साउन २८, वीरगञ्ज । हुलाकी राजमार्गअन्तर्गत पर्साको तिलावे नदीमा निर्माण भएको पुल शनिवार उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् ।
वीरगञ्ज–ठोरी खण्डमा साढे सात करोड रुपैयाँको लागतमा पुल बनेको हो । १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको पुल पप्पु/ लुम्बिनी जेभीले पुल निर्माण गरेका हुन् । उद्घाटनसँगै पुल सञ्चालनमा आएको छ । यसअघि सोही स्थानमा रहेको पुरानो र साँघुरो पुलबाट सवारी आवागमन हुने गरेको थियो ।
पुल सञ्चालनमा आएसँगै पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगञ्जको आवागमन सहज भएको स्थानीयले बताएका छन् । यसअघि सो स्थाानमा रहेको पुरानो पुलमा घण्टौं ट्राफिक जाम हुँदै आएको थियो ।
पुलको ९० प्रतिशत काम सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले बताएको छ । बाँकी रहेको सम्पर्क सडक र नदी तटबन्धनको कार्य बर्खा सकिएलगत्तै शुरू हुने योजना कार्यालय प्रमुख दरोगा साहले जानकारी दिए ।
सम्पर्क सडकका लागि भर्खरै माटो पुरिएकाले कालोपत्र गर्दा भासिने जोखिम रहेको आयोजनाले बताएको छ । नदीमा पानी बढी भएकाले तटबन्धन पनि गर्न नमिल्ने साहले बताएका छन् ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो ।
३ वर्षको सम्झौता, लाग्यो ७ वर्ष
सम्झौताअनुसार ३ वर्षमा पुल निर्माण हुनुपर्नेमा ७ वर्ष लागेको छ । २०७२ जेठ २५ गते पुल निर्माणको सम्झौता भएको थियो । आयोजनाले नक्सा स्वीकृतिमै ३ वर्ष समय लगाएको निर्माण कम्पनीको भनाइ छ ।
निर्माण कम्पनीका अनुसार आयोजनाले समयमा पुलको नक्सा स्वीकृति नगर्दा २०७५ बाट मात्रै काम शुरू भएको थियो । त्यसपछि साविक पुलबाट आवागमन बन्द गर्नुपर्नेमा डाइभर्सन निर्माणमा पनि ढिलाई भएको थियो ।
आयोजनाले २०७५ फागुन २३ डाइभर्सन निर्माणको कार्यादेश स्वीकृति दिएको थियो । डाइभर्सन तयार भएपछि २०७६ वैशाखबाट कामले गति लिएको निर्माण कम्पनीको भनाइ छ । कोरोना महामारी र निर्माण सामग्रीको अभावले पनि ढिलाई भएको साहको दाबी छ ।