सिरहा । तराई–मधेशको ‘लाइफलाइन’कै रूपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्त्वपूर्ण दुईओटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायी कम्पनीका कारण सिरहाको औरही गाउँपालिका–१ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
गागन खोलामा निर्माणाधीन पुल निर्माण व्यवसायीका कारण अलपत्र पर्दा वर्षायाममा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको स्थानीयवासी मुकेश यादवले बताए । हुलाकी सडक अन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण शुरू भएको झन्डै दुई वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
काम विशेषले सदरमुकाम सिरहा बजार आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएको र डाइभर्सनसमेत बगाएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम बढेको छ ।
‘पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरी दिनभरि समय खर्चिएर सदरमुकाम पुग्ने गर्छन्,’ यादवले भने । करीब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरेको थियो, तर पुल निर्माण सम्पन्न भएको १० वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर खोलाले साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाएर बग्न थालेपछि सो क्षेत्रका स्थानीयवासीको आवागमन कष्टकर बनेको छ ।
‘पहिलेको खोलामा पानी बग्न छोडेको छ, त्यहाँको सुक्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रै महीना पानी बग्ने गरेको छ,’ सिरहाको बरियारपट्टी गाउँपालिका–३ का महेश यादवले भने, ‘सुख्खायाम त केही सहज हुन्छ, तर बाढीको समयमा दुई महीनासम्म त झन् त्यहाँका स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुन्छ ।’ हुलाकी राजमार्गको औरही खण्डमा गागन खोलाले बनाएको ती दुईओटै खोला निकै महत्त्वपूर्ण रहेको स्थानीयवासीको अनुभव छ ।
सो खोलामा हीराचन रोशन कन्स्ट्रक्शन प्रालीमार्फत रोशन कन्स्ट्रक्शनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् । ‘पुल निर्माणका लागि अहिलेसम्म पिलर मात्र ठ्याइएको छ,’ औरही गाउँपालिका १ शिवनाथ यादवले भने, ‘कामको गति हेर्दा निर्धारित समयमा काम सम्पन्न हुने छाँटकाँट देखिँदैन ।’ पुल निर्माणलाई गति दिन आग्रह गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उनको गुनासो छ । ‘ रासस