रौतहट । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा उदयनारायण सापकोटा निर्विरोध निर्वाचित भएका छन् । संघको सातौं अधिवेशनबाट एक अध्यक्षसहित १२ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
सदस्यहरूमा सृजन तिमल्सिना, मनोज साह, उमेश साह सोनार, सुनिलकुमार चौधरी, धनबहादुर लामिछाने, गेणबहादुर दर्लामी, रामदिनेश गोसाई, रोहितप्रसाद बास्तोला र अनन्तकुमार अधिकारी निर्वाचित भएका छन् । त्यस्तै दिवाकर सापेकोटा, जनकराज भारती र जगदीप चौधरी समेत सदस्यमा चयन भएका छन् । निर्वाचन समितिका संयोजक खड्ग बम्जनका अनुसार एक अध्यक्ष र १२ सदस्यहरूको मात्र उम्मेदवारी भएपछि सबै पदधिकारी निर्विरोध चयन भएका हुन् ।
निर्वाचन प्रक्रियाका लागि २७ जनाले उम्मेदवारी दर्ता गरे पनि पछि लिखित रूपमा नै फिर्ता लिएपछि संघका सदस्यहरू निर्विरोध निर्वाचित भएको बम्जनको भनाइ छ । उनका अनुसार चन्द्रपुर नगर उद्योग वाणिज्य संघमा चारजना मनोनीत गरी १७ जना पदधिकारी रहनेछन् । चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसीले निर्वाचित पदधिकारीमा महिला सदस्य नरहेको उल्लेख गर्दै मनोनीत राख्न सुझाव दिए । संघको निर्वाचनका लागि साउन २८ गते समय तोकिए पनि त्यसअघि नै पदधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि लामो समयदेखि संघको निर्वाचन हुन सकेको थिएन ।