुँ । बीबीए र मार्केटिङ  स्पेशलाइजेशन कोर्स गरेपछि व्यवसायमा जोडिएको हुँ ।

 

 

 

शुरूमा कुन व्यवसायमा प्रवेश गर्नुभयो ? 

शुरुआतमा २ वर्ष नुडल्स डिभिजनमा तालीमेको रूपमा काम गरेँ । त्यसपछि मार्केटिङको कोर्स गरेर हाम्रो त्यतिबेलाको प्लास्टिक युनिट हेरेँ । पछि फेरि निर्माण उपकरण डिभिजनमा आएँ । त्यहाँ २ वर्ष काम गरेपछि मात्र आफ्नो व्यवसाय शुरू गरेको हुँ । 

आफैले शुरू गरें भन्नुको मतलव पारिवारिक व्यवसाय हेर्दै हेर्नुहुन्न भन्ने हो ? अहिले आफूले गरेको व्यवसाय मात्र हेर्नुहुन्छ ?
मैले परम्परागत पारिवारिक व्यवसाय गरेको भनेको एउटा अक्सिजन प्लान्टको हो । त्यसबाहेक जति पनि व्यवसाय छन्, ती सबै म आएपछि नयाँ खोलेको हुँ ।

अहिले मैले हेर्ने जति पनि व्यवसाय छन्, ती सबै म आएपछि नयाँ खोलिएका हुन् ।

तपाईं आएपछि जोडेका व्यवसाय कुन कुन हुन् त ?
शिभास रिगलको उत्पादक पर्नो रिका भन्ने बहुराष्ट्रिय कम्पनीको डिलरशिप लिएर १० वर्षअघि मदिराको व्यवसाय थाल्यौं । अनि २०१६ देखि शाओमी मोबाइलको विक्री शुरू गर्‍यौं । भर्खरै चिनियाँ चेरी गाडीको व्यवसाय शुरू गरेका छौं । यी तीनओटा डिभिजन मेरो अन्तर्गत छन् । यी तीनओटै व्यवसाय म आएपछि शुरू गरिएको हो । हाम्रो परिवारमा रुचाएको व्यवसायमा तालीम गर्ने मौका पाइन्छ । तर त्यसपछि व्यवसायमा उसले केही नयाँ ल्याउने अपेक्षा गरिन्छ । 

शारदा ग्रूपअन्तर्गत अर्को दुईओटा गाडी ड्याटसन र निशान छन् । अरू नयाँ व्यवसाय कुन कुन थप्नुभयो ?
यी डिभिजनहरू हुन् । हरेक डिभिजन अन्तर्गत धेरै कम्पनी छन् । मदिराको व्यवसायमा हामीले डिस्टिलरी पनि ल्यायौं । यसको सेल्स र मार्केटिङ मै हेर्छु । प्रडक्सन दाइ र अर्को पार्टनरले हेर्नुहुन्छ । यी डिभिजन अन्तर्गत धेरै ब्राण्ड छन् । जस्तै– शाओमी । त्यहाँ इको सिस्टमका प्रडक्ट धेरै छन् । जस्तै– स्मार्ट वाच, सीसी टीभी क्यामेरा लगायत धेरै ब्राण्ड छन् । तर डिभिजन चाहिँ तीनओटा मात्र छन् । 

कोभिडका कारण शारदा ग्रूप र तपाईंले हेर्नुभएको व्यापारमा, कुन कुन क्षेत्रमा कस्तो कस्तो प्रभाव पर्‍यो ?
कुनै पनि अप्ठ्यारोका बीच अवसरको खोजी गर्ने एउटा व्यापारीको धर्म हुन्छ । हामी सबै व्यवसायीका लागि यो सिकाइको अवसर थियोे । सबैजना टाढा टाढा बसेर पनि कसरी व्यवसाय सञ्चालन गर्ने, जब अफिस जान मिल्दैन, कारखाना जान मिल्दैन, त्यस्तो वातावरणमा व्यापार कसरी गर्ने, कसरी चलाउने भन्ने चुनौती ठूलो थियो । नेपाल डिजिटल पूर्वाधारमा अगाडि छैन । कामदार पनि डिजिटल माध्यमको प्रयोगमा त्यति अभ्यस्त छैनन् । कोभिडले धेरै कुरा सिकायो । अब हामी लगायत सबै व्यावसायिक घरानाहरू कुनै पनि प्रतिकूल अवस्था अचानक आएमा कसरी सम्हालिने भनेर धेरै हदसम्म तयार छन् ।

