साउन २३, वीरगञ्ज । हुलाकी राजमार्गअन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल निर्माण भएको छ ।
साढे ७ करोड रूपैयाँमा पुल तयार भएको हुलाकी कार्यालय, वीरगञ्जका प्रमुख दरोगा साहले जानकारी दिए । पुल निर्माणका लागि हुलाकी राजगमार्ग निर्देशनालय र निर्माण व्यवसायीबीच २०७३ असारमा सम्झौता भएको थियो ।
१०० मीटर लामो १०० मीटर लम्बाइ र ७ मीटर चौडाइको डबल लेन पुल ३ वर्षमा निर्माण गर्ने सम्झौता भएको थियो । पप्पु÷लुम्बिनी जेभीले पुल निर्माण गरेका हुन् ।
नवनिर्मित पुल बुधवारबाट सञ्चालनमा आउने हुलाकी कार्यालयले बताएको छ । यो पुल सञ्चालनमा आएपछि खासगरी पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगञ्जको आवागमन सहज हुने जसपा नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले बताए ।
अहिले सो पुलसँगै रहेको पुरानो पुलबाट आवागमन भइरहेको छ । साँधुरो पुलबाट दैनिक हजारौं सवारी साधन आउजाउ हुँदा पुलमै घण्टौं ट्राफिक जाम हुँदै आएको छ ।