जनकपुरधाम । अन्नको भण्डारण मानिएको मधेश प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् । समयमा पानी परेको भए मधेशका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । तर अहिलेसम्म करीब ५७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेश प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनीषकुमार पालले जानकारी दिए । अहिलेसम्म प्रदेशमा सप्तरीमा सबैभन्दा बढी ७५ प्रतिशत र पर्सामा सबैभन्दा कम ४२ प्रतिशत जग्गामा धान रोपाइँ भएको उनले बताए । गत असारको दोस्रो सातायता वर्षा नहुँदा पनि वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएर किसानले धान रोपाइँ गरिरहेको उनको भनाइ छ ।
उनका अनुसार बारामा ६०, सिरहा र सर्लाहीमा ५५, रौतटहमा ५०, महोत्तरीमा ४५ र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।
त्यस्तै महोत्तरीमा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५०० हेक्टरमा, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १०० हेक्टरमा धानखेती हुने गरेको मन्त्रालयले बताएको छ ।
यस्तै धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७०० हेक्टरमा धान रोपाइँ हुन्छ । तर यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्ति र समयमा वर्षा नहुनुका कारण अन्नको भण्डार मानिएको मधेश प्रदेशमा अपेक्षाकृत धान रोपाइँ हुन नसकेको अधिकृत पालले जानकारी दिए ।
लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुँदा रोपो सुक्न थोलेको छ ।
भर्खरै रोपिएको धानबाली सुक्दा आफूहरू चिन्तित भएको किसानको भनाइ छ । सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिराहा र धनुषाको करीब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएकाले किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
‘साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ, तर अहिले नदीमा पानी नै छैन,’ उनले भने, ‘पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।’
सिँचाइबाहेक मलखाद र कृषि मजदूरको आभावमा पनि वर्षेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइ अभाव अर्कातिर आवश्यकतानुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद र मजदूर अभावमा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा भोकमरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ । मधेशका जिल्लामा वर्षेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ । रासस