रमपम र टुपिएम नुडल्स अमेरिका र जापानमा ठूलो परिमाणमा निर्यात गर्छौं ।

तपाईंहरूको बैंकमा पनि लगानी छ । बैंकरहरूको भनाइ के छ भने अरू उद्योगले ४० प्रतिशत, ५० प्रतिशत कमाउँछन् । बैंकिङको कमाइ त १० प्रतिशत पनि छैन । तर ननबैंकर भने बैंकले लुटिरहेको भन्छन् । त्यो हिसाबले कुरा गर्दा तपाईंहरूले त राम्रो गरिरहनु भएको छ, होइन त ?
स्पष्ट रूपमा भन्नुपर्दा बैंक भनेका पार्टनरजस्तै हुन् । बैंकले पनि मुनाफा खोज्छ । २ वर्षको जुन महामारी थियो, त्यो बेला बैंकले सपोर्ट पनि गर्‍यो । दुर्भाग्यवश अहिले गएको ६ महीनादेखि तरलता संकट छ । त्यसले गर्दा व्यापार विस्तार गर्न समस्या छ । तपाईंले ४०/५० प्रतिशत मार्कअप भन्नुभयो । तर हाम्रो व्यवसायमा जोखिम पनि त छ नि । हामी वितरक, ग्राहकसँग ल्याप्चे लगाएर धितो लिन त सक्दैनौं । सबै व्यापारको आफ्नै विशेषता हुन्छ । हाम्रो उत्पादन र व्यापारको पनि आफ्नै विशेषता छ ।

महामारीले कुन कुन क्षेत्रमा नराम्ररी असर गर्‍यो, कुनमा ठीकै गर्‍यो, कुनमा खासै गरेन ?
पहिलो लकडाउनले हाम्रो अक्सिजन प्लान्टमा तुरुन्तै नराम्ररी हान्योे । हाम्रो उत्पादन २० प्रतिशतले तल झर्‍यो । कोभिडको दोस्रो लहरमा हाम्रो क्षमताभन्दा बढीमा काम गर्नुपर्ने स्थिति आयो । लकडाउनको अवस्थामा अटोमोबाइल क्षेत्रमा सबभन्दा बढी प्रभाव पर्‍यो । शोरूम नै बन्द भयो । वृद्धि भएको चाहिँ मोबाइलको विक्रीमा हो । अनलाइन कक्षाहरू, कामदार/कर्मचारीको रिमोट कम्युनिकेशन हुनु विक्री बढ्नुका कारण हुन् । मोबाइल विक्री त्यो २ वर्ष राम्रो भयो । 

हामीजत्तिको विविधीकृत व्यावसायिक समूह नेपालमा शायद छैन ।

अहिले एमआई मोबाइल नम्बर १ भयो भनिन्छ, होइन ?
हो, गएको ७ त्रैमासदेखि एमआई मोबाइल नम्बर १ मा छ । स्मार्टफोन क्याटागोरीमा नम्बर १ मा छ ।

अबको योजना के त ? अरू के नयाँ थपिँदै छ ? 

व्यवसाय भनेको निरन्तर विकास हुँदै जाने हो । हामी जहिले पनि बजारको अपेक्षा अनुसार चल्नुपर्छ । हाम्रो ग्रूपअन्तर्गत हजार एसकेयूभन्दा धेरै बढी होला । मैले हेर्ने डिभिजन अन्तर्गत नै २००/३०० भन्दा बढी नै होला । प्रडक्ट्स मात्र हेर्नुभयो भने हामीजत्तिको विविधीकृत व्यावसायिक समूह नेपालमा शायद छैन । हामीसँग स्टील, वायर्स, केबलदेखि बिस्कुट, जुस लगायत सबै प्रडक्ट छन् । थप ल्याउन इन्नोभेशन पनि भइरहेको छ । हाम्रो नुडल्स डिभिजनले महामारीकोे बेलामा पनि नयाँ नयाँ प्रडक्ट ल्यायो । समय हेरेर, बजारको माग हेरेर नयाँ प्रडक्ट र सर्भिसेस लिएर आइरहेका छौं । 

त्यस्ता प्रडक्ट चलिहाल्ला नि भनेर ल्याउनुहुन्छ कि बजार अध्ययन खर्च गरेर ?

प्रडक्ट बनाउन धेरै अध्ययन चाहिन्छ । हामी नेपालमा २० वर्षदेखि एफएमसीजी बेचिरहेका छौं । उपभोक्ताको व्यवहार विश्लेषण गर्नुपर्छ । उपभोक्ताको व्यवहारबारे हामीलाई राम्रो ज्ञान छ । उत्पादन विकास गर्ने बेलामा निश्चय नै अनुसन्धान चाहिन्छ । टुपिएमको ‘अकबरे’ बनाउनुअघि अध्ययन अनुसन्धान गर्‍यौ । हाम्रो एउटा सानो १ रुपैयाँ जाने प्रडक्ट ‘इमली बम’ छ । त्यसका लागि पनि अनुसन्धान गरेका थियौं । उपभोक्ताको आनीबानी त थाहा थियो । तर प्रडक्टलाई चल्ने खालको कसरी बनाउने, त्यसको गुणस्तर उच्च कसरी राख्ने भन्ने जस्ता विषयमा हाम्रो टिमले अध्ययन गरेको छ । 

उपभोक्ताको व्यवहारबारे हामीलाई राम्रो ज्ञान छ ।

भाग्यले पनि काम गरेको हो कि !

