भदौ १, रौतहट । रौतहटको वडहर्वास्थित वागमती नदीमा १२ वर्षअघि शिलान्यास भएको पुल अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । २०६७ जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले दुर्गाभगवती गाउँपालिका–५, वडहर्वास्थित वागमती नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । उक्त पुल निर्माण सम्पन्न नहुँदा स्थानीयवासी समस्यामा परेका छन् ।
पुल निर्माण सम्पन्न हुन नसकेपछि वडहर्वावासीलाई आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ । त्यस क्षेत्र आसपासका करिव चार सयभन्दा बढी घरधुरीका स्थानीय काठको डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरूमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । स्थानीय बालकेश्वरी देवीले नदीमा बाढी आएमा नदी पारी जानसमेत नसक्ने बताइन् । उनले आफ्नो खेतबारीमा काम गर्न जान समेत एकदिन लाग्ने गरेको गुनासो गरिन् ।
अर्का स्थानीय सुरेन्द्र पासवानले वडा कार्यालयमा जान–आउन एक दिन छुट्याउनुपर्ने बताए ।
रौतहटको वतसपुर, बडहर्वा, राजदेवी, गौरलगायत स्थानका मानिसहरू डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन् । वागमती पारिका स्थानीयलाई वारि आउन दुई ओटा डुंगाको यात्रा गर्नुपर्छ ।
वर्षायाममा नदीमा बाढी आउँदा स्थानीयहरूको आवतजावत नै ठप्प हुने गरेको डुंगा चालक रामबाबु रजक बताउँछन् । डुंगा चढ्न सर्वसाधारणले एकपटकको ५० रूपैयाँ लाग्ने उनले बताए । नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको उनको भनाइ छ ।
यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताए । उनले डेढ वर्षको अवधिमा वागमती नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताए ।
पुल निर्माण सम्पन्न भएमा रौतहटसँगै सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन् ।
पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रालि, सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रूपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनीले पाए पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियो ।
पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । १७ स्पान सहितका सो पुलको लम्बाई ६३३ मिटर र चौडाई दुई लेनको छ ।
स्पान निर्माणको काम सकिए पनि बाँकी काम भने शुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्द गरेपछि पुनः आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाइपी जेभी, जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निर्माण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रूपैयाँमा सम्झौता गरेको छ ।
कार्यालयले नयाँ ठेक्का लगाए पनि काम भने शुरू हुन सकेको छैन ।