वीरगञ्ज । खेतीको समयमा मल नपाएको भन्दै वीरगञ्जका किसानले कृषि सामग्री कम्पनी मधेश प्रदेश कार्यालयबाट ६ ट्रक मल नियन्त्रणमा लिएका छन् । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहको अगुवाइमा आइतवार मल नियन्त्रणमा लिइएको हो । पर्साका किसानले मल नपाएको अवस्थामा वीरगञ्जबाहिर मल पठाउन लागेको भन्दै किसानले गुनासो गरेपछि मेयर सिंह किसानको समूह लिएर कम्पनीको कार्यालयमा पुगेका थिए । आक्रोशित किसानले नियन्त्रणमा लिएको मल महानगरले स्थानीय बालमन्दिर परिसरमा राखेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयबाट पर्वत, पोखरा, हेटौंडा, चन्द्रपुरलगायत स्थानमा लैजान तयारी अवस्थामा राखिएको मल समूहले नियन्त्रणमा लिएको कार्यालय प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताए । सरकारले पर्साका किसानको समस्या समाधान नगरेको भन्दै सरकारलाई सचेत गराउन मल कब्जामा लिइएको मेयर सिंहले बताए । पर्साका लागि ८ हजार टन मल खाँचो रहेको उनले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख चौलागाईंले १६ जिल्लामा तोकिएकै परिमाणमा मल पठाउने बताए । तोकिएको परिमाणबाहेकको मल दिन नसकिने उनले बताए ।