मलाई लाग्छ, भगवान् दयालु हुनुभयो । किनकि सफलताको एउटा कुनै मन्त्र छैन । यसमा मेरो टिमको कुरा आउँछ । ग्राउन्डमा काम गर्ने मेरो टिमले नै हो । सफलता पूर्णतया मेरो टिमको नै हो, जसले दिनरात नभनी काम गर्छ । हाम्रो टिमको आँखा र कान बजारमा छ । त्यसरी हामी उपभोक्ताको आनीबानी थाहा पाइरहेका हुन्छौं । उनीहरूलाई सुन्ने, उनीहरूमार्फत प्रतिक्रिया लिने, त्यसलाई बोर्डरूममा प्रस्तुत गर्ने र त्यसपछि मात्र प्रडक्ट निकाल्ने गर्छौं ।

कुनै पनि संस्था आफ्नो प्रणाली र प्रक्रियाले चल्ने हो । एमबीए गर्ने, विदेशमा पढ्ने त थुप्रै छन् । तर सबै तपाईंजति सफल छैनन् । त्यो के कारण हुन सक्छ ?

मलाई लाग्छ, मेरो टिमका लागि म अलि बढी पहुँचयोग्य छु । जुनियरलाई के लाग्छ भने मेरो कान जहिले पनि खुला हुन्छ । म जहिले पनि भन्छु– मेरो कोठाको ढोका जहिले पनि खुला हुन्छ । किनकि टिमले महसूस गरेको कुरा मैले सुनिनँ भने त्यो असफलताको कारण हुन सक्छ । मेरोमा विकेन्द्रित व्यवस्थापन छ । 

कुनै पनि नीति देशका लागि हुनुपर्छ । व्यक्तिको हितका लागि होइन ।

तपाईं आएपछि तपाईंको पारिवारिक व्यवसायमा के कस्तो परिवर्तन ल्याउनुभयो ? त्यसमा कुनै चुनौती आए कि आएनन् ?

परिवर्तन सधैं भइरहने कुरा हो । परिवर्तन आवश्यक पनि छ । किनकि समयसँगै र फरक व्यवसायका लागि हामी परिवर्तन हुनैपर्छ । टिम हायरिङको कुरामा पहिला हामी धेरै व्यावसायिक थिएनौं । पहिला १०० प्रतिशत एउटा निर्देशकले नै चलाइराखेकोमा गएको १० वर्षदेखि हामी प्रत्येक व्यवसायमा धेरै व्यावसायिक भएका छौं । अहिले बिजनेश हेडले नै नेतृत्व गरिरहेको छ । त्यसले गर्दा नयाँ व्यवसायकोे बारेमा सोच्न, नयाँ मान्छेहरूसँग भेट्न र रणनीति बनाउन निर्देशकसँग खाली समय भयो । त्यसकारण मलाई लाग्छ, विगत १२–१३ वर्षमा मैले देखेको ठूलो परिवर्तन भनेको निर्देशकले १०० प्रतिशत हेरेको व्यवसायलाई प्रोफेशनल मानिसले हेर्न थाले । र, टिम लिडरलाई पहिलेभन्दा बढी अधिकार दिइएको छ । बुबा, काकाहरूले गरेको कामको शैली परिवर्तन गर्न त धेरै गाह्रो भयो । 

हामी वितरक, ग्राहकसँग ल्याप्चे लगाएर बैंकले जस्तो धितो लिन त सक्दैनौं ।

जोसँग कुरा गर्दा पनि नेपालको व्यावसायिक वातावरण खत्तम छ, बर्वाद छ भन्छन् । तपाईंलाई कस्तो लाग्छ ?

