ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुलाकी सडक निर्माण सुस्त

२०७९ साउन, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सर्लाही । सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ । निर्माण शुरू भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका  सडक पनि अहिले जीर्ण भइसकेका छन् ।

जीर्ण सडकको स्तरोन्नतिसमेत नहुँदा स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएका छन् । राणाकालीन समयमा चिठीपत्र पुर्‍याउने ‘हुलाकी’ कुद्ने भनेर रेखांकन गरिएको पूर्वदेखि पश्चिम जोडिने ‘हुलाकी सडक’ निर्माण शुरू भएको लामो समय भइसक्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीय समस्यामा परेका छन् ।

तत्कालीन राजा महेन्द्र शाहले हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेशको बस्तीभन्दा २०–३० किलोमिटर उत्तर चुरेछेउमा जंगल फँडानी गरेर पूर्व–पश्चिम राजमार्ग निर्माण अघि बढाएपछि हुलाकी सडक निर्माणको काम ओझेलमा परेको थियो । त्यसयता पनि मधेशको जीवनस्तर बदल्ने महत्त्वपूर्ण मार्गका रूपमा मानिएको सो सडक सरकारी प्राथमिकतामा पर्न सकेको छैन ।

हुलाकी सडक स्थापनापश्चात् चार शासन व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि सडक निर्माणले तीव्र गति नपाउनु मधेशका लागि दुर्भाग्य हो । कुल ४० दशमलव ३७ किलोमिटर हुलाकी सडक निर्माण गर्न रू ६४ करोडमा पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी हिन्दुङ एन्ड ठोकर हिरा एन्ड नमीता जेभी/हिन्दुङ एन्ड ठोकर शाह निर्माण सेवा र दिवा निर्माण सेवालाई २०७३ सालमा तीनवटा प्याकेजमा ठेक्का लगाइएको थियो ।

हालसम्म निर्माण कम्पनीले करीब रू. ३२ करोड रकम लगिसकेको भए पनि सडकको अवस्था उस्तै छ । गोडैता नगरपालिकाका स्थानीय कपिल महतोले सडकको दुरवस्थाका कारण यस भेगका नागरिकले सधैँ सास्ती ब्यहोरिरहेको गुनासो गरे । ‘आफूहरूका लागि हुलाकी सडक नै मुख्य सडक हो, जहाँ गए पनि हुलाकी सडक भएरै जानुपर्छ तर सडक निर्माणको काम सुस्त छ कतै निर्माण भइसकेको सडक जीर्ण भइसकेको छ,’ उनले भने ।

बाल्यकालदेखि देख्दै आएको सडकको अवस्था जस्ताको त्यस्तै छ, हिउँदमा धुलोको मार खेप्दै आएका आफूहरू वर्षा लागेपछि हिलाम्ये बाटो हिँड्न बाध्य भएको उनले बताए । हुलाकी सडकलाई मधेशको ‘लाइफलाइन’ मानिए पनि मधेशको पुस्ता परिवर्तन भए पनि सडकको अवस्था भने नफेरिएको स्थानीयले बताएका छन् । जिल्लाका सरोकारवालाहरूले पटक पटक बैठक बसी हुलाकी सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीहरूलाई ताकेता गरिरहेका भए पनि ठेकेदारले बेवास्ता गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)