ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाइपलाइनको पेट्रोल राख्न अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण शुरु, लागत १.३० अर्ब

२०७९ भदौ, ४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो

भदौ ४, बारा । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

दोस्रो चरणको कार्यअन्तर्गत इन्डियन आयल कोर्पोरेशन(आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण शुरु भएको हो । मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य शुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले बताएको छ ।

मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य आईओसीले गर्ने बताइएको छ ।  उक्त पूर्वाधार निर्माण गर्न १ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । भण्डारण गृह निर्माण नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले बताए।

उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कार्यबाट पाइपलाइनबाट डिजेल आयात गर्न शुरु भएको बताइएको छ ।  दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न ४ हजार १०० किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ । साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ ओटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको छ।     
     
यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो । हाल पाइपलाइनबाट प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।     

पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आईओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निमार्णको काम २ अर्ब ७५ करोड भारतीय रुपैयामा सम्पन्न भएको थियो । अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र २ हजार १०० किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ ।

बजारको मागअनुसार पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । उक्त पाइपलाइनबाट आयात गरिएको डिजेल वीरगञ्ज, जनकपुर अमलेखगञ्ज, काठमाडौं, पोखरा, चितवनलगायत जिल्लामा विक्री वितरणका लागि पठाउने गरिएको छ ।

नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ साल भदौ ७ गते पेटोलियम पाइपलाइन परियोजना निर्माण गर्नका लागि सम्झौता भएको थियो ।

आगामी सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य रहेको अमलेखगञ्ज डिपोले बताएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)