चुनौती छन् । चुनौती कहाँ छैन ? विकसित बजारमा पनि आफ्नै खालको चुनौती होला । हामीलाई नेपालमा गाह्रो भनेको नीतिगत स्थायित्वको अभाव हो । हाम्रो नीति निर्देशन एकै वर्षमा कहिले १८० डिग्री कहिले २४० डिग्री नै परिवर्तन भइरहेको छ । व्यापारीले योजना बनाउँदा १ वर्षका लागि मात्र बनाउँदैन । कुनै पनि व्यापार शुरू गर्दा पहिलो २–३ वर्ष हामीले लगानी नै गर्नुपर्छ । प्रतिफल आउने त ४–५ वर्षपछि हो । यो चुनौती धेरै ठूलो छ । अरू देशमा कहीँ पनि हेर्‍यौं भने नीतिगत खाका ५/१० वर्षका लागि स्थिर हुन्छ । तर हामीकहाँ त्यो भइरहेको छैन, जुन चुनौती हो ।

एकथरीले नेपाल गोल्ड माइन हो, यो भर्जिन ल्यान्ड हो, यहाँ अवसर नै अवसर छन् भन्छन् । र, अर्काथरीको भनाइमा नेपालमा केही व्यावसायिक घरानाले आफूलाई कस्तो नीति चाहियो, त्यस्तै ल्याउन सक्ने स्थिति पनि बनाइसके भन्छन् । तपाईंलाई कस्तो लाग्छ ? 

सबै कुरा खुला नै छ । मिडियामा आएकै कुरा हुन् । मेरो विचारमा कुनै पनि नीति देशका लागि हुनुपर्छ । पहिला राष्ट्रिय नीति हुनुपर्छ । व्यक्तिको हितका लागि होइन । नेपालको हितमा नीति आउँछ भने हामी व्यवसायी त्यही अन्तर्गत काम गरेर पैसा कमाउन सक्षम छौं ।  सरकारले एउटा नीतिगत खाका दिनप¥यो, जुन लामो अवधिका लागि स्थिर रहोस्, आगामी सरकारले त्यसलाई परिवर्तन गर्दैन भन्ने निश्चित होस् । कुनै एउटा नीति छ भने त्यो १० वर्ष परिवर्तन हुनुहुँदैन । 


नेपालमा मन नपरेको कुरा के हो भने यहाँ व्यापारीलाई चोर भन्ने गरिन्छ ।

सरकारको पनि समस्या छ नि त । किनकि यहाँ बिजनेश चेम्बरहरू छन्, एउटै चेम्बरमा फरक स्वार्थ भएका सदस्यहरू छन् । उसले सबैको हितमा काम गर्नुपर्छ । निजीक्षेत्रका यिनै संस्थाले सरकारलाई कतिपय नीति परिवर्तन गर्न दबाब दिइरहेका हुन्छन् । त्यसलाई कसरी हेर्नुहुन्छ ?

सरकार भनेको आमाबुवा जस्तै हो । चारजना बच्चा हुँदा एकजना बच्चाको मात्र कुरा सुनेर भएन । सामूहिक नीति आउनुपर्‍यो, जुन चारै जनाको पक्षमा होस् । त्यसका लागि सरकारी कर्मचारीहरू छन् । हाम्रा सरकारी कर्मचारी नीति निर्माणका लागि दक्ष र अनुभवी छन् । उनीहरूको सल्लाह लिनुपर्‍यो । एउटा पारदर्शी प्यानल बनाउनुपर्‍यो, जसमा निजीक्षेत्रका पनि सदस्य हुनुपर्‍यो, त्यसमा पूर्व ब्युरोक्राट्स, पूर्वअर्थमन्त्री र अर्थशास्त्री पनि हुनुपर्‍यो । नीति यस्तो होस्, जसको कार्यान्वयनले समग्र देशको हित होस् ।

तपाईंको अनुभवमा संसारका कुन कुन देशमा स्थिर नीतिको हिसाबले व्यावसायिक वातावरण राम्रो छ ?

व्यक्तिगत रूपमा म सिंगापुरका ली क्वान यूको ठूलो प्रशंसक हुँ । उनले सिंगापुरलाई ‘सिंगापुर’ बनाए । उनीहरूसँग प्राकृतिक सम्पदा पनि थिएन । आज हेर्नुस् कहाँ छ । उनीहरू वित्तीय महाशक्ति भइसके । 

दैनिक उपभोग्य वस्तुको व्यवसायमा मात्रै कालोबजारी ऐन लाग्नुपर्ने हो ।

तपाईंंहरू दैनिक आवश्यकताका वस्तुको व्यवसायमा पनि हुनुहुन्छ । यो क्षेत्रमा कस्तो खालको नीति भयो भने राम्रो हुन्छ ?

नेपालमा प्याकेज्ड खाद्यपदार्थको हकमा नेपालमा गुणस्तरका प्रावधान राम्रा छन् । र, त्यसको अनुपालन पनि भइरहेको छ । मेरो यसबारे ज्ञान पनि छ । किनभने हामी निर्यातकर्ता पनि हो । रमपम र टुपिएम नूडल्स हामी अमेरिका र जापानमा ठूलो परिमाणमा निर्यात गर्छौं । त्यहाँका प्रावधान निकै कडा छन्, तैपनि हामीले पूरा गरिरहेका छौं । हाम्रो भनाइ के हो भने जुन खाद्यपदार्थ आयात भइरहेका छन्, तिनीहरूलाई पनि समान स्तरमा ल्याउनुपर्‍यो । जुन गुणसतर हामी कायम गरेर दिइरहेका छौं, आयात भएको सामानमा पनि त्यही बराबर हुने संयन्त्र हुनुपर्‍यो । 

गुणस्तरका लागि ल्याबहरू स्थापना गर्न निजीक्षेत्रको कुनै भूमिका हुन सक्दैन ?
यो त विशुद्ध सरकारको लगानी हो । उदाहरणका लागि काँकडभिट्टाबाट अदुवा निर्यात हुन्छ । त्यहा अदुवा प्रशोधन गर्ने सरकारी ल्याब छैन । हामी भारतीय ल्याबमा भर पर्नुपरेको छ । हरेक नाकामा नेपालतिरै किन ल्याब स्थापना गर्न सक्दैनौं ? त्यो त हामी नै बनाउन सक्छौं नि । निजीक्षेत्रको सहयोग चाहियो भने हामी तयार छौं । सम्बन्धित क्षेत्रका चेम्बरले सहयोग गर्छन् । तपाईंले गुणस्तरको विषयमा कुरा गर्नुभयो । २ वर्षयता गुणस्तरका जल्दोबल्दो समस्या अक्सिजनमा छ । नेपालमा अक्सिजनको कुनै गुणस्तर मापदण्ड छैन । यसबारे हामी सरकारसँग पहल गरिरहेका छौं । सिलिन्डरको कलर कोडिङ छैन । आम मानिसलाई सोध्नुभयो भने त्यो पातलो सिलिन्डर अक्सिजनको सिलिन्डर हो भन्छन् । तर यो साँचो होइन । यहाँ उचित कलर कोडिङ छैन । गुणस्तर विभागसँग पहल गरेर १ वर्षदेखि हामी कलर कोडिङ गर्ने प्रयासमा लागेका छौं । विगतमा चीनबाट आएका सिलिन्डर गुणस्तरहीन पनि थिए । कोभिडको दोस्रो लहरपछि भारतबाट लिक्विड अक्सिजन आयात भइरहेको छ । तर नेपाली उद्योग नै पर्याप्त अक्सिजन आपूर्ति गर्न सक्षम छन् । नीति निर्माताहरूले यो बुझ्नुपर्‍यो ।

परम्परागत धारणा अनुसरण गर्दै आधुनिक प्रविधिबाट काम गर्दै छौं । 

सरकारी निकायका मान्छेसँग कुरा गर्‍यो भने हामीले यो पनि गरेका छौं, त्यो पनि गरेको छौं, निजीक्षेत्रले मात्र गर्दैन भन्ने गर्छन् । यस्तो किन भइरहेको छ जस्तो लाग्छ ?

व्यक्तिगत रूपमा मलाई नेपालमा मन नपरेको कुरा के हो भने यहाँ व्यापारीलाई चोर भन्ने गरिन्छ । व्यापारीले कमाउनका लागि नै व्यवसाय गरेको हो । त्यसमा चोरी कहाँबाट आयो । कमाउने त मेरो धर्म हो । अब कुरा आयो कालोबजारीको । उदाहरणका लागि, दरबारमार्गमा पसल खोलिएको छ । त्यहाँको भाडा हेर्नुस् । त्यो भाडामा २० प्रतिशत ग्रस मार्जिनमा व्यापार गर्न सकिँदैन । नेपाल मात्र एउटा यस्तो देश हो, जहाँ सरकारले भनिरहेको छ ‘आम्दानी धेरै नगर । मलाई धेरै आयकर चाहिएको छैन ।’ किन व्यापारीलाई धेरै कर तिर्न नदिने ? हामी धेरै पैसा कमाउँछौ भने कर पनि धेरै तिर्छौं नि । त्यो कुरामा कहिले पारदर्शिता आउँछ ? कालोबजारी ऐन सबै व्यवसायमा प्रयोग भइरहेको छ । दैनिक उपभोग्य वस्तुको व्यवसायमा मात्र कालोबजारी ऐन लाग्नुपर्ने हो । विलासिताको सामान विक्रीमा किन चाहियो कालोबजारी ऐन ? पेट्रोलियममा चाहिँ यो मार्जिनको सीमा किन नलागेको ? 

यो विसंगति किन भएजस्तो लाग्छ ?
मैले बुझेअनुसार कालोबजारी ऐन पञ्चायतकालीन ऐन हो । यसको व्याख्या कसरी गरियो भने सबै कुरामा २० प्रतिशतभन्दा बढी मार्जिन राख्न मिल्दैन । यो ऐन आउँदा जुत्ता पसलका लागि पक्कै आएको होइन होला । यो दैनिक उपभोग्य सामानका लागि आएको होला । दूधको लागि हुन सक्छ, नूनका लागि हुन सक्छ । तर यसलाई सबै वस्तुमा लागू गर्‍यौ, जुन ठीक होइन । 

नेपालमा धेरै खानेकुरा छन्, जसको ब्राण्ड बनाउन सकिएको छैन । 

यसो हेर्दा, निजीक्षेत्रले काम गरिरहेको छ । कर्मचारीतन्त्रले पनि जे सरकारको नीति छ, त्यही अनुसार काम गरिहेको छ । नेताहरूले पनि केही गरौं, मेरो पालामा केही राम्रो होस् भन्ने चाहन्छन् होला नि त । के कारणले कुराहरू मिलिराखेको छैन ?

मलाई के लाग्छ भने एउटा दूरदर्शी नेता चाहियो । एकल दूरदर्शी नेताले नेपाललाई पूरै परिवर्तन गर्न सक्छ । यहाँ शीप नभएको, मेनपावर नभएको होइन । बुद्धिजीवी नभएको होइन । तर एउटा नेता, जसको नेतृत्वमा देशलाई एउटा सही बाटो दिन सकिन्छ, त्यस्तो व्यक्तिको खाँचो छ ।

निजीक्षेत्रले यो हुँदैन, यो यसो हुनुपर्‍यो भनेर किन भन्न नसकेको ? सधैं डराएर मात्र हुन्छ ?
हाम्रो ग्रूपले त बजेटका भएका ३/४ ओटा दुःख दिने प्रावधानका बारेमा तुरुन्तै आवाज उठाएर भनेकै हो । उदाहरणका लागि जीआई वायर, स्यनिटरी प्याड, घिउतेल आदिको विषयमा हामी स्पष्टसँग भन्यौं । सरकारले यी विषयमा सम्बोधन गर्नेछ भन्ने आशा छ । निजीक्षेत्रले सबै कुरा सही भनेको छ भन्न खोजेको चाहिँ होइन । 

तपाईंको बुबा, काकाहरूले परम्परागत तरीकाबाट काम गर्दै आउनुभएको छ । तपाईंहरू आधुनिक तरीकाबाट गर्दै आउनुभएको छ । यो क्रममा अरू के के परिवर्तन गर्ने सोचमा हुनुहुन्छ ? 

यसमा दुईओटा पाटा छन् । पहिलो पाटो भनेको पुरानो पुस्तामा बढी लचकता थियो । हामी अझै जिद्दी छौं । आफूले गर्न चाहेको कुरामा अडान लिन्छौं । उहाँहरूमा लचकता छ । हामीले ‘यस्तो गर्छौं’ भन्यौं भने मार्गनिर्देशन गर्नुहुन्छ । तर परम्परागत र आधुनिक भ्यालूमा सन्तुलन गर्न जरुरी छ । विशेषगरी हाम्रो जस्तो संस्था, जहाँ ३९ देखि ४० वर्षदेखि काम गर्दै आएका धेरैजना हुनुहुन्छ । उहाँहरूले बटुलेको अनुभवबाट लाभ पनि लिनुपर्‍यो । आधुनिक तरीकाको व्यवस्थापनमा पनि अगाडि बढ्नुपर्‍यो । हामी परम्परागत धारणा अनुसरण गर्दै आधुनिक प्रविधिबाट काम गर्दै छौं ।

नेपालमा शीप भएको मान्छे नभएका होइनन् । तर त्यो शीपले अष्ट्रेलिया बनिरहेको छ, नेपाल बनिरहेको छैन ।

एक दशकयता नेपालमा धेरै व्यावसायिक घरानाहरूमा विभाजन भयो । कतै राम्रै तरीकाले त कतै तिक्ततासहित । तर शारदा ग्रूपमा भने परिवारिक बन्धन निकै बलियो देखिन्छ । यो कसरी सम्भव भयो ? 

भाग्यवश हाम्रो संयुक्त परिवार राम्रै चलिरहेको छ । सम्बन्ध राम्रो हुनुको कारण मलाई के लाग्छ भने यहाँ कसैको कुनै हस्तक्षेप छैन । कुनै सदस्य व्यवसायमा आयो भने उनीहरूसँग नयाँ व्यवसायको अपेक्षा गरिन्छ । यो हुनैबित्तिकै कुनै द्वन्द्व हुँदैन । एउटै बिजनेशलाई २/३ जनाले हेर्नुपर्दैन । एउटै व्यापारलाई २/३ जनाले हेर्दा द्वन्द्व सृजना हुन सक्छ । सम्बन्ध राम्रो हुनुमा यही कारण हुन सक्छ । 

व्यापारबाट भएको नाफा परिवारमा जम्मा भएर वितरण हुन्छ कि आफूले हेरेको कम्पनीको नाफा/घाटाको आफै जिम्मेवार हुनुहुन्छ ? 

होइन, यो साझा हुन्छ । 

भनेपछि तपाईंहरूको सबैको तलब हुन्छ ?

हो, हामी सबै शारदा ग्रूपका कामदार हौं ।

त्यस्तो कुनै जोखिम तपाईं देख्नुहुन्छ ? यस्तो भएन भने विभाजन हुन्छ भन्ने केही छ ?

मारवाडी परिवारमा द्वन्द्वको जरो भनेको साझा भान्छा हो । मेरो बुबाहरूले पहिला नै भान्छा छुट्याउनुभएको छ । र मैले अघि पनि भनेँ एउटा व्यापार दुईभन्दा बढी मानिसले हेरे भने त्यहाँ बाझिने कुरा हुन्छ । जहाँ द्वन्द्व आउन खोज्छ, हाम्रो पुरानो पुस्ताले त्यो समस्यालाई सजिलै सल्टाउनु हुन्छ । 

कसैले ४ ओटा बिजनेश हेरिरहेकोमा उसले निकालेको परिणति एकदम कमजोर छ र अरू कसैले हेरेको बिजनेशमा भने धेरै राम्रो छ भने त्यसले पनि त द्वन्द्व ल्याउन सक्छ नि, होइन ?

भाग्यवश त्यस्तो भएको छैन । बिजनेशमा चक्रीय परिवर्तन भइरहन्छ । कहिलेकाहीँ कुनै बिजनेश चल्दैन । कुनै बिजनेश चल्छ । नीतिले पनि प्रभाव पार्छ, वातारणले पनि प्रभाव पार्छ । हामीकहाँ आलोचनाको लागि हामी सबै खुला छौं । बुबा, काकाले तिमीहरूले गरेको भएन भन्नुहुन्छ र हामी त्यसै अनुसार सुधार गर्छौं । 

सामान्य परिवारमा सबैभन्दा कमजोरलाई हेर्ने चलन छ, तर माडवारी समुदायमा कमजोरलाई हेप्ने, राम्रो गर्नेको बढी प्रशंसा गर्ने चलन देखिन्छ । कसैले उसको जिम्माको व्यवसाय त्यति राम्रो गर्न सकेन भने भोलि समस्या हुन सक्ने भयो । तपाईंहरूसँग त्यस्तो के सूत्र छ, जसले त्यो अवस्थामा पनि सबैलाई एकै ठाउँ राख्छ ?

म तपाईंले भनेको कुरामा सहमत छैन । किनभने परिवार जहिले पनि शुरूमा आउँछ । तपाईंले भन्नुभए जस्तो मारवाडी परिवारमा जो सबैभन्दा कमजोर छ, उसलाई उसको अभिभावकले बढी निगरानी गरिराखेको हुन्छ । मैले तपाईंलाई अघि पनि भनेँ म शुरूमा व्यापारमा आउँदा दाइको तल बसेर इन्टर्नका रूपमा गरेँ । र, मेरो प्रत्येक गतिविधि मेरो बुबाले हेरिरहनु भएको थियो । मेरो भाइ (काकाको छोरा) आउँदा पनि त्यस्तै भयो । उसले स्टिल मिल लगाउँदा पनि काकाले त्यसरी नै निगरानी गर्दै राम्रो गर्नतर्फ लगाइरहनुभयो । 

परिवारमा व्यवसायबारे सर सल्लाहको संयन्त्र कस्तो छ ? 

हाम्रो परिवारमा काठमाडौंमा छौं भने म, बुबा र दाइ दिनको कम्तीमा एक पटकको खानामा हामी सँगै हुन्छौं । त्यसबेला धेरै संवाद व्यवसायसम्बन्धी गर्न पाइन्छ । 

स्वाभाविक रूपमा पुरानो पुस्ता र तपाईंहरूमा कतिपय कुरामा फरक विचार हुन सक्छ नै । यो कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

विचारमा फरक पक्कै हुन्छ । एकअर्कालाई कुरा बुझाउने हो । नीति निर्माण गर्दा हामीले परिवारको ठूलो मान्छेबाट स्वीकृति लिन्छौं । उदाहरणको लागि मानव संसाधन व्यवस्थापनलाई लिऊँ । मैले व्यवसाय शुरू गर्दा नै सञ्चयकोष अनिवार्य गरेको थिएँ, उपदानका लागि व्यवस्था पहिलो दिनदेखि नै गरिरहेका थियौं । १२/१५ वर्ष अगाडि त्यस्तो खासै प्रचलन थिएन । तर आज सबैले त्यही गरिरहेका छन् । सबैले एचआर म्यानेजर हायर गरिरहेका छन् । त्यो बेला यो राम्रो नीति हो भनेर बुझाउन अलि गाह्रो भएको थियो । 

अहिले त तपाईंहरू पनि सामाजिक सुरक्षा कोषमा जानुभयो होला ?

हामी शुरूका दिनदेखि नै सामाजिक सुरक्षा कोषमा गएका छौं । हाम्रोमा शुरूदेखि नै सञ्चय कोष भएकाले त्यसबाट सामाजिक सुरक्षा कोषमा सार्न सजिलो भयो । अरूलाई गाह्रो भयो होला । 

माडवारी परिवारका महिलाहरू व्यवसायमा आउनुभएको त्यति देखिँदैन । शारदा ग्रूपमा पनि मैले त देखेको छैन । यसमा के छ नीति ? 

हाम्रो परिवारमा महिलाले पनि काम गरिरहनु भएको छ । उहाँहरूमध्ये कोही आत्मनिर्भर पनि हुनुहुन्छ । भाउजूले विराटनगरमा कोबास कलेज स्वतन्त्र रूपमा चलाइरहनुभएको छ । मेरी श्रीमतीले फिजियोथेरापी चलाइरहेकी छन् । यो बिजनेसमा हाम्रो संलग्नता छैन भने हुन्छ । लगानीमा हामी सपोर्ट गर्छौं, तर अरू काम उहाँहरूले नै गर्नुहुन्छ । मेरो काकाबुवाको छोराबुहारी सीए छिन्, उनले हाम्रो व्यवसायको वित्तीय पक्षमा हेर्छिन् ।

नेपालमा उद्यमशीलताका लागि के कस्ता क्षेत्रमा अवसर छन्, जसलाई युवाहरूले उपयोग गर्न सक्छन् ?

अवसर छन् । एयरपोर्ट जाँदा दुःख लाग्छ । नेपालबाट युवाहरू पलायन भइरहेका छन् । यो राम्रो संकेत होइन । सरकारले नेपालमै अड्याउन केही प्रोत्साहन पनि गरेको देखिँदैन । म कहिलेकाहीँ मिडियाहरूमा अष्ट्रेलियाले न्यूनतम ज्याला बढायो भनेर नेपालमा मानिसहरू उत्सव मनाइरहेको देख्छु । यो डरलाग्दो संकेत हो । शीप भएको मान्छे नेपालमा बसेनन् भने विकास कसरी हुन्छ ? नेपालमा अवसर त छन्, तर व्यवसाय विस्तारको समस्या पनि छ । किनभने नेपालको जनसंख्या त्यति ठूलो छैन । नेपालमा शीप भएको मान्छे नभएको होइन । तर त्यो शीपले अष्ट्रेलिया बनिरहेको छ, नेपाल बनिरहेको छैन । यसका लागि सरकारले केही गरेर युवाहरूलाई नेपालमै बस्न प्रोत्साहन गर्नुपर्छ । 

तपाईंले अवसर कुन कुन क्षेत्रमा देख्नुभएको छ ?

कृषिक्षेत्रमा मैले धेरै अवसर देखेको छु । नीति निर्माणमा केही न केही सपोर्ट त चाहिन्छ होला । यहाँ धेरै जमीन प्रयोग छन् । चितवनमा मैले ड्रागन फ्रुटको खेती हेरेँ, जहाँ राम्रो खेती भइरहेको छ । तर निर्यात गर्न त उत्पादन बढाउनुपर्‍यो । स्टार्टअप भनेको विचार हो । नेपाल बाहिर लगेर पनि एप्लाई गर्न सक्ने विचारले काम गर्न सक्छ । 

युवा उद्यमी भएको नाताले अरू युवालाई के सुझाव दिनुहुन्छ ? 

नेपालीले नेपाल नबनाए कसले बनाउँछ ? अवसर धेरै छन् । उदाहरणका लागि नेपालमा धेरै खानेकुरा छन्, जसको ब्राण्ड बनाउन सकिएको छैन । विदेश गएर अर्काकोमा काम गर्नुभन्दा नेपालमा आफ्नै काम गरेर बोस भएर बस्नु ठूलो हो । कुनै यस्तो सर्भिस, प्रडक्टको विकास गरौं, जसले नेपाल चिनियोस् । त्यो बनाउने मान्छेलाई चिनियोस् । यो कुरा नेपालीले बुझ्न जरुरी छ । 

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)